गागन खोला किनारको झाडीमा शव फेला परेकाले हत्या गरी फालिएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान
सिराहाको गोलबजारमा एक युवकको शव फेला परेको छ । गोलबजार नगरपालिका- २ गागन खोलाको पश्चिम किनारमा आज बिहान युवकको शव फेला परेको प्रहरीले जनाएको छ ।
गागन खोला किनारको झाडीमा भेटिएको शव करिब २५ वर्षीय युवकको हत्या गरी फालिएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। टाउकोमा चोट लागेको र घाँटीमा गम्छा बाँधिएको अवस्थामा शव भेटिएकाले हत्या भएको हुन सक्ने इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सिराहाका प्रवक्ता (डिएसपी) रवीन्द्रराज पाण्डेले भने, ‘अन्यत्र कतै हत्या गरी शव झाडीमा फालिएको हो कि भन्ने शंका छ । यद्यपि, घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।’