शरद्कालीन सिजनमा हिमाल आरोहणका लागि अनुमति लिने स्वदेशी तथा विदेशी आरोहीको संख्या एक हजार १ सय ८५ पुगेको छ । अहिलेसम्म ७२ देशका आरोहीले विभिन्न ४९ हिमाल आरोहणका लागि पर्यटन विभागबाट अनुमति लिएका हुन् । २५ अक्टोबरसम्म आरोहणको अनुमति लिनेमा दुई सय ३७ महिला आरोही रहेका छन् ।
शरद् सिजनमा हिमाल आरोहणका लागि सबैभन्दा धेरै अमेरिकी नागरिकले अनुमति लिएको पर्यटन विभागले जनाएको छ । विभिन्न हिमाल आरोहणका लागि हालसम्म एक सय २१ अमेरिकी आरोहीले अनुमति लिएका छन् । यस सिजनमा सबैभन्दा बढी आकर्षण आमादब्लम (६,८१४ मि.) र मनास्लु (८,१६३ मि.) हिमाल आरोहणका लागि देखिएको छ । आमादब्लम चढ्न विभिन्न देशका चार सय नौ र मनास्लु चढ्न तीन सय एक आरोहीले अनुमति लिइसकेको विभागले जनाएको छ ।
वसन्त ऋतुमा सबैभन्दा बढी भिडभाड हुने सर्वोच्च शिखर सगरमाथामा आरोहणका लागि शरद्मा एकजनाले पनि अनुमति लिएका छैनन् । सगरमाथा आरोहणका लागि शरद् अफसिजन मानिन्छ । वसन्त ऋतुमा आइसफल डाक्टरहरूले शिखरसम्मै डोरी टाँगेर बाटो बनाउने हुँदा धेरैको रोजाइ सगरमाथा आरोहण गर्ने हुन्छ । अहिले सगरमाथा आरोहण गर्न चाहनेहरूले आफैँ जोखिम मोलेर शिखरतर्फ लाग्नुपर्ने हुन्छ ।
कुन हिमाल चढ्न कतिलाई अनुमति ?
शरद् सिजनमा अधिकांश आरोहीको रोजाइ आमादब्लम र मनास्लु हिमाल रहेको देखिन्छ । दुईवटा हिमाल आरोहणका लागि मात्रै सात सय १० आरोहीले अनमुति लिएका छन् । यस्तै, पुथा हिउँचुली आरोहण गर्न ३३, हिमचुली हिमाल चढ्न एक सय २५, थापा पिक (धम्पुस) चढ्न १५, धौलागिरि चढ्न २३, बरुणत्से चढ्न ३९, सरिबुङ चढ्न २१, थोराङ पास चढ्न ३८, नोर्बु खाङ चढ्न १३, पोखर खाङ चढ्न १४ जनाले अनुमति लिएका छन् ।
आरोहणमा अमेरिकी अगाडि
यस सिजनमा सबैभन्दा धेरै आरोही अमेरिकी रहेका छन् । अमेरिकाबाट एक सय २१ आरोही विभिन्न हिमाल चढ्न नेपाल आएका छन् । दोस्रोमा फ्रान्सबाट एक सय चारजनाले हिमाल आरोहणको अनुमति लिएका छन् । यस्तै चीनबाट ७८, जर्मनीबाट ८६, रसियाबाट ६० जनाले हिमाल आरोहण गर्न अनुमति लिएको विभागले जनाएको छ ।
यस्तै अस्ट्रेलियाबाट ३६, अस्ट्रियाबाट ३४, क्यानाडाबाट २७, चेक रिपब्लिकबाट २०, डेनमार्कबाट २६, इरानबाट १८, इन्डियाबाट ३६, इटालीबाट ३६, जापानबाट ४९, नेपालबाट ४४, नेदरल्यान्डबाट १५, पोल्यान्डबाट ४५, रोमानियाबाट १५, स्लोभाकियाबाट ११, स्पेनबाट ४०, स्विडेनबाट १४, स्विट्जरल्यान्डबाट ४५, युनाइटेड किङडम (युके)बाट ६७ जनाले हिमाल आरोहणको अनुमति लिएका छन् ।
हिमाल आरोहणका लागि अधिकांश विदेशी आरोहीहरू नेपाल आइसकेका छन् । धेरै आरोही हिमाल चढ्न गन्तव्यतर्फ प्रस्थान गरिसकेको ट्रेकिङ व्यवसायी नवीन त्रितालले बताए । ‘अहिले आरोही धमाधम हिमालको शिखरतर्फ लम्किरहेका छन्, धेरै आरोहीले चुचुरो पनि चुमिसके,’ उनले भने, ‘मौसमले साथ दिएमा नोभेम्बरभरि नै हिमाल आरोहण जारी रहनेछ ।’
कीर्तिमानी आरोही निर्मल पुर्जाले सुरु गरे ‘स्काई–डाइभिङ’
कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाइ’ले हिमालय क्षेत्रमा व्यावसायिक स्काई–डाइभिङ सुरुवात गरेका छन् । उनी आफैँले पनि सगरमाथा क्षेत्रमा स्काई ड्राइभ गरेका छन् । उनले यसलाई ‘स्काई डाइभ निम्स दाइ’ नाम दिएका छन् ।
निम्स दाइले पोखरा र सगरमाथा क्षेत्रमा स्वेदशी तथा विदेशीलाई स्काई डाइभसमेत गराइसकेका छन् ।
६ महिना ६ दिनमा ८ हजार मिटरभन्दा अग्ला विश्वका १४ हिमाल आरोहण गरेका उनले आफ्नो महत्वाकांक्षालाई थप उचाइ दिन स्काई डाइभको औपचारिक सुरुवात गरेका हुन् । देशको पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने उद्देश्यसहित सगरमाथा स्काई डाइभ सुरु गरेको उनले बताएका छन् ।