बाढीले बगाएर बेपत्ता भएका शिवनारायण यादवको शव फेला परेको छ । सिराहाको लहान नगरपालिका– २४ झुट्की गाउँका ३५ वर्षीय यादवको शव २४ घन्टापछि सखुवानन्कारकट्टी गाउँपालिका- ५ कल्याणपुरमा फेला परेको छ ।
यादव झुट्की गाउँदेखि दक्षिण पर्ने सर्रे खोलामा आएको बाढीमा दाउरा खोज्दै मध्यभागमा पुगेका थिए । त्यसक्रममा अचानक आएको ठूलो बाढीले उनलाई बगाएको स्थानीय बासिन्दासमेत रहेका मानव अधिकारकर्मी राजकुमार राउत कुर्मीले जानकारी दिए ।
कुर्मीले भने, ‘खोलामा अचानक ठूलो बाढी आएकाले वारिपारि गर्न सक्ने अवस्था थिएन । यादव खोलाको मध्यभागमा बालुवा थुप्रिएको ठाउँमा केही बेर बसेका थिए । तर, ठूलो भेलले उनलाई बगाएर सर्रे, खुट्टी खोला हुँदै बलान खोलासम्म पुर्याएछ ।’
बाढी हेर्न गएका स्थानीयले बलान खोलामा शव देखेपछि शनिबार अपराह्न प्रहरीलाई खबर गरेका थिए । स्थानीयले दिएकाे जानकारीसँगै प्रहरीले तत्काल शव निकालेर लहानस्थित प्रादेशिक अस्पताल ल्याएको इलाका प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी नायव उपरीक्षक भोलाकुमार भट्टले जानकारी दिए । उनका अनुसार यादवको शव शनिबार साँझ नै पोस्ट मार्टम गरी सम्बन्धित परिवारलाई बुझाइएको छ ।
स्थानीय लुदर यादवका दुई भाइमध्ये कान्छा छोरा शिवनारायण अपांगता भएका व्यक्ति हुन् । उनले दु:खजिलो गरेर श्रीमती, दुई छोरा र एक छोरीसहित पाँचजनाको लालनपालन गर्दै आएका थिए । उनको मृत्युसँगै परिवारको बिचल्ली भएको छ ।