च्याम्पियन हुँदै एसिया कप खेल्ने लक्ष्य

१६ टोली सहभागी एसिसी यू–१९ प्रिमियर कपको उपाधि जित्दै पाकिस्तानमा हुने एसिया कप खेल्ने योजनामा नेपाल

मंगलबार, २३ असोज, २०८०
डिजिटल संस्करण

नेपाली राष्ट्रिय यू–१९ क्रिकेट टोलीले बिहीबारबाट एसिया कप छनोट प्रतियोगिता खेल्दै छ । करिब एक महिनाको तयारीपछि नेपाली टोली एसिसी यू–१९ प्रिमियर कप खेल्न लागेको हो । त्यसका लागि टोली आज मलेसिया प्रस्थान गर्दै छ । मलेसिया प्रस्थान गर्नुअघि नेपाली टोलीका कप्तान तथा प्रशिक्षकले अपराजित रहँदै १६ टोली सहभागी प्रतियोगितामा च्याम्पियन भएर घर फर्कने योजना बनाएका छन् । प्रतियोगिताका हरेक खेल जित्दै जाने र उपाधिका लागि प्रतिस्पर्धा गर्ने उनीहरूले योजना सुनाएका छन् । 

कप्तान देव खनालले टोलीको तयारी राम्रो भएको र उपाधि जित्न खेल्ने बताउँछन् । ‘तयारी राम्रो भएको छ । उपाधि भित्र्याउन चाहन्छौँ,’ नयाँ पत्रिकासँग बोल्दै देवले भनेका छन् । देवको नेतृत्वमा नेपाली टोलीले समूह चरणमा बहराइन, साउदी अरेबिया र इरानसँग खेल्ने तालिका छ । नेपालले समूहको पहिलो खेलमा बिहीबार इरान, आइतबार बहराइन र अन्तिम खेलमा साउदी अरेबियासँग खेल्ने तालिका छ । चार समूहका १६ मध्ये उत्कृष्ट तीन टोली एसिया कपमा छनोट हुनेछन् । एसिया कपको समूह ‘ए’मा भारत र पाकिस्तान छन् । अर्काे समूहमा अफगानिस्तान, बंगलादेश र श्रीलंका छन् । 
प्रिमियर समूह चरणका तीनै खेल जितेर सेमिफाइनल पुग्ने नेपालको लक्ष्य छ । ‘मनोबल पनि उच्च छ । केही खेलाडीले भारतमा पनि प्रशिक्षण गरेका छन् । ब्याटिङ र बलिङ राम्रो छ । तीव्र गतिका बलरले झनै राम्रो गर्न सक्छन्,’ देव भन्छन् । उनले टेस्ट राष्ट्रसँग खेल्न परे पनि विनादबाब खेल्ने क्षमता रहेको बताएका छन् । 

गत वर्ष नै नेपालले सन् २०२४ को जनवरीमा श्रीलंकामा हुने विश्वकपमा स्थान सुरक्षित गरिसकेको छ । युएईमा उत्कृष्ट प्रदर्शन गरेपछि हाल टोलीको मनोबल उच्च छ । सोही खेलाडी नै यो टोलीमा छन् । देवको कप्तानीमा आकाश त्रिपाठी, अर्जुन कुमाल, दीपक बोहरा, उत्तम थापामगर, हेमन्त धामी, दुर्गेश गुप्ता, आकाश चन्द, दीपक बोहरा, सुवास भण्डारी, विशाल केसी, मिलन बोहरा, दीपक डुम्रे र दीपेश कँडेल टोलीमा छन् । घरेलु टोली युएई, सिंगापुर, हङकङ, मलेसिया र कुवेतलाई हराएर विश्वकपमा पुगेको टोलीले प्रिमियर कपको सेमिफाइनल र फाइनलमा यिनै टोलीसँग खेल्नुपर्छ । 

