कांग्रेसले बिपीको राजनीतिक व्यक्तित्व, योगदान, विचार र चिन्तनमाथि बहस र छलफल कार्यक्रम आयोजना गर्ने नैतिक हैसियत गुमाइसकेको छ
आज २४ भदौ, राजनेता बिपी कोइरालाको ११०औँ जन्म जयन्ती ! यसपटक नेपाली कांग्रेस केन्द्रीय कार्यालयले पार्टीका संस्थापक, पूर्वसभापति, प्रथम जननिर्वाचित प्रधानमन्त्री एवम् महान् राजनीतिक विचारक बिपी कोइरालाको जन्म जयन्ती मनाएन । केवल साहित्यकार बिपी कोइरालाको जन्म जयन्ती मनाइरहेको छ ।
कांग्रेसको फाउन्डिङ प्रिन्सिपल, नेपाली राजनीति र स्वयं कांग्रेस पार्टीका लागि बिपीले सेट गरिदिएको विचार र चिन्तनविपरीत गएको कांग्रेसले आफ्ना संस्थापक नेता, महान् विचारक कोइरालाको जन्म जयन्ती, स्मृति दिवस, राष्ट्रिय एकता र मेलमिलाप दिवस आदि प्रसंगमा बिपीलाई सम्झने, बिपीको राजनीतिक व्यक्तित्व, योगदान, विचार र चिन्तनमाथि बहस र छलफल कार्यक्रम आदि आयोजना गर्ने नैतिक हैसियत गुमाइसकेको छ । सायद त्यो हैसियत गुमाएकै कारण यसपटक कांग्रेसले चलाखीपूर्वक राजनेता बिपी कोइरालाको जन्मजयन्ती नमनाई बिपी साहित्य महोत्सवका नाममा साहित्यकार विश्वेश्वरप्रसाद कोइरालाको जन्म जयन्ती मनाएर आफ्नो कर्मकाण्ड पूरा गर्दै छ ।
यसपटक विगतमा भन्दा अनौठो घटना देखिँदै छ । बरु राप्रपाले पहिलोपटक आज बिपी जयन्तीको अवसरमा ‘आजको सन्दर्भमा राष्ट्रिय एकता र मेलमिलाप नीतिको अन्तर्य र औचित्य’ विषयक विचार गोष्ठीको आयोजना गरी बिपी जन्म जयन्ती मनाउँदै छ । विरोधका लागि विरोध गर्नेहरूले के हैसियतमा राप्रपाले बिपी जन्म जयन्ती मनाएको भनेर विरोध गरेको पनि सुनिन्छ, तर यस प्रसंगमा राप्रपाको विरोध गर्नुको औचित्य देखिन्न, बरु ‘क्याबात’ भनेर राप्रपाको नयाँ कदमको स्वागत गर्नु उचित हुन्छ, राप्रपाको यो हार्दिकतापूर्ण राजनीतिक सुरुवातलाई सबैले स्वागत गर्नुपर्छ । निश्चय नै बिपी कोइरालाको व्यक्तित्व, उहाँको नेपाली राजनीति र साहित्यमा भएको अतुलनीय योगदान अनि विचार र चिन्तन कांग्रेसको मात्र निजी सम्पदा होइन । यो सिंगो राष्ट्रकै सम्पत्ति हो । कांग्रेस र नेपाली राष्ट्रिय राजनीतिका लागि बिपी कोइरालाले राष्ट्रियता, प्रजातन्त्र र समाजमाथि दिएको विचार र नेपालको राष्ट्रियतामाथि मडारिएको खतरालाई ध्यान राखेर राष्ट्र जोड्न, राष्ट्रियतालाई बलियो बनाउन ०३३ सालमा राष्ट्रसामु राखेको राष्ट्रिय एकता र मेलमिलापको नीति आमनेपालीको सम्पत्ति हो । अब कसैले त्यसको स्वामित्व दाबी गरेर स्वार्थको राजनीति गर्नुभन्दा त्यस विचार र चिन्तनलाई देशको राष्ट्रियताको प्रवद्र्धन गर्ने र देश निर्माण गर्ने मन्त्रका रूपमा साझा सहमतिको विषय बनाउनु उचित हुन्छ ।
