बेँसीसहर–चामे सडक अवरुद्ध

बिहिबार, २८ असार, २०८०
डिजिटल संस्करण

पहाडी जिल्ला लमजुङ र हिमाली जिल्ला मनाङ जोड्ने बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ । तिमाङ पावरहाउस खोलाको काठे पुल र स्यार्कु खोलाको काठेपुल भाँचिएकाले उक्त सडक अवरुद्ध बनेको हो ।  

बेँसीसहर–चामे सडक योजना कार्यालयका इन्जिनियर सुमन अधिकारीका अनुसार बेँसीसहर–चामे सडकखण्डअन्तर्गत मनाङको चामे गाउँपालिका– १ तिमाङ पावरहाउस खोलाको काठेपुल र वडा नम्बर २ स्थित स्यार्कु खोलाको काठेपुल आजदेखि निर्माण गरिँदै छ । सो स्थानमा वैकल्पिक सडक मार्ग नभएकाले यातायात सेवा दुई दिनसम्म अवरुद्ध हुने उनले बताए ।

अधिकारीका अनुसार उक्त स्थानमा दुई वर्षअघि काठेपुल निर्माण गरिएको हो । पुल जीर्ण भएपछि पुराना काठ हटाएर अहिले नयाँ राख्न थालिएको हो । पुल निर्माणका लागि मंगलबारबाटै रूख काट्ने, पुलका लागि फलेक बनाउनेलगायत काम भइरहेको इन्जिनियर अधिकारीले बताए ।

मनाङलाई सडक सञ्जालसित जोड्ने सरकारको योजनाअनुरूप ०५१ देखि सडक डिभिजन कार्यालय दमौली तनहुँले बेँसीसहर–चामे सडक निर्माण अघि बढाएको थियो । नेपाली सेना ०५७ सालदेखि उक्त सडक निर्माणमा सहभागी भएको हो । ०६९ मा सडक निर्माण सम्पन्न गर्दै सडक डिभिजन कार्यालय दमौलीलाई हस्तान्तरण गरिएको हो ।

तत्कालीन कार्य गणका इन्जिनियर भरत श्रेष्ठ र इन्द्रिबर गुरुङको नेतृत्वमा सडक निर्माण सम्पन्न भएको हो । उक्त सडकखण्डको ६५ किलोमिटरमध्ये लमजुङतर्फ ३५ र मनाङतर्फ ३० किलोमिटर रहेको छ । सडक जीर्ण तथा बन्द हुँदा मनाङवासी बढी प्रभावित हुने गरेका छन् ।     

   
 

सुझावित समाचार