सामाजिक सञ्जालको व्यवस्थित प्रयोग र यसको अँध्यारो पाटोबारे नसोच्ने हो भने परिवार र समाज दुवैका लागि यसले निम्त्याउने परिणाम सुखद हुनेछैन
बेलगाम छ हाम्रो सामाजिक सञ्जाल । जसले जे गरे पनि हुन्छ, जे लेखे पनि हुन्छ भन्ने मनोविज्ञान हाबी भएको देखिन्छ । मान्छेहरू आफ्नो मुख्य काम नै यही हो, जसरी सामाजिक सञ्जाल चलाउन थालेका छन् । अहिले सामाजिक सञ्जालमा बोलिने भाषा र शैली एकदमै अस्वाभाविक छ । सबैले पढ्न र हेर्न सकिने खालको छँदै छैन । बोलिचालीमा उच्चारण गर्नै नसकिने भाषा हामी सहजै लेखिरहेका छौँ, सामाजिक सञ्जालमा । यो डरलाग्दो संकेत हो ।
मान्छेहरूले सामाजिक सञ्जालमा लेख्न र कमेन्ट गर्न निकै हतार हुने गरेको देखिन्छ । सोचेर लेख्नुपर्छ भन्ने नै छैन । कसैबारे केही कुरा लेख्दा प्रतिक्रिया दिँदा त्यसबाट पर्न सक्ने असरबारे हामी सोच्दै सोच्दैनौँ । खासगरी नेपालमा अहिले सामाजिक सञ्जाल गाली गर्ने चौतारी जस्तो भइरहेको छ ।
जति धेरै गाली, उति धेरै लाइक आउँछ, उति नै धेरै मान्छेले चासो दिन्छन् भन्ने मनोविज्ञान बढेको देखिन्छ । गालीगलोज र नेगेटिभ कमेन्ट्समा रमाउने जमात बढिरहेको छ । कसैलाई गाली गरेर कसैले केही लेख्यो भने त्यहाँ कमेन्ट गर्नेको लर्को लाग्छ । सामाजिक सञ्जालमा मान्छेका सकारात्मक पाटो कम प्राथमिकतामा परेजस्तो लाग्छ ।
संसारमा क्रान्तिका रूपमा देखापरेको सामाजिक सञ्जाल अहिले अराजक बन्दै गएको छ । यहाँ मान्छेहरू अरूको चरित्र हत्या र गाली गर्न उद्यत देखिन्छन् । कोही पनि स्वस्थ आलोचना सुन्नै चाहँदैनन् । अझ आफूले ‘भगवान्’ मानेको व्यक्तिबारे कसैले केही गलत बोल्यो या लेख्यो भने त्यसविरुद्ध सामूहिक हमला नै सुरु हुन थालेको छ । यो समाजका लागि भयानक छ । समग्रमा भन्नुपर्दा सामाजिक सञ्जाल अहिले अराजकताको बाटामा हिँडिरहेको छ । यो कसैसँग रिसिइबी साँध्ने माध्यम बनिरहेको छ । यस्ता सञ्जालमा जोकोही पनि अशोभनीय गतिविधि गर्न उद्यत् देखिन्छन् ।
बौद्धिक भनिएका व्यक्तिहरू नै तुच्छ शैलीमा प्रस्तुत भइरहेका छन् । सबैभन्दा डरलाग्दो स्थितिमा त युवापुस्ता देखिन्छ । खासगरी धेरैजसो युवती यसको सिकार भइरहेका छन् । आफ्नो करिअरतिर केन्द्रित हुनुपर्ने समयमा उनीहरू सामाजिक सञ्जालमा व्यस्त देखिन्छन् । टिकटक, फेसबुक, स्न्यापच्याट, इन्स्टाग्रामलगायत सामाजिक सञ्जालमा युवायुवतीले एकदमै धेरै समय दिन थालेको देखिन्छ । उनीहरूलाई एक दिन टिकटक बनाउन नपाउँदा तनाव हुन्छ । ठाउँको मतलब छैन, जहाँ पनि नाचिहाल्ने, टिकटक बनाइहाल्ने । लाइक, कमेन्ट्सको उस्तै तनाव । छिनछिनमा कति लाइक आएछ, कति कमेन्ट आएछ भनेर हेरिरहने । यस्तै भइरह्यो भने ठूलो संख्यामा युवापुस्ता मानिसक समस्याबाट गुज्रिन सक्छ । वेलैमा यसबारे सचेत हुनुपर्ने देखिन्छ । ‘मल्टिपल अफेयर्स’ पनि बढेको देखिन्छ । एकैजनाको धेरैजना गर्लफ्रेन्ड–ब्वाइफ्रेन्ड भएको देखिन्छ । भोलि पोल खुलेपछि द्वन्द्व सिर्जना हुने, डिप्रेसनतिर धकिलिने अवस्था बढिरहेको छ ।