आज कांग्रेसको जीवनमा बिपी खोज्नुपर्ने अवस्था आएको छ । पार्टी कार्यालय र नेता कार्यकर्ताका घरका बैठकमा बिपीका सुन्दर तस्बिर राखेर मात्र हुँदैन । कांग्रेसको राजनीतिक दस्ताबेज र विधानमा बिपीको तस्बिर धूमिल भएको छ । उहाँको विचार र चिन्तन पाउन गाह्रो भएको छ । वास्तवमा अहिले बिपी मात्र होइन, पार्टीको गलत नीति र खराब नेतृत्वका कारण कांग्रेसको जीवनमा कांग्रेस खोज्नुपर्ने दुःखद अवस्था सिर्जना भएको छ ।
बिपीको मेलमिलापको प्रस्तावलाई सबै राजनीतिक दल र शक्तिले स्वीकार गरेको भए विदेशी शक्तिले नेपालका राजनीतिक दलहरूको साथ लिएर षड्यन्त्रको तहमा राजसंस्थाको पतन गर्न सक्ने थिएनन् । बिपी विचार चिन्तनलाई छोडेर, पार्टीका मौलिक सिद्धान्तलाई पर्वाह नराखी केवल सत्ताको लक्ष्य बनाएकै कारण बिपीले सुवर्ण शमशेर, गणेशमान सिंह, सूर्यप्रसाद उपाध्याय, कृष्णप्रसाद भट्टराई आदिसँग मिलेर गठन गरेको इतिहासको त्यो गौरवशाली नेपाली कांग्रेस, आज आफ्नो विगतको ओज गुमाएर कमजोर भएको छ, जीवनकै सबैभन्दा संकटको डिलमा उभिएको छ ।
नेपाली कांग्रेस कमजोर बन्नु, संकटमा पर्नु कुनै पनि राष्ट्रप्रेमी नेपाली जनताका लागि सुखद हुन सक्दैन । कांग्रेस देशको प्रमुख प्रजातान्त्रिक शक्ति मात्र होइन, प्रमुख राष्ट्रवादी शक्ति पनि थियो । परम्परागत रूपमा नेपाल राष्ट्र निर्माण गर्न नेतृत्व गर्ने राजसंस्था संस्थागत रूपमा पहिलो राष्ट्रवादी शक्ति थियो भने आधुनिक राजनीतिक शक्ति कांग्रेस दोस्रो राष्ट्रवादी शक्ति थियो । सत्ताको स्वार्थमा लागेर वामपन्थी भासमा फसेका कारण कांग्रेसको क्रान्ति र लामो प्रजातान्त्रिक आन्दोलनबाट आर्जन गरेको राष्ट्रवादी एवम् प्रजातन्त्रवादी छवि दुवै धूमिल हुन पुगेको छ ।
राष्ट्रियता, प्रजातन्त्र र समाजवाद कांग्रेसको सिद्धान्त हो, आस्था हो र विचारधारा हो । तर, अहिले कांग्रेसका लागि सहमति, सहकार्य र एकता सिद्धान्त भएको छ, विचारधारा भएको छ । शान्ति–प्रक्रियालाई टुंग्याउनसम्मलाई सहमति, सहकार्य र एकता एक हदसम्म जायज नै थियो, तर शान्ति स्थापना भएर सामान्य प्रतिस्पर्धाको राजनीतिमा सत्ता स्वार्थका लागि सहमति, सहकार्य र एकताको राग अलापिरहनु कांग्रेसको सैद्धान्तिक दिवालियापन हो ।
राष्ट्रपति बन्न र निरन्तर वामपन्थीसँग मिलेर सत्ताको रजाइँ गर्ने सिद्धान्त बन्यो– सहमति, सहकार्य र एकता । राष्ट्रपति बन्ने चाहनाले धोका खाए पनि निरन्तर सत्तामा टिकेर बस्नका लागि कांग्रेसले अँगालेको सहमति, सहकार्य र एकताको सिद्धान्त पार्टी र देशका लागि अभिशाप सिद्ध भए पनि नेताहरूका लागि भने वरदान सावित भएको छ ।
