१० महिनामा भित्रियो १० खर्बभन्दा बढी विप्रेषण

शुक्रबार, २६ जेठ, २०८०
डिजिटल संस्करण

चालू आर्थिक वर्षको १० महिनामा कुल रु. १० खर्ब पाँच अर्ब विप्रेषण मुलुकभित्र भित्रिएको छ।

वैदेशिक रोजगारीमा जाने कामदारको संख्यामा बढोत्तरी भएको तथा वैधानिक तवरबाटै विप्रेषण भित्रन थालेकाले आप्रवाहमा सुधार देखिएको हो। 

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालू आर्थिक वर्षको १० महिनासम्मको विवरणअनुसार समीक्षा अवधिमा विप्रेषण आप्रवाह २३.४ प्रतिशतले वृद्धि भएको छ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ०.५ प्रतिशतले बढेको थियो।  अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३.४ प्रतिशतले वृद्धि भई सात अर्ब ७० करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह १.२ प्रतिशतले घटेको थियो।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत नयाँ) लिने नेपालीको संख्या ५१.४ प्रतिशतले वृद्धि भई चार लाख २१ हजार दुई सय ७९ पुगेको छ। 

त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ३.७ प्रतिशतले वृद्धि भई दुई लाख ३८ हजार नौ सय ७६ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १८५.५ प्रतिशतले बढेको थियो।

केन्द्रीय बैंकका अनुसार समीक्षा अवधिमा खुद ट्रान्सफर २२.५ प्रतिशतले वृद्धि भई रु. ११ खर्ब १० अर्ब २२ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ०.३  प्रतिशतले बढेको थियो। 

सुझावित समाचार