नेदरल्यान्ड्सले एकदिवसीय क्रिकेटमा पहिलोपटक वेस्ट इन्डिजमाथि सनसनी जित निकालेको छ । एकदिवसीय विश्वकप ग्लोबल छनोटको समूह ‘ए’मा नेदरल्यान्ड्सले वेस्ट इन्डिजलाई सुपर ओभरमा हराएको हो । नेदरल्यान्ड्सलाई ऐतिहासिक जित दिलाउने क्रममा अलराउन्डर लोगन भान बिकले उत्कृष्ट प्रदर्शन गरे । हरारे मैदानमा पहिलो ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर तीन सय ७४ रनको विशाल योगफल खडा गरेको थियो । प्रत्युत्तरमा नेदरल्यान्ड्सले ५० ओभरमा नौ विकेटको क्षतिमा तीन सय ७४ रन बनाएपछि खेल ‘टाई’ भयो ।
एकदिवसीय खेलमा नेदरल्यान्ड्सले वेस्ट इन्डिजविरुद्ध जोडेको रन सर्वाधिक योगफल हो । यसअघि नेदरल्यान्ड्सले एकदिवसीय खेलमा बर्मुन्डाविरुद्ध ३ सय १५ रन जोडेको थियो । सुपर ओभरमा नेदरल्यान्ड्सले पहिलो ब्याटिङ गरी एक ओभरमा विनाकुनै क्षति ३० रन जोडेको थियो । अलराउन्डर बिकले स्ट्राइक लिए । वेस्ट इन्डिजका अनुभवी बलर ज्यासन होल्डरले बलिङ गरेका थिए । बिकले होल्डरविरुद्ध तीन छक्का र तीन चौका प्रहार गर्दैै ३० रन बटुले ।
सुपर ओभरको पहिलो बलमा बिकले चौका, दोस्रो बलमा छक्का र तेस्रो बलमा चौका प्रहार गरे । त्यसपछि बिकले चौथो र पाँचौँ बलमा विशाल छक्का प्रहार गरेका थिए । उनले अन्तिम बलमा चौका हानेका थिए । सुपर ओभरमा वेस्ट इन्डिजलाई ३१ रन चाहिएको थियो । बलिङमा नेदरल्यान्ड्सका लागि बिक लोगनले बलिङ गरे । वेस्ट इन्डिजका जोनसन चाल्र्सले पहिलो बलमै छक्का प्रहार गरे । दोस्रो बलमा उनले एक रन लिए ।
बिकले तेस्रो बलमा एक रन दिएपछि नेदरल्यान्ड्स ऐतिहासिक जिततर्फ अग्रसर भयो । चौथो बलमा चाल्र्स क्याचआउट भएपछि वेस्ट इन्डिज हारतर्फ मोडियो । पाँचौँ बलमा सेफर्ड क्याचआउट भएपछि नेदरल्यान्ड्स सुपर ओभरमा विजयी भयो ।
जिम्बावे विशाल अन्तरले विजयी
समूह ‘ए’मा आयोजक जिम्बावेले अमेरिकालाई तीन सय चार रनको विशाल अन्तरले हराएको छ । एकदिवसीय खेलमा जिम्बावेले प्राप्त गरेको जित अन्तर दोस्रो ठूलो हो । पहिलो ब्याटिङ गरेको जिम्बावेले ५० ओभरमा ६ विकेट गुमाएर चार सय आठ रन बनाएको थियो । प्रत्युत्तरमा अमेरिका २५.१ ओभरमा एक सय चार रनमा समेटिँदा तीन सय चार रनको हार सामना गरेको हो ।
एकदिवसीय खेलमा भारतको नाममा विशाल रन अन्तर जित दर्ता छ । यसै वर्षको जनवरीमा भारतले श्रीलंकालाई तीन सय १७ रनले हराएको थियो । जिम्बावेको ब्याटिङमा सिएन विलियम्सले सर्वाधिक एक सय ७४ रनको योगदान दिएका थिए । उनले एक सय एक बलमा २१ चौका र पाँच छक्का प्रहार गरेका थिए । ओपनर जोयलोर्डले ७८ रन तथा सिकन्दर राजाले ४८ रन जोडे । रायन बुरलले १६ बलमा ४७ रन बनाए ।
