पौष्टिक तत्वयुक्त चामलको गुणस्तर निर्धारण

आइतबार, ७ साउन, २०८०
डिजिटल संस्करण

कृषि तथा पशुपक्षी विकास मन्त्रालयले १ साउनमा राजपत्रमा सूचना प्रकाशित गर्दै पौष्टिक तत्व सुधार गरिएका चामलको गुणस्तर निर्धारण गरेको छ । अत्यावश्यक खाद्यान्न चामलको गुणस्तरमा सुधार गर्न चाहने उत्पादकले पालना गर्नैपर्ने गरी मापदण्ड जारी गरिएको मन्त्रालयले जनाएको छ ।

सूचनाअनुसार पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल अस्वाभाविक गन्ध र एवं स्वादरहित हुनुका साथै ढुसी र किरा नलागेको हुनुपर्ने मापदण्ड छ । त्यस्तै, चामलमा कुनै पनि बाह्य रङ मिसाउन पनि बन्देज लगाइएको छ ।

यस्तो चामलमा मिलिग्राम प्रतिकिलो इकाइका दरले आइरन ३९ देखि ७२ सम्म, जिंक ३२ देखि ५९ सम्म, भिटामिन ०.८९ देखि २.२१ सम्म, फोलिक एसिड ०.२४ देखि ०.५९ सम्म र भिटामिन बी–१२ को मात्रा ०.००७ देखि ०.०२० सम्म हुनुपर्ने गरी मापदण्ड तय गरिएको छ ।

त्यस्तै, अन्य पौष्टिक तत्व थप गर्न चाहने उत्पादकले समेत मापदण्ड पालना गरी मिलिग्राम प्रतिकिलो इकाइमा थायमिन २.३ देखि ५.६ सम्म, नियासिन २०.५ देखि ५०.७ सम्म र पाइरिडक्सन १.९ देखि ४.८ सम्म थप गर्न सकिने सूचनामा उल्लेख छ । पौष्टिक तत्व सुधारिएको चामलको बोरामा प्रस्टसँग बुझिने गरी लेबल उल्लेख गर्नुपर्ने मन्त्रालयले जनाएको छ ।

See More On

सुझावित समाचार