प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज मुस्ताङ आइपुगेका छन् । राष्ट्रिय प्रकृति संरक्षण कोषअन्तर्गतको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले आयोजना गरेको जलवायु परिवर्तनसम्बन्धी अन्तर्क्रिया कार्यक्रममा सहभागी हुन उनी मुस्ताङ आएका हुन् ।
नेपाली सेनाको हेलिकोप्टरमार्फत बिहान जोमसोम आएका प्रधानमन्त्री प्रचण्ड कोरला नाका, गत साउनको बाढीले क्षति पुगेको कागबेनीलगायत क्षेत्रको अनुगमनमा आएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए ।
प्रधानमन्त्री प्रचण्डले मुस्ताङ भ्रमणका क्रममा कोरला नाका र गत साउनको बाढीले क्षति पुगेको कागबेनीको हवाई निरीक्षण गर्ने कार्यक्रम छ । उनले हालै गरेको चीन भ्रमणका क्रममा मुस्ताङको कोरलालगायत १४ वटा व्यापारिक नाका सञ्चालन गर्ने सहमति भएको थियो ।
चार वर्षदेखि बन्द रहेको कोरला नाका सञ्चालनका लागि लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका एक हजारजनाभन्दा बढी सर्वसाधारणलाई चीन प्रवेशका लागि अनुमतिपत्र वितरण गरिएको छ ।
प्रधानमन्त्री प्रचण्डसमक्ष स्थानीयवासीले कालीगण्डकी नदीको कटान, उपल्लो मुस्ताङको पाँचवटा गाउँलाई अर्धनिषेधित क्षेत्रबाट हटाउन र जग्गासम्बन्धी समस्याबारे छलफल गर्ने कार्यक्रम तय भएको नेकपा माओवादी केन्द्र मुस्ताङका इन्चार्ज कपिल लामाले बताए।
प्रधानमन्त्री प्रचण्डसँगै वन तथा वातावरणमन्त्री डा. वीरेन्द्रप्रसाद महतो, गण्डकी प्रदेशका स्वास्थ्य तथा सामाजिक विकासमन्त्री सुशीला सिंखडा, भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जाली, प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेललगायतका नेताहरू आएका छन् ।
जलवायु परिवर्तनसम्बन्धी अन्तर्क्रिया कार्यक्रममा सहभागी भएपछि प्रधानमन्त्री प्रचण्डले आजै जोमसोममा ‘जनतासँग माओवादी रूपान्तरण अभियान’अन्तर्गत आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रम छ ।