सामाजिक सञ्जालका कारण यति धेरै आइसोलेसन भयो कि अहिलेका युवाहरू सामाजिक हुनै चाहँदैनन् । मान्छे त सोसियल हुनुपर्ने हो, सामाजिक प्राणी भनेर बच्चैदेखि पढ्थ्यौँ हामी, तर टेक्नोलोजीले यस्तो बनाइदियो कि उनीहरू त समाज र परिवारसँगै डराउने र भाग्ने भइदिए । करिअरमा ध्यान दिने वेला सामाजिक सञ्जालमा बढी अल्झिँदा यस्तो समस्या उत्पन्न भएको हो ।
जुन सूचना गलत छ, हामी त्यसैलाई पत्याइरहेका छौँ । एक–दुई हुँदै एउटा फेक सूचना हजारौँकहाँ पुग्छ, अनि त्यसैलाई हामी सत्य मानिदिन्छौँ । विडम्बना, यही समस्याका कारण अहिले सत्य खबर पनि पत्याउन मुस्किल भइरहेको छ ।
स्कुलका बच्चाहरूमा पनि सामाजिक सञ्जालमा असर डरलाग्दोसँग बढिरहेको छ । घरमा आमाबुबा, स्कुलमा सरमिसहरूले चलाएको देखेर उनीहरू त्यसैलाई पछ्याउन थालेका छन् । अहिले युट्युबलगायत सञ्जालमा परिवारलाई लिएर राखिएका सामग्री र आएका कमेन्ट्सको ट्रेन्ड हेर्दा यसले परिवारलाई ध्वस्त बनाउँदै लगेको देखिन्छ ।
सामाजिक सञ्जालका कारण मान्छेका सम्बन्ध नै अप्ठेरो अवस्थामा पुगेको देखिन्छ । केही समयअघि मैले एउटा यस्तो जोडी भेटेँ कि उनीहरूबीच सामाजिक सञ्जालकै कारण द्वन्द्व सिर्जना भएको थियो । श्रीमान्को अन्त अफेयर भएको थाहा पाएपछि उनीहरू अहिले डिभोर्सको अवस्थामा पुगेका छन् ।
सामाजिक सञ्जाल साक्षरतामा पनि उस्तै समस्या देखिन्छ अहिले । जुन सूचना गलत छ, हामी त्यसैलाई पत्याइरहेका छौँ । एक–दुई हुँदै एउटा फेक सूचना हजारौँकहाँ पुग्छ, अनि त्यसैलाई हामी सत्य मानिदिन्छौँ । विडम्बना, यही समस्याका कारण अहिले सत्य खबर पनि पत्याउन मुस्किल भइरहेको छ ।
पल शाह प्रकरणमा पीडित गायिकाबारे जसरी सामाजिक सञ्जालमा गालीगलोजका प्रतिक्रिया आए, त्यसले हाम्रो समाजको चरित्र र अनुहार बोल्छ । सामाजिकस्तरबाटै हस्तक्षेपको सुरुवात भएन भने अब सामाजिक सञ्जालको आतंक र दुरुपयोगलाई नियन्त्रण गर्न गाह्रो हुन्छ ।
मान्छेहरू सामाजिक सञ्जालमा यति फुर्सदिला भए कि ति तपाईंले लेखेको लेख–रचना या आलोचनात्मक अभिव्यक्तिलाई लिएर तुच्छ गालीगलोजमा उत्रिन सक्छन् । राम्रै कुरा पनि उसलाई नराम्रो लाग्न सक्छ । नेपालमा सामाजिक सञ्जालमार्फत आक्रामक तरिकाले प्रस्तुत हुने जमात बढ्दै छ ।
सांसद सोविता गौतम प्रकरणलाई नै हेरौँ न । डिभोर्सी पुरुषसँग बिहे गर्नु उनको निजी मामिला थियो । तर, उनको त्यो निजी जीवनलाई लिएर मान्छेहरू गालीगलोजमा उत्रिए । त्यसको केही दिनपछि जब उनी विश्वका १५ कान्छी राजनीतिज्ञको सूचीमा मनोनित भइन्, त्यसपछि तिनै गाली गर्ने मान्छे सोवितालाई बधाई दिन थाले । यसको निष्कर्ष के हो भने सामाजिक सञ्जालमा यतिखेर दोहोरो चरित्रका मान्छे बढेको पाइन्छ । चाहे त्यो सोविताकै प्रकरण होस्, बलात्कारपीडित गायिकाको होस् । हिजोसम्म मनपरी गाली गर्नेहरू नै आज उनीहरूलाई ‘स्ट्रङ लेडी’ र ‘कंग्राचुलेसन्स्’ भन्न थालेका छन् ।