प्रशिक्षक जगत टमटा खेलाडी प्रतियोगिता जित्न पूर्ण तयार रहेको बताउँछन् । ‘शारीरिक, प्राविधिक र मानसिक रूपमा खेलाडी तयार छन् । विश्वकपपछि एसिया कप छनोट हुन खेल्छौँ,’ टमटाले भने, ‘ब्याटिङ र बलिङ राम्रो छ । पुरानै खेलाडी भएकाले तालमेल पनि उत्कृष्ट छ,’ उनले भने । प्रशिक्षक टमटाले सिनियर टोलीमा स्थान बनाउने मौका रहेकाले पनि खेलाडीलाई उत्कृष्ट प्रदर्शन गर्न अवसर रहेको बताएका छन् । 

नेपाली टोलीको बिदाइ
क्यानले काठमाडौंमा एक कार्यक्रमका बीच नेपाली टोलीको बिदाइ गरेको छ । राट्रिय खेलकुद परिषद् (राखेप) कार्यवाहक सचिव प्रकाश कुसारी, क्यान उपाध्यक्ष रोशन सिंह, सचिव पारस खड्का, कोषाध्यक्ष पदम खड्का, सदस्यद्वय दिवाकर घले र सुदीप शर्मा तथा सिजी फुड्सका सिइओ प्रदीप पुडासैनीलगायतले खेलाडीको बिदाइ गरेका हुन् । 

बिदाइ कार्यक्रममा बोल्दै सविच पारसले राष्ट्रिय टोलीबाट खेल्न सुनौलो अवसर रहेकाले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्न सबै खेलाडीलाई शुभकामना दिए । ‘उत्कृष्ट प्रदर्शन गर्दै राष्ट्रिय टिममा पुग्न सक्ने माध्यम हो । यो संरचनाको क्रिकेटबाट इतिहास बनाउन सकिन्छ । अवसर छ । उत्कृष्ट प्रदर्शन गर्नुहोला,’ पूर्वकप्तान खड्काले भने, ‘विश्वकपसँगै एसिया कप खेल्ने अवसर आएको छ । उच्च मनोबलका साथ खेल्नेमा विश्वस्त छु ।’

उपाधि जित्ने लक्ष्य छ 
देव खनाल, कप्तान, यू–१९ क्रिकेट

तयारी धेरै राम्रो भएको छ । केही खेलाडीले भारतमा गएर पनि अभ्यास गरेका छन् । ब्याटिङ र बलिङ दुवै राम्रो छ । तीव्र गतिका बलरले सानदार प्रदर्शन गर्न सक्छन् । उत्कृष्ट तीनमा रहँदै एसिया कपमा छनोट हुन्छौँ । सबै खेल जित्दै च्याम्पियन भएर घर फर्कन्छौँ । सबै खेल जित्न सक्ने क्षमता छ । ट्रफी लिएर आउँछौँ । मानसिक रूपमा पनि तयार छौँ । कुनै दबाब छैन । यसमा राम्रो गरे अन्य खेलाडीलाई पनि सिनियर टोलीमा खेल्ने अवसर छ । 

सिस्टमलाई निरन्तरता दिन्छौँ 
जगत टमटा, प्रशिक्षक, नेपाल 

मानसिक, शारीरिक र प्राविधिक रूपमा तयार छौँ । सात वर्षपछि विश्वकपमा छनोट भएका छौँ । एसिया कपमा पनि छनोट हुन चाहन्छौँ । खेलाडी जित्न आतुर छन् । व्यक्तिगत तयारी पनि गरेका छौँ । २५ दिनको तयारी आशालाग्दो छ । छनोट त भइहाल्छौँ । च्याम्पियन हुने लक्ष्य हो ।देवले सिनियर टोलीबाट खेलिसकेको छ । त्यही सिस्टममा खेल्ने प्रयास गर्छौं । त्यसलाई निरन्तरता दिएर खेल्छौँ । 

सुझावित समाचार