चेन्नईसँग आर्मी पराजित

भारतमा चलिरहेको डुरान्ड कपमा नेपालबाट प्रतिनिधित्व गरिरहेको त्रिभुवन आर्मी क्लब आइएसएल लिगमा सहभागी चेन्नईसँग ३–० ले पराजित

मंगलबार, ३० साउन, २०८०
डिजिटल संस्करण

नेपाली सेनाको त्रिभुवन आर्मी फुटबल क्लबले भारतको प्रतिष्ठित डुरान्ड कपमा पहिलो हार बेहोरेको छ । इन्दिरा गान्धी एथलेटिक मैदानमा सोमबार भएको खेलमा आर्मी इन्डियन सुपर लिग (आइएसएल) चेन्नई फुटबल क्लबसँग ३–० ले पराजित भएको हो । मेघराज केसीको प्रशिक्षणमा रहेको आर्मीले २२ अगस्टमा हैदराबाद एफसीविरुद्ध अन्तिम खेल खेल्नेछ । चेन्नईको सहज जितमा फारुख चौधरी, रहिम अली र राफेल क्रिभेल्लारोले समान एक गोल गरेका थिए । हारसँगै आर्मीको दोस्रो चरण पुग्ने सम्भावना कमजोर बनेको छ । 

नवयुग श्रेष्ठको कप्तानीमा रहेको आर्मीले दुई खेलबाट एक अंक जोडेको छ । आर्मीले पहिलो खेलमा दिल्ली एफसीसँग १–१ को बराबरी खेलेको थियो । समूहमा दुई खेलबाट ६ अंक जोडेको चेन्नई शीर्ष स्थानमा रहँदै दोस्रो चरणमा प्रवेश गरेको छ । दिल्लीको दुई तथा हैदराबादको एक अंक छ । ६ समूहका शीर्ष टोली र उत्कृष्ट दुई उपविजेता क्वार्टरफाइनलमा प्रवेश गर्नेछन् । 

आर्मीविरुद्ध चेन्नईका फारुखले २२औँ मिनेटमा १–० को अग्रता दिलाएका थिए । आर्मीका रक्षकको गल्तीमा उनले सहज गोल गरेका हुन् । चेन्नईले खेलको ४०औँ मिनेटमा २–० को अग्रता लियो । यसपटक चेन्नईले पेनाल्टीमा गोल गरेको थियो । सुदिल राईले बक्सभित्र चेन्नईका खेलाडीलाई लडाएपछि चेन्नईले पेनाल्टी पायो, जसलाई रहिमले सदुपयोग गरे । खेलको ८३औँ मिनेटमा राफेल क्रिभेल्लारोले चेन्नईलाई ३–० को जित दिलाए । 

सुझावित समाचार