ओटिसी बजारमा ८४ कम्पनीका दुई करोडभन्दा बढी कित्ता सेयर किनबेच

मंगलबार, ९ साउन, २०८०
डिजिटल संस्करण

गत आर्थिक वर्ष ०७९/८० मा ओभर द काउन्टर (ओटिसी) बजारमा विभिन्न ८४ कम्पनीको दुई करोड १२ लाख ६४ कित्ता सेयर कारोबार भएको छ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जारी गरेको गत आर्थिक वर्षमा ओटिसी बजारमा भएको कारोबारको विवरणअनुसार ओटिसी बजारमा कारोबारका लागि हालसम्म दर्ता भएका कम्पनीको संख्या दुई सय ६ वटा छ।

दर्ता भएका कम्पनीमध्ये गत आर्थिक वर्ष ८४ वटा कम्पनीको सेयर रु. दुई अर्ब ८५ करोड ८४ लाख १९ हजार आठ सय ८६ बराबरमा कारोबार भएको हो। ओटिसी बजारमा भएको कारोबारबाट गत वर्ष रु. पाँच करोड २९ लाख ५५ हजार नौ सय ८० बराबरको पुँजीगत लाभकर प्राप्त भएको पनि नेप्सेले जनाएको छ। ओटिसी बजारमा काठमाडौं फरेस्ट्री कलेजको सबैभन्दा धेरै प्रतिकित्ता रु. एक हजार एक सय २५ मा दुई हजार दुई सय २२ कित्ता सेयर खरिद–बिक्री भएको छ।

ओटिसी बजारमा सेयर कारोबार भएका अधिकांश कम्पनीको सेयर मूल्य प्रतिकित्ता रु. एक सयका दरले किनबेच भएको देखिन्छ । नेपाल स्टक एक्सचेन्जले ओटिसी बजारको अवधारणा विकास गरी ०६४ देखि सञ्चालनमा ल्याएको थियो।

नेपाल स्टक एक्सचेन्जमा सूचीकरण नभएका, सूचीकरण खारेज भएका तथा सूचीकरणका लागि आवश्यक सर्त पूरा हुन नसकेका पब्लिक कम्पनीको सेयर कारोबार तथा नामसारी नेप्सेले ओटिसी बजारमार्फत गर्दै आएको छ।

सुझावित समाचार