राष्ट्रिय वाणिज्य बैंकका प्रबन्धक शाहीलाई आठ वर्ष जेल

मंगलबार, १२ असार, २०८०
डिजिटल संस्करण

किर्ते कागज बनाई ऋण प्रवाह गरेको अभियोगमा राष्ट्रिय वाणिज्य बैंकको नेपालगन्जस्थित त्रिभुवनचोक कार्यालयका प्रबन्धक ललितकुमार शाही दोषी ठहर भएका छन् । उनका साथै रिजवान अहमदलाई समेत कैद तथा जरिवाना हुने फैसला भएको छ । 

विशेष अदालतको आइतबारको इजलासले प्रबन्धक शाहीलाई दोषी ठहर गर्दै आठ वर्ष कैद सजाय सुनाएको हो । उनलाई कैदका साथै एक करोड २५ लाख रुपैयाँ जरिवानासमेत हुने भएको छ । विशेषका अध्यक्ष शालिग्राम पौडेल र सदस्यहरू शालिग्राम कोइराला तथा खुसीप्रसाद थारूको इजलासबाट यस्तो फैसला भएको हो ।

इजलासले १ असारमै कसुर कायम गरे पनि तीन वर्षभन्दा बढी सजाय हुने भएकाले सजाय निर्धारणका लागि आइतबारको पेसी राखिएको थियो । विशेषका अनुसार शाहीका साथै यस मुद्दामा रिजवान अहमद जसगढ पनि दोषी पाइएका छन् । उनलाई विशेषले एक वर्ष ६ महिना कैद सजाय निर्धारण गरेको छ ।

यो मुद्दाका अन्य ६ प्रतिवादीले भने सफाइ पाएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शाही र अहमदसमेत आठजनालाई प्रतिवादी कायम गरी १४ पुस ०७७ मा अनियमितता मुद्दा दायर गरेको थियो । जसमा अढाई वर्षपछि फैसला गर्दै आंशिक कसुर ठहर हुने निर्णय अदालतबाट आएको हो । 

बाँकेको नेपालगन्ज उपमहानगरपालिकाको त्रिभुवन चोकस्थित राष्ट्रिय वाणिज्य बैंकको शाखाका प्रबन्धक शाहीसमेतका कर्मचारीले किर्ते कागजातका आधारमा किर्ते धितो मूल्यांकन गरी कर्जा प्रवाह गरेको भेटिएको थियो । यसबाट सरकारी सम्पत्तिको नोक्सानी भएको ठहरसहित अख्तियारले मुद्दा चलाएकोमा आंशिक ठहर हुने फैसला भएको हो । 

सुझावित समाचार