सोमपालको स्थानमा महतो
एकदिवसीय विश्वकप ग्लोबल छनोटको सुपर सिक्समा स्थान बनाउन नसकेको नेपालले प्लेअफ खेलमा सोमपाल कामीको स्थानमा युवा बलर किशोर महतोलाई खेलाउने भएको छ । समूह ‘ए’को पहिलो खेलमा जिम्बावेविरुद्ध सोमपाल घाइते भएका थिए । सोमपाल अमेरिका, वेस्ट इन्डिज र नेदरल्यान्ड्सविरुद्ध खेल्न सकेनन् । सोमपाल गत आइतबार जिम्बावेका सेन विलियम्सको सट रोक्ने क्रममा घाइते भएका हुन् ।
इनिङ्सको ३४औँ ओभरमा घाइते भएपछि सोमपालको दायाँ हातको बुढीऔँलामा टाँका लगाइएको थियो । नेपाल क्रिकेट संघ (क्यान)ले आइसिसीसँग सोमपालको स्थानमा किशोरलाई खेलाउन स्वीकृति मागेको थियो । आइसिसीले सोमबार किशोरलाई खेलाउने स्वीकृति दिएको हो । जिम्बावे भ्रमणमा रहे पनि किशोर नेपालका १५ सदस्यभित्र रहेका थिएनन् । अब सोमपाल १५ सदस्यबाट बाहिर रहँदा किशोर भित्रिनेछन् ।
२३ वर्षीय तीव्र गतिका बलर किशोरले सन् २०२२ मा स्कटल्यान्डविरुद्ध डेब्यु गरेका थिए । नेपाल पहिलो खेलमा जिम्बावेसँग आठ विकेटले पराजित हुँदा दोस्रो खेलमा अमेरिकालाई ६ विकेटले हराएको थियो । तेस्रो खेलमा वेस्ट इन्डिजसँग एक सय एक रनले पराजित भयो । अन्तिम खेलमा नेदरल्यान्ड्ससँग सात विकेटले पराजित हुँदा नेपाल सुपर सिक्समा पुग्न असफल भएको थियो ।
प्लेअफमा युएईविरुद्ध खेल्ने
समूह ‘ए’बाट सुपर सिक्समा स्थान बनाउन नसकेको नेपाल र अमेरिकाले प्लेअफ खेल्ने भएका छन् । समूह ‘ए’मा जिम्बावे, वेस्ट इन्डिज र नेदरल्यान्ड्सले सुपर सिक्समा स्थान बनाएका छन् । समूह ‘बी’बाट श्रीलंका, स्कटल्यान्ड र ओमान अगाडि बढेका छन् । ६ टोलीबीच हुने सुपर सिक्सका शीर्ष दुई टोलीले भारतमा हुने विश्वकपमा स्थान बनाउनेछन् । अब प्लेअफमा समूह चरणबाटै बाहिरिने चार टोलीबीच सातदेखि दशौँ स्थानसम्मका लागि प्रतिस्पर्धा हुनेछ ।
समूह ‘ए’को चौथो स्थानमा रहेको नेपालले समूह ‘बी’को पुछारको युएईसँग खेल्नेछ । यसैगरी, समूह ‘बी’को चौथो स्थानको आयरल्यान्डले समूह ‘ए’को पुछारको अमेरिकासँग खेल्नेछ । विजेता टोलीले सातौँ र आठौँ स्थानका लागि खेल्नेछन् । पराजित टोलीले नवौँ र दशौँ स्थान प्राप्तिका लागि प्रतिस्पर्धा गर्नेछन् । प्लेअफ खेल ३० जुनदेखि ६ जुलाईसम्म चल्नेछ ।