गएको जेठ ३१ गते मनसुन भित्रिएदेखि आजसम्म मनसुनजन्य विपतबाट ५० जिल्ला प्रभावित भएका छन् । गृह मन्त्रालयका अनुसार ती जिल्लामा भएका बाढीपहिरोलगायत मनसुनजन्य विपतमा परेर ४१ जनाले ज्यान गुमाएका छन् । ३१ जना बेपत्ता छन् ।
ती जिल्लामा विपतबाट ५५ जना घाइते भएका गृह मन्त्रालयको विपत् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका प्रमुख, सहसचिव महादेव पन्थले जानकारी दिए । उनका अनुसार विपतका घटना भएका ५० जिल्लामध्ये २० जिल्लामा भने मानवीय क्षति भएको छ । ती जिल्लामा ४१ जनाले ज्यान गुमाएका हुन् ।
यस्तै, बेपत्ता हुनेहरू ६ जिल्लाका छन् । संखुवासभा, ताप्लेजुङ, पाँचथर, दोलखा, मकवानपुर र महोत्तरी जिल्लाका ३१ जना बेपत्ता भएका सहसचिव पन्थले जानकारी दिए । २८ जिल्लाका ५५ जना घाइते भएका छन् ।
विपतमा परेर कुल एक सय ३० घर पूर्ण रूपमा क्षति भएका छन् भने एक सय ९३ घरमा आंशिक क्षति पुगेको छ । मनसुन सुरु भएकै वेलामा पूर्वी नेपालको पाँचथर, संखुवासभा ताप्लेजुङलगायत जिल्लामा भारी वर्षाका कारण ठूलो धनजनको क्षति भएको थियो । मनसुनकाे अवधिमा मुलुकभर कम पानी पर्ने आकलनका बीच वेलावेलामा परेको भारी वर्षाले विभिन्न जिल्लामा बाढी र पहिराेका घटना निम्त्याइरहेको छ । यद्यपि, कतिपय जिल्लामा अझै वर्षा हुन सकेको छैन ।