कांग्रेसलाई राष्ट्रियता, प्रजातन्त्र र समाजवादको सिद्धान्त, मूल्य, मान्यता अनि राष्ट्रिय एकता र मेलमिलापको नीतिको मर्मबमोजिम कम्युनिस्टहरूसँग सहकार्य र एकता गर्न दिँदैन । माओवादीसँग तत्कालीन सात दल र सशस्त्र विद्रोही माओवादीसँग दिल्लीमा भएको १२ बुँदे साझा समझदारीयता शान्ति प्रक्रिया र संविधान निर्माणको चरणमा कम्युनिस्ट पार्टीसहित आफ्नै पार्टीका नेता कार्यकर्ताको टाउको काट्ने माओवादीसँग सहकार्य गरेर सत्ताको भागबन्डामा सहमति गर्न सकस हुने भएर नै कांग्रेसले बिपी विचार र चिन्तनको औचित्य सकियो भन्न पनि सकेन र विचारलाई स्वीकार गर्न पनि सकेन । अघोषित रूपमा पार्टीका स्थापनाकालीन सिद्धान्त र बिपी विचारलाई खारेज ग¥यो र अहिले सहमति, सहकार्य, एकताको सूत्रमा धर्म–निरपेक्षता, संघीयता, गणतन्त्र, समानुपातिक निर्वाचन प्रणालीलाई आदर्श मानेर हिँडेको छ । तर, यसलाई आमजनताले कसरी नियालिरहेका छन् ? यसप्रति कांग्रेस नेतृत्वपंक्ति बेपर्वाह हुँदै आएको छ, यो बेपर्वाहपन नै वर्तमान कांग्रेसको अभिशाप हो ।
एकातर्फ सहमति सहकार्य र एकताको सिद्धान्तमा टेकेर शान्ति प्रक्रिया र संविधान निर्माणका क्रममा कांग्रेसले अँगालेका संघीयता, धर्म निरपेक्षता, गणतन्त्र, समानुपतिक प्रणाली (मिश्रित निर्वाचन प्रणाली) समावेशिता आदि कथित परिवर्तनका मुद्दालाई आमजनताले स्वामित्व लिइरहेका छैनन् भन्ने यथार्थलाई ०६२/६३ पछि कांग्रेस पार्टी र पार्टीबाट सत्तामा रजगज गर्दै आएका नेतृत्वले बुझेर पनि राजनीतिक स्वार्थमा त्यसलाई पचाएर बसेका छन् ।
कांग्रेसले लोकतान्त्रिक आन्दोलनको नेतृत्वसँगै शान्ति प्रक्रियाको नेतृत्व गरेर हिंसात्मक राजनीतिक बाटोमा हिँडेका माओवादीलाई शान्तिको मार्गमा ल्यायौँ भनेर गर्व गर्दै कथित परिवर्तनका मुद्दालाई आफ्नो स्वामित्वमा लिएर पहिलो संविधानसभा निर्वाचनमा जनताबीच पुग्दा कांग्रेसलाई जनताले किन पत्याएनन् ? २४० सिटमध्ये कांग्रेसलाई केवल ३७ सिटमा सीमित राखेर किन दण्डित गरे ? कांग्रेसले यसतर्फ कहिल्यै आत्मसमीक्षा गर्न आवश्यक ठानेन ।
दोस्रो संविधानसभा निर्वाचनबाट पार्टी पहिलो शक्तिको रूपमा आएपछि कांग्रेस सभापति प्रधानमन्त्री बने र उनकै पालामा देशले संविधानसभाबाट एक थान संविधान पायो । कांग्रेसले उल्लिखित कथित परिवर्तनका मुद्दामा स्वामित्व लिँदै यसअघिका कम्युनिस्ट पार्टीले नेतृत्व गरेको सरकारले संविधान दिन सकेनन्, कांग्रेस नेतृत्वको सरकारले संविधानसभाबाट संविधान जारी गर्न सक्यो भन्ने गौरव गर्दै संविधान निर्माणको एकलौटी जस लिएर, कांग्रेसलाई बहुमत दिनुहोस्, स्थिर सरकार, विकास र समृद्धि दिनेछौँ भन्दै संविधान जारी भएपछिको पहिलो निर्वाचनमा जाँदा प्रत्यक्ष तर्फको १६५ मध्ये जम्मा २३ सिटमा मात्र जनताले कांग्रेसलाई थन्क्याए । त्यो निर्वाचनमा जनताले कांग्रेसलाई यति निर्मम ढंगले किन दण्डित गरे ? कांग्रेसले यसतर्फ अलिकति घोत्लिने, चिन्तन र समीक्षा गर्न आवश्यक ठानेन । बिपी साहित्य महोत्सवले समीक्षा त गर्नेछैन । अनि बाटो बिराएको कांग्रेसले सही मार्ग समात्छ भनेर विश्वास गर्ने कसरी ?
