डेंगुबाट चितवनमा दुई हजार संक्रमित

बिहिबार, ४ साउन, २०८०
डिजिटल संस्करण

चितवनमा डेंगुबाट दुई हजार तीन सय ६ जना संक्रमित भएका छन् । आर्थिक वर्ष ०७९/८० मा जिल्लामा डेंगुबाट चारजनाको मृत्यु भएको छ ।
 
जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी राम केसीका अनुसार गत आवमा जिल्लाका विभिन्न अस्पतालमा १४ हजार सात सय २८ जनाको परीक्षण गरिएकामा तीन हजार तीन सय २४ जनामा डेंगुको संक्रमण देखिएको थियो । चितवन बाहिरका छ सय ९५ जना र ठेगाना नखुलेका तीन सय २३ जना डेंगुबाट संक्रमित भएका थिए ।
 
जिल्लामा सबैभन्दा धेरै भरतपुर महानगरपालिकामा डेंगुको संक्रमण देखिएको केसीले बताए । भरतपुरमा एक हजार ६ सय ४६ जना र खैरहनी नगरपालिकामा एक सय ८४ जना संक्रमित भएका थिए । यस्तै, राप्ती नगरपालिकामा सयजना, कालिका नगरपालिकामा ५५, माडी नगरपालिकामा ४० र इच्छाकामना गाउँपालिकामा १६ जनामा डेंगुको संक्रमण देखिएको केसीले बताए।
 
डेंगु एडिस एजेप्टाई र एडिस एल्वौपेक्टस नामक लामखुट्टेले टोकेर हुने तीव्र भाइरल संक्रमण हो । यो रोगको संक्रमण देखिएका बिरामीमा टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने,  ढाड, जोर्नी तथा मांसपेशी दुख्ने, शरीरमा बिमिरा आउने, वाकवाकी लाग्ने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तस्राव हुने वा शरीरमा रगत जमेको दाग देखापर्ने, बेहोस हुने आदि लक्षण देखापर्ने चिकित्सक बताउँछन् । 
 
डेंगुबाट बच्ने मुख्य उपाय लामखुट्टेबाट बच्नु हो । लामखुट्टे पानीमा बस्ने भएकाले घरको वरपर वा पानी जम्ने ठाउँ जस्तैः गमला, फूलदानी, खाली बट्टा, अलकत्रा वा मट्टीतेलका खाली ड्रम, गाडीका काम नलाग्ने टायर आदिमा पानी जम्न नदिनु, बाहिर वा लामखुट्टेले टाेक्ने ठाउँमा निस्कँदा शरीर ढाकिने लुगा लगाउनुपर्ने र सुत्दा अनिवार्य झुलको प्रयोग गर्नुपर्छ, साथै साना केटाकेटीलाई जुनसुकै समयमा पनि झुलभित्र सुताउनुपर्ने उनको भनाइ छ ।

See More On

सुझावित समाचार