आइसिसी एकदिवसीय विश्वकप क्रिकेटको ग्लोबल छनोटको तेस्रो खेलमा नेपाल र वेस्ट इन्डिजसँग भिड्दै छ ।
जिम्बावेको हरारेस्थित खेलमैदानमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको छ । एकदिवसीय म्याचमा नेपाल र वेस्ट इन्डिज पहिलोपटक आमने–सामने हुन लागेका हुन् ।
नेपालले आजको खेलमा अमेरिकासँगकै टिमलाई निरन्तरता दिएको छ । सिमर सोमपाल कामी चोटका कारण मैदानबाहिर रहेकाले उनको स्थान लिएका ललित राजवंशीबाट नेपालले आज निकै आशा गरेको छ ।
साथै, जारी प्रतिस्पर्धामा यसअघिका दुवै खेलमा विकेटविहीन रहेका स्टार स्पिनर सन्दीप लामिछानेको काँधमा आज निकै ठूलो जिम्मेवारी छ । नेपाली टिममा सन्दीप मात्र त्यस्ता खेलाडी हुन्, जसले विभिन्न देशमा टी–२० प्रतियोगिता खेलेका छन् । र, ती प्रतियोगितामा वेस्ट इन्डिजका खेलाडीसँगको अनुभव उनीसँग मात्र छ ।