सामाजिक सञ्जालमा उपस्थित मानिसमा प्रस्ट विचार देखिँदैन । एउटाले गाली गर्यो भने त्यसकै पछि लागेर सबै गाली गर्नतिर लाग्छन् । कसैले केही राम्रो लेख्यो भने त्यसैलाई समर्थन गरेर सेयर गर्नेहरूको बाढी हुन्छ । यसले उनीहरूमा निजी विचारको अभाव देखिन्छ । सामाजिक सञ्जालका कारण ‘फेस टु फेस’ सम्बन्ध हराउँदै गएको पाइन्छ । कुनै समय मान्छेहरू भेट हुन्थे, आत्मीयता साट्थे, दुःखसुखका कुरा गर्थे, चिया पिउँथे, रमाइलो गर्थे । तर, सामाजिक सञ्जालले यो भौतिक भेटघाट र सम्बन्धलाई कमजोर बनाएको छ । अब मान्छेहरू फेसबुक, इन्स्टाग्राम र टिकटकमा फोटो भिडियो राखेर त्यसमै रमाउन थाले । संवाद पनि त्यही हुन थाल्यो । अनि फोटोमा लाइक र कमेन्ट कुर्दै र गन्दैमा दिन बित्न थाल्यो ।
सामाजिक सञ्जाल लत बन्दै छ मान्छेको । ऊ सामाजिक सञ्जालबाट टाढिएर शान्त बस्नै नसक्ने भइसकेको छ अहिले । हिजो मान्छेहरू शान्त थिए, शान्ति खोज्दै खोलाका किनार र जंगलतिर जान्थे, आफ्नै सुरले गीत गाउँथे, रमाइलो गर्थे । तर, अब मान्छेहरू त्यो चाहँदैनन् । मन शान्त देखिँदैन, बेचैन देखिन्छन् उनीहरू । जतिखेर पनि हातमा मोबाइल र सामाजिक सञ्जाल चाहिन्छ । आफूसँग सम्बन्धित नै नभएको विषयमा उसलाई लाइक र कमेन्ट्स नगरी चित्त बुझ्दैन । आफूले लेख्ने एउटा स्टाटस र कमेन्ट्सले समाजमा कति ठूलो असर गर्छ, त्यो सोच्नै छोड्यौँ हामीले । त्यसले कसैको ज्यानसम्म जान सक्छ भनेर हामी सचेत नै देखिँदैनौँ ।
सामाजिक सञ्जालमा सबैभन्दा बढी गाली महिलालाई गरेको देखिन्छ । पूर्वबैंकर रविना देशराज श्रेष्ठको बिहेलाई नै ताजा उदाहरण लिन सकिन्छ । त्यही उमेरका पुरुषले बिहे गर्दा नराम्रो प्रतिक्रिया या गाली आउँदैन, तर उनले आफ्ना प्रेमीसँग बिहे गर्दा मान्छेहरू भद्दा प्रतिक्रियासम्म उत्रिएको पाइयो । ७५ वर्षीया वृद्धले २१ वर्षकी युवतीलाई बिहे गर्दा सबैले बधाई दिने तर आफ्नै उमेरबराबरको पुरुषसँग बिहे गर्दा उल्टै महिलालाई दोषीझैँ गाली गर्ने ? यसको मतलब के हो भने सामाजिक सञ्जालले महिलालाई जानी–नजानी झन् होच्याइरहेको छ, अपमान गरिरहेको छ ।
सामाजिक सञ्जालले मानिसक समस्या बढाइरहेको छ । यसलाई वेलैमा नियन्त्रण गर्न सकिएन भने आत्महत्या दर बढाउँदै लग्ने निश्चित छ । एउटा दुई–अढाई वर्षको बच्चालाई घरमा खाना खुवाउनलाई मोबाइलमा कार्टुन देखाउनुपर्ने बाध्यता आयो अहिले । यस्तै बानी लगाएका कारण मेरै दिदीको छोरामा अहिले एउटा समस्या देखिन्छ । बच्चामा मोेबाइलमा भुलाउँदै पटमा ट्वाइलेट गराउने बानी लगाएका कारण अहिले ११ वर्षको हुँदा पनि ट्वाइलेट जाँदा मोबाइल अनिवार्य चाहिने भएछ ।
घरमा पाँचजनाको परिवार छ भने सबै एकसाथ माबोइलमै झुम्मिरहेका दृश्य हाम्रो समाजमा सामान्य भइसक्यो । श्रीमान् एउटा कुनामा, श्रीमती अर्को कुनामा अनि बालबच्चा आआफ्नै धुनमा । सामाजिक सञ्जालका कारण उनीहरू खाना पनि एक्लाएक्लै खान थालिसके । सामाजिक सञ्जालले नजिकको सम्बन्धमा जस्तो दूरी सिर्जना गरिरहेको छ, यो भविष्यका लागि राम्रो संकेत होइन । त्यसैले सामाजिक सञ्जालको व्यवस्थित प्रयोग र यसको अँध्यारो पाटोबारे अब पनि नसोच्ने हो भने परिवार र समाज दुवैका लागि यसले निम्त्याउने परिणाम सुखद हुनेछैन ।
(डा. उप्रेती समाजशास्त्री हुन्)