कोशी प्रदेशमा पाँचौँपटक सरकार गठनका लागि दुई समूहले अलग–अलग दाबी पेस गरेका छन्। सरकार गठनका लागि आफूहरूसँग बहुमत रहेको भन्दै सांसदहरूको अलग–अलग दुई समूहले आज प्रदेश प्रमुखको कार्यालयमा दाबी पेस गरेका हुन्।
एक समूहमा दाबी पेस गर्नेहरूमा कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जनता समाजवादी गठबन्धनका सांसद छन्। उनीहरूले माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोलाई मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गरेका हुन्।
यस्तै, एमाले र कांग्रेसभित्रैका आठजना सांसदहरूले पनि आफूहरूसँग बहुमत रहेको भन्दै हस्ताक्षरसहित कांग्रेसका केदार कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न माग गर्दै दाबी पेस गरेका हुन्।
प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ को उपधारा ५ अनुसार सरकार गठनका लागि बहुमत पुर्याएर दाबी पेस गर्न २६ असोज अपराह्न ५ बजेसम्मको समयसीमा दिएका थिए। तर, सांसदहरूको समूहले एक दिनअगाडि नै आफूहरूसँग बहुमत रहेको भन्दै अलग–अलग दाबी पेस गरेका हुन्।
अब दुवै समूहले दाबी गरेको हस्ताक्षर सही हो–हाेइन भन्ने प्रमाणीकरण गर्नुपर्ने बाध्यता प्रदेश प्रमुखको कार्यालयलाई आइपरेको छ। कांग्रेस माओवादीसहितको गठबन्धनले आजै माओवादीका इन्द्रबहादुर आङ्बोलाई मुख्यमन्त्रीमा नियुक्त गराउने निर्णय गरेको थियो।
तर, कांग्रेसभित्रकै कोइराला समूहले भने पार्टीको निर्णय उल्लंघन गर्दै एमालेसँग मिलेर आठजना सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा आफ्नो दाबी पेस गरेको हो।
कोशी प्रदेशमा एमालेको उपसभामुखसहित ४०, कांग्रेसका २९, माओवादी केन्द्रको १३, एकीकृत समाजवादीको चार र जनता समाजवादीको एकजना अनि राप्रपाको ६ जना सांसद छन्। राप्रपाले भने कुनै पनि समूहलाई समर्थन दिएको छैन। यसैले अब कोशीको राजनीतिमा राप्रपा निर्णायक बनेको छ।