दुर्गमका वृद्धवृद्धालाई सुरक्षा भत्ता लिन अझै सास्ती

बुधबार, २४ साउन, २०८०
डिजिटल संस्करण

शैल्यशिखर नगरपालिका– ४ की ७२ वर्षीया मानमति भट्टलाई सामाजिक सुरक्षा भत्ता थाप्न कम्तीमा सात घन्टा पैदल हिँड्नुपर्छ। उनलाई बिहानको झिसमिससँगै सामाजिक सुरक्षा भत्ता लिन गाउँपालिका केन्द्र गोकुलेश्वर पुग्न सास्ती हुने गरेको छ। 

घरबाट गाउँपालिका केन्द्रमा रहेको बैंकसम्म पुग्न ओरालो तीन घन्टा हिँड्नुपर्छ। तर, घर फर्किँदा भने उकालो हिँड्न चार घन्टा लाग्छ। बर्खाको वेला चिप्लो बाटोमा आवतजावत गर्न समस्या छ। कहिले समयमै काम हुन्छ त कहिले समय लाग्छ। समयमै काम हुँदा साँझ टर्च बालेर हस्याङफस्याङ गर्दै घर पुग्छिन् उनी। अबेर भए तल गाउँमै बसेर भोलिपल्ट बिहान घर फर्किन्छन् उनी।

बाटो राम्राे छैन, त्यसमाथि पिउने पानी पाइँदैन। हरेक तीन महिनामा यसरी धाएको उनले लामो समय भइसक्यो। बुढेसकालका कारण समय बित्दै जाँदा क्रमशः हिँडडुल गर्न उनलाई समस्या हुने गरेको छ । भत्ता बुझ्न बैंकसम्म आफैँ पुग्नुपर्छ। छोरा भारतमा मजदुरी गर्न गएका छन्। 

‘बुढेसकालले अब त उकालो चढ्न सक्दिनँ,’ लामो सुस्केरा हाल्दै भट्टले सुनाइन्, ‘कति दिन यसरी हिड्नु। विगतमा घरमै आएर भत्ता दिँदा सजिलो हुने गरेको थियो । अहिले भने गाउँमा बैंक नआउँदा कठिन भएको छ।’ 

उनीसँगै ७० वर्ष पुगेका दामा भट्ट पनि भत्ता लिन अब हिडडुल गर्न कठिन भएको सुनाउँछन्। बैंकमा खाता खोलिएको छ। चेक साट्नुपरे पुग्नैपर्‍यो । खातामै राख्यो भने घरमा नुनतेल केले गर्ने भन्ने समस्या हुन्छ। शैल्यशिखर नगरपालिकाको सबैभन्दा विकट वडा नम्बर ४ हो। यो वडासम्म सडक पहुँच पुगेको छैन। अन्य सबै वडामा सडक पहुँच पुगेको छ।

मालिकार्जुन गाउँपालिकाभरिका ज्येष्ठ नागरिकलाई पनि अहिले सामाजिक सुरक्षा भत्ता बुझ्न समस्या उस्तै छ। माछापुच्छ्रे बैंक गाउँपालिकामा छ।

‘सुरुमा बैंक स्थापना हुँदा बैंकले वडामा सामाजिक सुरक्षा भत्ता वितरण गर्ने सहमति गर्‍यो,’ वडा नम्बर ६ का वडाध्यक्ष गोकर्णसिंह धामीले भने, ‘अहिले ज्येष्ठ नागरिकलाई भत्ताको लागि बैंकमै जानुपर्छ। ९० वर्षभन्दा माथिका वृद्धवृद्धालाई कसरी चार पाँच घन्टा हिँडेर जाउ भन्नु ।’ १९८५ मा जन्मिएका गुमानसिंह थापालाई वडाले सिफारिस गरेर उनकी श्रीमतीलाई भत्ता उपलब्ध गराउन पत्रचार गर्दा पनि बैंकले दिन नमानेको वडाध्यक्ष धामी बताउँछन् । यति वृद्धहरू कसरी बैंकसम्म पुग्ने ? घरनजिकको सरकार भने पनि जनताले झन् बढी दुःख पाउने गरेका छन्।’ 

दार्चुलाको शैल्यशिखरसँग जोडिएको दोगडाकेदार गाउँपालिकाका ज्येष्ठ नागरिकको समस्या  पनि उस्तै छ। दोगेडाकेदार गाउँपालिका– १ र ६ का स्थानीय सामाजिक सुरक्षा भत्ता लिन गोकुलेश्वर पुग्ने गरेका छन्। 

