कालीमाटी बजारमा भारतीय प्याज आउन छाडेको छ । भारतले ४ भदौबाट लागू हुने गरी प्याज निर्यातमा भन्सार शुल्क बढाएसँगै कालीमाटी बजारका व्यवसायीले आयात रोकेका हुन् ।सोमबार र मंगलबार भारतबाट प्याज आयात नभएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले जानकारी दिए । उनले भने, ‘अहिले पुरानै केही स्टक देखिएको छ, तर भारतीय प्याज भित्रिएको छैन ।’ कालीमाटी बजारमा भारतीय प्याज नआएपछि मूल्य सूचीबाट समेत भारतीय प्याज हटाइएको छ ।
भारतको सेन्ट्रल बोर्ड अफ इनडाइरेक्ट ट्याक्स एन्ड कस्टमले शनिबार एक सूचना जारी गर्दै ४ भदौबाट लागू हुने गरी प्याजमा ४० प्रतिशत भन्सार शुल्क लगाएको घोषणा गरेको थियो । भारतमै प्याजको खपत बढेको र उच्च निर्यातका कारण घरेलु बजारमा मागअनुसार आपूर्ति हुन नसकी मूल्यवृद्धि भएको पाएपछि सो कार्यालयले निर्यातमा कडाइ गर्न कर बढाएको प्रस्टीकरण दिएको थियो ।
कालीमाटी बजारमा थोक कारोबार गर्दै आएका आलु–प्याज व्यवसायी संघका महासचिव प्रकाश गजुरेलले कर वृद्धिपछिको नयाँ मूल्यअनुसार बिहीबारसम्ममा भारतबाट कालीमाटी तरकारी बजारमा प्याज भित्रिने बताए । उनका अनुसार नयाँ मूल्यअनुसार भारतबाट प्याज ल्याउँदा प्रतिकेजी करिब ८० देखि ९० रुपैयाँसम्म पर्नेछ । उनले भने, ‘अहिले थोक बजारमा प्याजको मूल्य ५५ देखि ६० रुपैयाँसम्म छ, अब नयाँ मूल्यअनुसार प्याज खरिद गर्दा मूल्य स्वतः बढ्नेछ ।’
कालीमाटी फलफूल तथा तरकारी बजारमा आइतबार प्याजको थोक मूल्य अधिकतम प्रतिकिलो ६२ रुपैयाँमा बिक्री भइरहेको थियो भने सोमबार ८० रुपैयाँमा बिक्री भइरहेको थियो । भारतमा गत महिना मात्रै प्याजको मूल्य २० प्रतिशतले बढेको गजुरेलले बताए ।
मूल्य बढेपछि वाणिज्य विभागको छड्के अनुगमन
कालीमाटी, बल्खु, बुढानीलकण्ठ, एकान्तकुनालगायत स्थानमा दुई दिन अनुगमन गरी तरकारी पसलबाट एक लाख ८० हजार जरिवाना असुल
भारतीय प्याजमा कर लगाएपछि व्यापारीहरूले अस्वाभाविक रूपमा मूल्य बढाएका छन् । भारतमा मूल्य नबढ्दै पुरानौ मूल्यअनुसार भित्रिएको प्याजमा समेत व्यापारीले प्याजमा कालो बजारी गरेपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले प्याजको अनुगमनलाई तीव्र बनाएको हो ।
सोमबार र मंगलबार मात्र विभागले तरकारी बजारकेन्द्रित अनुगमन गरेको छ । उपत्यकाका विभिन्न खुद्रा तरकारी बजारमा अनुगमन गर्दा मंगलबार एक लाख ८० हजार रुपैयाँ जरिवाना तिराएको छ । काठमाडौंको तिनकुने तरकारी बजारका मात्रै पाँचवटा पसलमा छड्के हानेको थियो । जसमा चारवटा पसलले मूल्य बढाएको पाइएपछि २० हजारका दरले जरिवाना लगाएको छ भने एउटा तरकारी पसललाई १० हजार जरिवाना तिराएको छ । सोमबार विभागले कालीमाटी, बल्खु, बुढानीलकण्ठ, एकान्तकुनालगायत स्थानमा अनुगमन गरेको थियो ।
विभागका महानिर्देशक गजेन्द्रकुमार ठाकुरले प्याजमा अस्वाभाविक मूल्य बढाई उपभोक्तालाई ठगी गरेको पाइएपछि जरिवाना गरिएको बताए । उनले भने, ‘अहिले बजारमा भएको प्याज पुरानै मूल्यअनुसार भित्रिएको हो, यसमा मूल्य बढाउन पाइँदैन, नयाँ मूल्यअनुसार मूल्य बढ्नु स्वाभाविक भएकाले अहिले मूल्य बढाउनेलाई कारबाही गरेका हौँ ।’ उपभोक्ता अधिकार मञ्चका अध्यक्ष माधव तिमल्सिनाले प्याजमा उपभोक्ता ठगिएको बताए । उनले भने, ‘अनुगमन थोरै मात्र भएको छ, कर्मचारीको अभाव देखाएर अनुगमन हुन सकेको छैन ।’