नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय समितिको चौथो पूर्ण बैठकको तेस्रो दिन आज पनि केन्द्रीय सदस्यले धारणा राख्ने क्रम सुरु भएको छ।
कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा जारी बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गरेको ‘वर्तमान परिस्थिति र पार्टीका प्रमुख कार्यभारहरू’ शीर्षकको राजनीतिक एवं संगठनात्मक प्रस्तावमाथि केन्द्रीय सदस्यले धारणा राख्ने क्रम सुरु भएको छ।
बुधबारदेखि सुरु भएको बैठकमा बिहीबारसम्म ७४ जनाले अध्यक्षको प्रस्तावमाथि धारणा राखिसकेका छन्। बैठकमा बोल्नका लागि प्रत्येक केन्द्रीय सदस्यका लागि पाँच मिनेटको समय प्रदान गरिएको छ।
बैठकमा तीन सय ८७ पूर्ण र एक सय ९६ वैकल्पिक केन्द्रीय सदस्य, अनुशासन, लेखा र निर्वाचन आयोगका ४१ सदस्य तथा सात भौगोलिक र तीन गैरभौगोलिक गरी १० प्रदेशका ९० पदाधिकारीको सहभागिता छ।