हिजाब लगाएर विश्वकप खेल्ने बेन्जिना पहिलो महिला

सन् २०१४ देखि नै फिफाले मुस्लिम राष्ट्रका महिला खेलाडीलाई हिजाब लगाएर खेल्न अनुमति दिएको थियो । मोरक्कोकी बेन्जिनाले विश्वकपमा पहिलोपटक हिजाब लगाउँदै प्रतिस्पर्धा गरिन् ।

सोमबार, १५ साउन, २०८०
डिजिटल संस्करण

मोरक्कोकी रक्षक नाउहाइला बेन्जिना फिफा महिला विश्वकपमा हिजाब लगाएर खेल्ने पहिलो खेलाडी बनेकी छिन् । इस्लामिक मुलुककी २५ वर्षीया बेन्जिना दक्षिण कोरियाविरुद्ध १–० को ऐतिहासिक जितमा हिजाब लगाएर मैदान उत्रिएकी थिइन् । अस्ट्रेलियाको एडिलेडमा आइतबार बेन्जिनाले विश्वकपको डेब्यु खेलमै आफ्नो नाममा रेकर्ड बनाइन् । अफ्रिकन राष्ट्र मोरक्कोले एसियाली शक्तिशाली राष्ट्रविरुद्ध सानदार प्रदर्शन मात्र गरेन, विश्वकपमा पहिलो ऐतिहासिक जितसमेत दर्ता गर्यो । यसअघि मोरक्को दुईपटकको विजेता जर्मनीसँग ६–० ले पराजित भएको थियो । मोरक्कोको विश्वकप डेब्यु खेलमा बेन्जिना बेन्चमै बसेकी थिइन् । 

फिफाले सन् २०१४ देखि मुस्लिम राष्ट्रका सहभागी महिला खेलाडीलाई हिजाब लगाएर खेल्न अनुमति दिएको थियो । यद्यपि, बेन्जिनाबाहेक अहिलेसम्म अन्य मुस्लिम महिला खेलाडीले हिजाब लगाएर मैदानमा प्रतिस्पर्धा गरेका छैनन् । चालू विश्वकपमा मोरक्कोसँगै आठ राष्ट्रले पहिलोपटक सहभागिता जनाइरहेका छन् । बेन्जिनाले व्यावसायिक फुटबल मोरक्कोमै खेल्छिन् । क्लब फुटबलमा उनले सधैँ हिजाब नै प्रयोग गरेकी हुन्छिन् । सिनियर महिला टोलीमा हिजाब लगाएर खेल्ने उनी पहिलो खेलाडी बनेकी छिन् । 

खेलको छैटौँ मिनेटमा जरैदीले गरेको एक मात्र गोलमा मोरक्कोले विश्वकपमै ऐतिहासिक जित निकाल्यो । जितपछि कप्तान इब्तिसामले सबैको मिहिनेतले सफलता प्राप्त गरेको बताइन् । ‘यो जित अरब र मोरक्को जनतालाई समर्पित गर्न चाहन्छु,’ उनले भनिन्, ‘हामी सबैले जितका लागि उत्तिकै मिहिनेत गरेका छौँ ।’ 

दक्षिण कोरियाकी प्रशिक्षक कोलिन बेलले नतिजाले आफूहरू स्तब्ध भएको बताइन् । ‘हामी धेरै स्तब्ध छौँ, खेलमा खेलाडीले अझै राम्रो गर्न सक्थे,’ बेलले भनिन्, ‘मोरक्कोलाई सहजै हराउने लक्ष्यका साथ मैदानमा प्रवेश गरेका थियौँ, तर नतिजा हामीले सोचेको जस्तो भएन ।’ जितसँगै दुई खेलमा तीन अंक जोडेको मारेक्कोले समूह ‘एच’बाट अन्तिम १६ को सम्भावना जीवितै राखेको छ ।  

न्युजिल्यान्ड समूह चरणबाटै बाहिरियो
नवौँ फिफा महिला विश्वकपको सह–आयोजक न्युजिल्यान्ड समूह चरणबाटै बाहिरिएको छ । घरेलु मैदान फोर्सिथबार रंगशालामा स्विट्जरल्यान्डसँग गोलरहित बराबरीमा रोकिएसँगै न्युजिल्यान्डको नकआउट चरणमा पुग्ने सबै सपना समाप्त भएको हो । न्युजिल्यान्ड विश्वकपमा समूह चरणबाटै बाहिरिने पहिलो आयोजक राष्ट्र बनेको छ । बराबरीसँगै तीन खेलमा चार अंक जोडेको न्युजिल्यान्ड समूह ‘ए’ को तेस्रो स्थानमा छ । समान खेलबाट स्विट्जरल्यान्डले पाँच तथा नर्वेले चार अंक जोड्दै अन्तिम १६ मा स्थान बनाएका छन् । नर्वेसँग समान अंक भए पनि न्युजिल्यान्ड गोलअन्तरमा पछि परेको छ । यसअघि न्युजिल्यान्डले नर्वेलाई १–० ले हराउँदा फिलिपिन्ससँग समान अन्तरले पराजित भएको थियो । आइतबार नै भएको खेलमा नर्वेले सोफी रोमन हागको ह्याट्रिकमा फिलिपिन्सलाई ६–० ले हराएको छ । 

कोलम्बिया नकआउट चरणमा 
दुईपटकको च्याम्पियन जर्मनीलाई २–१ ले स्तब्ध पार्दै कोलम्बिया अन्तिम १६ मा प्रवेश गरेको छ । जर्मनीले सन् १९९५ पछि विश्वकपको समूह चरणमा पहिलो हार बेहोरेको हो । कोलम्बियाको जितमा मानुएला भानेगासले इन्जुरी समयको ९७औँ मिनेटमा निर्णायक गोल गरिन् । दक्षिण अमेरिकी टोली र युरोपियन टोलीबीच पहिलो हाफमा कुनै गोल भएन । खेलको ५२औँ मिनेटमा लिन्डा क्यासेडोले उत्कृष्ट गोल गर्दै कोलम्बियालाई अग्रता दिलाइन् ।

सुझावित समाचार