२५३ विद्यार्थी लिएर इजरायलबाट आइपुगे परराष्ट्रमन्त्री, आफन्तजनद्वारा विमानस्थलमा स्वागत (फोटोफिचर)

शुक्रबार, २६ असोज, २०८०
डिजिटल संस्करण

प्यालेस्टाइनको हमास समूहले शनिबार आक्रमण गरेपछि अशान्त इजरायलको सीमावर्ती सहरबाट उद्धार गरिएका दुई सय ५३ नेपाली विद्यार्थी आज बिहान स्वदेश आइपुगेका छन् । नेपाल एयरलाइन्सको चार्टर उडानबाट परराष्ट्रमन्त्री एनपी साउद नेतृत्वको टोलीले इजरायलको राजधानी तेलअभिभ पुगेर उनीहरूलाई ल्याएको हो । बिहान उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ठूलो संख्यामा उपस्थित आफन्तजनले स्वागत गरेका थिए । 

परराष्ट्रमन्त्री साउद बिहीबार बिहान दुबई हुँदै अपराह्न इजरायल पुगेका थिए । नेपाली विद्यार्थीलाई लिएर उनी राति युएईको अबुधाबी हुँदै आज बिहान आइपुगेका छन् । परराष्ट्रमन्त्री साउदले नेपाली युवा विद्यार्थीको आत्मविश्वास बढाउन आफू गएको बताएका छन् । तेलअभिभमा परराष्ट्रमन्त्री साउदले स्वागत गर्न गएका इजरायली चिफ अफ प्रोटोकललगायतका अधिकारीलाई नेपालीहरूप्रति उनीहरूले गरेको सहयोगका लागि धन्यवाद दिएका थिए । उनले संकटको घडीमा नेपाल सरकार इजरायल सरकारसँग साथमा रहेको पनि सन्देश दिएका थिए । 

विद्यार्थीलाई लिएर स्वदेश फर्केपछि विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै परराष्ट्रमन्त्री साउदले इजरायलमा रहेका नेपालीका आफन्तजनलाई चिन्ता नगर्न आग्रह गर्दै नेपाल सरकार उनीहरूको सुरक्षाप्रति गम्भीर र संवेदनशील रहेको बताए । उनले इजरायलमा स्वदेश फर्किने चाहना राखेर करिब पाँच सयजना नेपालीले विवरण टिपाएको र बाँकी रहेकालाई नियमित उडानबाट भए पनि स्वदेश फर्काउन प्रयास गरिने जानकारी दिए । सरकारले उद्धार गरेर ल्याइएका विद्यार्थीलाई घरसम्म पुर्‍याउन गाडीको बन्दोबस्त गरेको छ । उनीहरू आफ्नो घरतर्फ प्रस्थान गरिसकेका छन् ।

सुझावित समाचार