दीर्घरोगी र सुत्केरीलाई घरमै उपचार र औषधि

सोमबार, २२ जेठ, २०८०
डिजिटल संस्करण
दीर्घरोगी र सुत्केरीलाई घरमै उपचार र औषधि

हेलम्बु गाउँपालिकामा घरमै पुगेर बिरामीको स्वास्थ्य परीक्षण गर्दै स्वास्थ्यकर्मी ।

हेलम्बु गाउँपालिकाले दीर्घरोगी र सुत्केरीलाई घरघरमा पुगेर निःशुल्क स्वास्थ्य सेवा दिने गरेको छ । जनजीविकाको सवाललाई पहिलो प्राथमिकतामा राखेको हेलम्बु सरकारले ०७७ देखि सबै प्रकारका दीर्घरोगी र सुत्केरीलाई औषधि तथा उपचार प्रदान गरेको हो । 

गाउँपालिकाको वार्षिक कार्यक्रम, नीति तथा योजनामा दीर्घरोगीलाई औषधि, सुत्केरीलाई एक महिनासम्म एम्बुलेन्स, औषधि, पोषण र उपचार सेवा निःशुल्क गर्ने उल्लेख छ । सोही कार्यक्रमका आधारमा गाउँपालिकाले खटाएको स्वास्थ्य टोली स्थानीयको घरमा पुगेर सेवा उपलब्ध गराउँछन् । क्यान्सर, मिर्गौला, मुटु, दम, उच्च रक्तचाप, मधुमेहलगायत सबै प्रकारका दीर्घरोगीलाई घरमै पुगेर औषधि दिइन्छ । साथै, स्वास्थ्य टोलीले औषधि वितरणपछि सामान्य स्वास्थ्य अवस्था जाँचबुझ गरेर दीर्घ बिरामीलाई थप उपचार गर्नुपर्ने भए सिफारिससमेत गर्छन् ।

०७७ देखि निरन्तर चार सय ५० दीर्घरोगीले पालिकाबाट औषधि पाइरहेका छन् । हेलम्बु– २ का लाक्पा लामा क्यान्सरपीडित हुन् । उनलाई गाउँपालिकाले मासिक ५५ हजार पाँच सयको औषधि निःशुल्क उपलब्ध गराउँछ । ‘सरकारले मेरो ज्यान बचाएको छ,’ लाक्पाले भने । औषधि र सबैको मायाले शरीरमा थप जटिलता नथपिएको उनको अनुभव छ । 

हेलम्बु गाउँपालिका– ४ की सरस्वती तामाङ मुटुरोगी हुन् । उनलाई पालिकाले मासिक ३८ हजार पाँच सयको औषधि दिन्छ । आर्थिक समस्यामा रहेकी तामाङको ज्यान पनि गाउँपालिकाले नै बचाएको छ । ‘मासिक पाँच लाख ८० हजारको औषधि दीर्घरोगीलाई किन्ने गरिएको छ,’ स्वास्थ्य शाखा प्रमुख विदुर ज्योतिले भने । चार सय ५० दीर्घरोगीले दैनिक औषधि सेवन गर्छन् । मासिक १० हजारभन्दा माथिको औषधि खाने २० जनाभन्दा बढी छन् ।

स्वास्थ्य संस्थाबाट टाढा घर भएका दीर्घरोगीलाई घरमै औषधि पुर्याएकाले विकट गाउँमा खुसी छाएको छ । सुत्केरीलाई एक महिनासम्म सबै प्रकारका औषधि र फलोअप उपचार गाउँपालिकाले निःशुल्क बनाएको छ । सुत्केरी बेथा लागेको सूचना पाएपछि गाउँपालिकाले एम्बुलेन्स घरघरमै पठाउँछ । बर्थिङ सेन्टरमा ल्याएपछि पालिकाले एक हप्तासम्म उपचार र पोषण उपलब्ध गराउँछ । एम्बुलेन्सले घरमा पुर्याएपछि महिना दिनसम्मको फलोअप उपचार पनि घरमै पुगेर निःशुल्क प्रदान गरिन्छ । 

दोस्रो कार्यकाल सम्हालिरहेका गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले स्वास्थ्य र शिक्षा पूर्ण रूपमा निःशुल्क बनाउने अभियानमा रहेको बताए । सुत्केरी र दीर्घरोगीलाई पुर्याएको स्वास्थ्य सेवाले जनप्रतिनिधि जनताको नजरमा सेवक ठहरिएका छन् । ‘दोस्रो कार्यकाल पूरा हुँदासम्म स्वास्थ्य र शिक्षालाई पूर्ण रूपमा निःशुल्क बनाउने नीति गाउँ सभाबाट पारित गर्छु,’ शेर्पाले भने, ‘डाँडाकाँडालाई अनावश्यक भत्काएर पूर्वाधारको नाममा विकास गर्नुभन्दा पहिला नागरिकको जीवनमा परिवर्तन महसुस गराउने जनजीविकाको काम गर्छु ।’ स्वास्थ्य र शिक्षामा विकट गाउँका स्थानीयको पहुँच अझै नपुगेको उनले बताए । ६ वर्षको अवधिमा हेलम्बुका पाँच सय ७५ सुत्केरीले निःशुल्क सेवा लिएका छन् । 

सुझावित समाचार