पाकिस्तानविरुद्ध नेपाल १०४ रनमा अलआउट, नेपालको सबैभन्दा ठूलो हार

बुधबार, १३ भदौ, २०८०
डिजिटल संस्करण

नेपालका लागि एसिया कपको डेब्यु बिर्सनलायक रह्यो। एसिया कप २०२३ को उद्घाटन खेलमा पाकिस्तानसँग प्रतिस्पर्धा गरेको नेपाल दुई सय ३८ रनले पराजित भयो। 

यो पराजय नेपालको अहिलेसम्मकै ठूलो हो। एकदिवसीय क्रिकेटको इतिहासमा नेपालले १६औँ ठूलो अन्तरको पराजय व्यहोरेको छ। 

पाकिस्तानको मुल्तानमा पहिले ब्याटिङ गरेर पाकिस्तानले दिएको तीन सय ४३ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल २३.४ बलमा एक सय चार रनमै अलआउट हुन पुग्यो। 

नेपालका लागि सोमपाल कामी, आरिफ सेख र गुल्सन झालेबाहेक अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन्। सोमपालले २८, आरिफले २६ र गुल्सनले १३ रन बनाए। 

कप्तान रोहित पौडेल, सन्दीप लामिछाने र ललित राजवंशी शून्य रनमै आउट भए। यस्तै, कुशल भुर्तेलले ८, आसिफ सेखले ५, दीपेन्द्रसिंह ऐरीले ३ र कुशल मल्लले ६ रन बनाए। करण केसी सात रनमा अविजित रहे। 

इनिङको दोस्रो ओभरमै नेपालले तीन विकेट गुमाइसकेको थियो। पहिलो ओभरको पाँचौँ र छैटौँ ओभरमा लगातार विकेट गुमाएको नेपालले दोस्रो ओभरमा थप झड्का व्यहोरेको थियो। 

त्यसपछि क्रिजमा गएका सोमपाल र आरिफ सेखले ५९ रनको साझेदारी गरेपछि नेपाल सम्मानजनक स्कोरतर्फ अघि बढ्ने आशा पलाएको थियो। तर, यी दुई आउट भएसँगै नेपालको बाँकी ब्याटिङ अर्डर तासको पत्ताजस्तै ढल्न पुग्यो। 

त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको पाकिस्तानले कप्तान बाबर आजमको एक सय ५१ र इफ्तिखार अहमदको एक सय नौ रन मद्दतमा निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर तीन सय ४२ रन बनाएको थियो। नेपालका लागि सोमपालले दुई, करण केसी र सन्दीपले एक-एक विकेट लिएका थिए। 

सुझावित समाचार