आयरल्यान्डमाथि स्टकल्यान्डको सनसनी जित

बिहिबार, ७ असार, २०८०
डिजिटल संस्करण

टेस्ट मान्यताप्राप्त आयरल्यान्डले एकदिवसीय विश्वकप ग्लोबल छनोटमा लगातार दोस्रो खेलमा स्तब्ध नतिजा हात पारेको छ । जिम्बावेको बुलावायोमा बुधबार स्कटल्यान्डले आयरल्यान्डलाई अन्तिम बलमा सनसनी एक विकेटको जित निकालेको छ । ग्लोबल छनोटको समूह ‘बी’मा आयरल्यान्डले लगातार दोस्रो खेलमा हारको सामना गर्दा सुपर सिक्समा पुग्ने सम्भावना कमजोर बनेको छ । यसअघि पहिलो खेलमा आयरल्यान्ड ओमानसँग पनि पराजित भएको थियो । अर्को खेलमा ओमानले युएईमाथि जित निकाली सुपर सिक्सको यात्रा बलियो बनाएको छ । 

स्कटल्यान्ड अन्तिम बलमा विजयी
पहिलो ब्याटिङ गरेको आयरल्यान्डले ५० ओभरमा आठ विकेट गुमाएर दुई सय ८६ रन बनाएको थियो । प्रत्युत्तरमा स्कटल्यान्डले ५० ओभरमा नौ विकेटको क्षतिमा दुई सय ८९ रन बनायो । स्कटल्यान्डलाई इनिङ्सको अन्तिम ओभरमा जितका लागि आठ रन चाहिएको थियो । इनिङ्सको ४९.१ ओभरमा लेआस्कले चौका प्रहार गरे । ४९.३ ओभरमा स्कटल्यान्डले साफयानलाई गुमायो । नयाँ ब्याट्सम्यान क्रिस सोलेले रन लिन सकेनन् । 

४९.५ ओभरमा उनले एक रन लिए । इनिङ्सको अन्तिम बलमा सेट ब्याट्सम्यान माइकल लेआस्कले मार्क आदिलको बलमा चौका प्रहार गर्दै स्कटल्यान्डलाई रोमाञ्चक जित दिलाउन सफल भए । स्कटल्यान्डको जितमा माइकल लेआस्कले विस्फोटक ब्याटिङ गरेका थिए । उनले ६१ बलमा नौ चौका र चार छक्का प्रहार गरी सर्वाधिक ९१ रनको योगदान दिए । उनले साफयानसँग नवौँ विकेटका लागि ५० रनको साझेदारी गर्दै स्कटल्यान्डलाई जितनजिक पु¥याए । इनिङ्सको ४५ ओभरमा स्कटल्यान्ड २३४–८ को अवस्थामा थियो । स्कटल्यान्डका लागि मार्क वाटले ४३ बलमा ४७ रनको योगदान दिए । 

क्यामफेरको शतक ओझेलमा
आयरल्यान्डको ब्याटिङमा छैटौँ क्रममा ब्याटिङ गर्न आएका काउटिस क्यामफेरले शतकीय इनिङ्स खेले । उनी क्रिजमा आउनुअघि आयरल्यान्ड ७०–५ को स्थितिमा थियो । क्यामफेरले जर्जे डकक्रेलसँग छैटौँ विकेटका लागि १३६ रनको साझेदारी गर्दै आयरल्यान्डलाई ७०–५ बाट २०६–६ को स्थितिमा राखे । जर्जे म्याकमुलेनको ओभरमा आउट हुनुअघि ९३ बलमा ६९ रन जोडे । यसक्रममा उनले चार चौका र एक छक्का प्रहार गरे । क्यामफेरले १०८ बलमा नौ चौका र चार छक्का प्रहार गरे । बलिङको क्रममा ब्रान्डोन म्याकमुलेनले ३४ रन खर्चेर पाँच विकेट लिए । 

सुझावित समाचार