दोगेडाकेदार– ६ सलेनाकी ७५ वर्षीया विस्ना भाट दुई दिन हिँडेर दार्चुलाको गोकुलेश्वर सामाजिक सुरक्षा भत्ता लिन आउने गरेकी छिन्। गोकुलेश्वरमा रहेको ग्लोबल बैंकमा भत्ता लिन दुई दिन हिँड्नुपरेको उनले बताइन्। ‘एकै दिनमा बैंकसम्म पुग्न सक्दिनँ,’ उनले भनिन्, ‘बाटोमा वास बसेर भत्ता बुझ्न यहाँ आएकी हुँ।’ 

सोही ठाउँकी ८० वर्षीया नन्दादेवी भाटलाई भत्ता लिन उनका छोरा नारायण भट्टले बोकेर ल्याए । ‘बिहान ५ बजे घरबाट हिँडेर भत्ता लिन गोकुलेश्वर पुगेँ,’ उनले भने, ‘वृद्ध आमालाई बोेकेरै ल्याउनुपरेको छ।’ गाउँसम्म सडक पहुँच र बैंक नहुँदा यो समस्या भएको हो। दोगडाकेदार क्षेत्रबाट नजिकको बैंक दार्चुलाको शैल्यशिखरमा छ । 

‘भत्ता लिन आउने दिन बिहान ५ बजे घरबाट निस्कनुपर्छ,’ अर्का वृद्ध दौलतसिंह कुँवरले भने, ‘बिहान बैंक खुल्नुअगावै नपुगे यहाँ पनि लाइनमै कुर्नुपर्छ।’ गाउँमै भत्ता वितरण हुने अवस्था आए वृद्धवृद्धाहरूले दुःख नपाउने उनको भनाइ छ। बुढेसकालमा हिँड्दा पनि शरीर दुख्ने गर्छ। यसरी घन्टाैँ पैदल हिँडेर भत्ता लिनेहरू साह्रै कष्टकर यात्रा गर्नुपरेको अनुभव सुनाउँछन्।

सरकारले सामाजिक सुरक्षा भत्ता बैंकमार्फत दिन थालेपछि हरेक स्थानीय तहका केन्द्रमा बैंकका शाखा खुलेका छन्। तर, पहाडी जिल्लाका दुर्गम गाउँमा बसोवास गर्ने नागरिकलाई स्थानीय तहका केन्द्रसम्म पुगेर भत्ता थाप्न अझै घन्टाैँ पैदल हिँड्नुपर्ने बाध्यता रहँदै आएको छ। 

बुढेसकालमा लौरोको सहारामा घन्टाैँ हिँड्दा हैरान खेप्नुपरेको वृद्धवृद्धा गुनासो गर्छन्। ‘उमेरले डाँडा काटेपछि हिँडडुल गर्न कठिन हुन्छ। बुढेसकालको सहारा बनेको भत्ता थाप्न लौरो टेकेर हिँड्नैपर्ने कर छ,’ शैल्यशिखर– ४ की पार्वती भट्टले भनिन्।

स्थानीय तह आउनुभन्दा अघि वडासचिवले घरघरमै लगेर बाँड्ने गरेका थिए। कतिपय वडामा पायक पर्ने ठाउँमा जम्मा गरेर पनि बाँड्ने गरिन्थ्यो। हाल स्थानीय तह आएपछि बैंकमार्फत भत्ता दिने गरिएको हो। 

यसरी बैंकमार्फत सम्बन्धित व्यक्तिको बैंक खाता खोलेर भत्ता दिने सुनिश्चित गरिए पनि दुर्गम ठाउँका नागरिकले भने अझै सास्ती खेप्नुपरेको स्थानीयवासी सुनाउँछन्। 

शैल्यशिखर– ४ का वडाध्यक्ष रामसिंह ठगुन्ना वृद्धवृद्धालाई सास्ती नहोस् भन्नका लागि कतिपय वेला चेकमा दस्तखत गराएर सम्बन्धित वृद्धवृद्धाको नजिकको मान्छेलाई सिफारिस पठाएर पनि चेक साट्न लगाएको सुनाउँछन्। 

‘हामीले सक्ने प्रयास गरेका छौँ। तर, भौगोलिक विकटता र सडक पहुँच नहुँदा अझै केही समय वृद्धवृद्धालाई हिँडडुलमा समस्या हुने अवस्था देखिएको छ,’ उनले भने । बैंकहरूलाई दुर्गम क्षेत्रमा घुम्ती रूपमा भत्ता वितरणका लागि नगरपालिकासँग पहल भइरहेको उनले बताए।

सुझावित समाचार