काठमाडौं उपत्यकामा उद्योगीसँग खरिद गरेको चिनी बजारमा आउन थालेको छ । खुद्रा व्यापार संघले बुधबार र बिहीबार उपत्यकाभित्र करिब ३५ टन चिनी (६ सय ९३ बोरा) ल्याएको हो । बुधबार तीन सय ८० र बिहीबार तीन सय १३ बोरा चिनी उपत्यकामा आइपुगेको संघले जनाएको छ ।
बुधबारबाट चिनी आएसँगै बजारमा चिनी सहज हुन थालेको खुद्रा व्यापार संघको भनाइ छ । खुद्रा व्यापार संघका कोषाध्यक्ष ध्रुव अधिकारीले बजारमा चिनी सहज हुन थालेको बताए । उनले भने, ‘अहिले केही सहज भएको छ, अझै पाँच सय बोरा चिनी आउने क्रममा छ, त्यसपछि बजार झनै सहज हुन्छ ।’
बजारमा चिनीको अभाव भएपछि वाणिज्य आपूर्ति तथा उपभोक्ताहित संरक्षण विभागले मंगलबार चिनी उद्योगी र व्यापारीबीच छलफल गरेर कोकाकोला र पेप्सीलगायत पेय पदार्थहरूले खरिद गरेको चिनी खुद्रा व्यापारीले खरिद गरी बिक्री गर्ने व्यवस्था मिलाएको थियो ।
महोत्तरीको एभरेस्ट मिलबाट खुद्रा व्यापारीले चिनी खरिद गरी ल्याएका हुन् । खुद्रा व्यापारीले उद्योगीसँग प्रतिकिलो एक सय ११ रुपैयाँ ५० पैसामा खरिद गरेका हुन् । ढुवानी, लोड–अनलोडसहित जोडेर उपभोक्तालाई व्यापारीले प्रतिकिलो एक सय १५ रुपैयाँमा बिक्री गर्न थालेका छन् । खुद्रा व्यापार संघले प्रतिपरिवालाई दुई किलो मात्र दिन सकिने जनाएको छ । व्यापारीहरू चिनीमा घाटा लाग्ने भन्दै खरिद गर्न मानिरहेका छैनन् । अहिले माग भए पनि सरकारले चिनी ल्याएसँगै चिनी बिक्री नहुने आशंकामा व्यापारीहरू चिनी खरिद गर्न नमानेको उनको भनाइ छ । उनले भने, ‘ढुवानी भाडा, लोड–अनलोडमा महँगो परेपछि चिनीमा घाटा देखिएको छ, त्यसैले व्यापारीहरूले किन्न मानेनन् ।’
चिनी अभाव अन्त्य गर्न सभापति खतिवडा आफैँ अनुगमनमा
प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले चाडपर्वको मुखमा चिनीलगायत उपभोग्य वस्तुको अभाव, महँगी र कालोबजारी नियन्त्रणका लागि बजार अनुगमन गरेको छ । समिति सभापति रामहरि खतिवडाले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र सम्बन्धित विभागहरूसँग समन्वय गरेर काठमाडौंका थोक तथा खुद्रा पसलहरूमा मंगलबार र बुधबार गरी दुई दिन अनुगमन गरेका हुन् ।
उपभोक्ताबाट बजारमा चिनी नपाएको, महँगी अचाक्ली बढेको, उपभोग्य वस्तुको कालोबजारी भइरहेको गुनासो आएपछि पसलहरूमा अनुगमन गरी सहजीकरणको प्रयास गरिएको सभापति खतिवडाले बताए । ‘दसैँमा चिनी अभाव हुँदा सरकारले वास्ता गरेन । दुई–चार कम्पनीलाई सिन्डिकेटका आधारमा दिन खोज्दा चिनी अभाव भयो । एक किलो चिनी लिन हजार रुपैयाँ तिर्नुपर्ने, चार घन्टा लाइनमा बस्नुपर्ने अवस्था सिर्जना गरियो,’ उनले भने, ‘यसको समाधान के हो त भनेर मैले सम्बन्धित निकायसँग समन्वय गरी अनुगमन तथा सहजीकरण गरेको हुँ । यसको सकारात्मक परिणाम देखिएको छ ।’
सभापति खतिवडाले अनुगमनपछि समस्या पहिचान गरेर भारतीय कम्पनीबाट सीधै चिनी आयात थालिएको र बजारमा अभाव सामान्य बन्दै गएको बताए । ‘भारतीय कम्पनीबाट सरकारले सीधै चिनी खरिद गरेर खुद्रा व्यापारीमार्फत बजारमा आपूर्ति गरेको छ । हालसम्म १४ वटा ट्रकमा चिनी आएको वाणिज्य विभागको तथ्यांक छ । विभागका महानिर्देशकले बजारमा सहजता हुँदै गएको भन्नुभएको छ,’ उनले भने । महँगी र कालोबजारी नियन्त्रणका सन्दर्भमा पनि सम्बन्धित मन्त्रालय र विभागको ध्यानाकर्षण गराई निर्देशन दिइएको खतिवडाले बताए ।
सभापति खतिवडाले चाडपर्वका वेला सार्वजनिक यातायातमा देखिएको समस्या समाधान गर्न पनि चासो देखाएका छन् । यातायात व्यवस्था विभागका महानिर्देशक, ट्राफिक डिआइजी, भौतिक पूर्वाधार तथा यातायातमन्त्रीसँग समन्वय गरी सिन्डिकेट हुन नदिन ध्यानाकर्षण गराएको उनले बताए । ‘दसैँका वेला कुनै पनि गाडी सिन्डिकेटजस्तो आवतजावतमा अनुमति लिनुपर्ने, स्पिड पनि हेर्ने र बढी यात्रु राख्न नदिने, मूल्य बढी लिएको भए कारबाही गर्नुप¥यो भनेर सम्बन्धित निकायसँग समन्वय गरेको छु,’ सभापति खतिवडाले भने ।
काभ्रेमा राजस्व छलीको चिनीसहित ट्रक बरामद
जिल्लाको बनेपामा करिब ६ लाखबराबरको राजस्व छली गरी ल्याएको चिनीसहित ट्रक बरामद गरिएको छ । चिनीको बोरालाई धानको बोराले छोपी लुकाइछिपाई ल्याउने क्रममा प्रहरीले बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार बिहीबार इलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको प्रहरी टोलीले अरनिको राजमार्ग सडकखण्डमा सवारीसाधन चेकजाँच गर्ने क्रममा पनौतीबाट बनेपातर्फ आउँदै गरेको ट्रकमा ५० किलोका ९२ बोरा अवैध चिनी बरामद गरेको छ ।
धुलिखेल–२ का ३७ वर्षीय राजु तिमल्सिनाले चलाएको ना.६ख ६२१९ नंको ट्रकमा राजस्व छली गरी धानको बोराले छोपेको चिनी बरामद गरिएको थियो । सो चिनीलाई २८ बोरा धानले छोपी ल्याएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले बताए । ४२ हजारबराबरको धानको बोराले छोपेर ल्याएको चिनी खरिद गरेको चालक तिमल्सिनासँग कुनै पनि कागजात नरहेको श्रेष्ठले जनाएका छन् ।
अवैध चिनी ओसारपसार गर्न प्रयोग गरिएको ना.६ख ६२१९ नम्बरको ट्रक, चिनी र धान बरामद गरी चालक राजु तिमल्सिनालाई समेत पक्राउ गरी कारबाहीका लागि राजस्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाइएको प्रहरीले जानकारी दिएका छन् ।