पछिल्लो कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा पार्टी सभापतिले १ पुस ०१७ को निरंकुश कदमपछि पार्टीबाट परित्यक्तजस्तै भएका पार्टीका संस्थापक नेता सूर्यप्रसाद उपाध्यायलाई पार्टीमा बिपी, सुवर्ण शमशेर र गणेशमान सिंहसँगै आफ्नो पार्टीका चार महान् नेताको रूपमा सम्मान गर्ने घोषणा गर्नुभयो । त्यसैगरी सभापतिले अर्को प्रसंगमा समानुपातिक निर्वाचन प्रणालीले देशको राजनीति बिग्रियो, प्रत्यक्ष निर्वाचन प्रणालीलाई नै समावेशी बनाएर समानुपातिक निर्वाचन प्रणाली खोरज गर्न संविधान संशोधन गर्न आवश्यक भयो भनेर बढो सुन्दर कुरा राख्नुभयो । यो दुई घटना प्रसंगबाट मात्र कांग्रेस स्वयं आफ्नो इतिहासमाथि न्याय गर्न र शान्ति प्रक्रिया र संविधान निर्माणका क्रममा लत्तो छोड्दै अँगालेका कथित परिवर्तनका मुद्दामाथि जनभावनाअनुसार पुनर्विचार गर्न र राजनीतिक ‘रोडम्याप करेक्सन’ गर्न तत्पर हुन्छ भन्ने विश्वास गर्न सकिन्न । बिपी जन्म जयन्तीको अवसरमा यति लेख्नैपर्छ– जनभावना र बिपी कोइरालाको विचार र चिन्तन अनि राष्ट्रिय एकता र मेलमिलाप नीतिको मर्मबमोजिम कांग्रेसले समय छँदै आफूलाई करेक्सन गर्न तयार नहुने हो भने नेपाली राजनीति र प्रजातान्त्रिक आन्दोलनमा कांग्रेसको औचित्य बिस्तारै समाप्त हुने निश्चित छ ।
बिपी कोइरालाले ‘जुन दिन कांग्रेसले राष्ट्रियतामाथिको आफ्नो अडान छाड्नेछ, यो निरर्थक भएर जानेछ । जुन दिन यसले प्रजातन्त्रको आदर्श छोडेर केवल सत्ताको राजनीति गर्नेछ, यो निरर्थक भएर जानेछ’ भन्नुभएको थियो । अहिले कांग्रेसको जीवनमा बिपीका यी महान् वाणी यथार्थमा चरितार्थ भएका छन् । वर्तमान कांग्रेसले राष्ट्रियतामाथिको आफ्नो अडानमा पटक–पटक चुक्दै आएको छ भने प्रजातन्त्रको आदर्शलाई छोडेर केवल सत्ताको राजनीति गरिरहेकाले राष्ट्रिय राजनीतिबाट आफ्नो औचित्य गुमाइरहेको छ ।
यस्तो चुनौतीको डिलमा उभिएको निरीह र बाटो बिराएको कांग्रेसलाई सही मार्गमा ल्याएर बचाउन, बिपी विचार र चिन्तनप्रति समर्पित मुलुकभरका निष्ठावान् र आदर्शवान् कार्यकर्ता एकपटक गुटगत र आफ्नै व्यक्तिगत स्वार्थभन्दा माथि उठेर, संगठित भएर जुरुक्क उठ्न सके भने कांग्रेसको भविष्यप्रति अलिकति आशावादी बन्न सकिएला अन्यथा कांग्रेसको यो तहको पतनमा रामराम भन्न मात्र सकिन्छ । बिपी जयन्तीको पावन अवसरमा आमकांग्रेसीजनमा राष्ट्रप्रेमको राजनीति गर्न पार्टीलाई बिपी विचार र चिन्तनको मार्गमा हिडाउन प्रेरणा जागृत होस् ।