बडिबिल्डर ललितले माल्दिभ्समा जिते स्वर्ण

मंगलबार, २६ असार, २०८०
डिजिटल संस्करण

नेपालका बडिबिल्डर ललित धिमालले माल्दिभ्समा भएको १३औँ दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगितामा स्वर्ण जितेका छन् । मालेमा २० देखि २४ असारसम्म भएको प्रतियोगितामा ललितले पुरुष ७५ केजी तौल समूहमा स्वर्ण पदक जितेका हुन् । मिस्टर हिमालय उपाधि विजेता ललितको स्पर्धामा ६ खेलाडी सहभागी थिए । आफ्नो स्पर्धामा स्वर्ण जितेका ललितले ओभरअल च्याम्पियन मिस्टर दक्षिण एसियाको उपाधिका लागि पनि प्रतिस्पर्धा गर्ने अवसर पाएका थिए । ओभरअलमा भारतीय खेलाडी च्याम्पियन बने । 

दक्षिण एसियाली शारीरिक सुगठनकै दौरान भएको प्रथम माल्दिभ्स अन्तर्राष्ट्रिय आमन्त्रण शारीरिक सुगठन प्रतियोगितामा ललित १०औँ स्थानमा रहे । खुला तौलसमूहको प्रतिस्पर्धामा १४ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । इरानका खेलाडीले बाजी मार्दै पाँच हजार अमेरिकी डलर पुरस्कार जिते । यसैबीच, नेपाल फर्किएका ललितको भव्य स्वागत भएको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले ललितको प्रशंसा गरेका छन् । 

‘कठोर परिश्रमका कारण तपाईंले सफलता प्राप्त गर्नुभयो, शारीरिक सुगठनको मात्र नभई सिंगो देशको शिर उँचो पार्नुभयो,’ उनले भने । त्यसअघि नेपाल शारीरिक सुगठन तथा फिटनेस संघ, काठमाडौं जिल्ला शारीरिक सुगठन संघ, विभिन्न क्लबका प्रतिनिधि, खेलाडी, प्रशिक्षक, शुभचिन्तकलगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार ललितलाई बाजागाजासहित भव्य स्वागत गरेका थिए । प्रतियोगितामा दिनेश श्रेष्ठले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

See More On

सुझावित समाचार