नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले बाघ बुढो भएपछि फट्यांग्रा टिप्न थाल्ने भन्दै एमाले अध्यक्ष केपी ओलीमाथि व्यंग्य गरेका छन्।
आइतबार ओलीले प्रतिनिधिसभा बैठकमा आफूलाई गाली गर्नकै लागि मात्र भुटानी शरणार्थी प्रकरणमा मुछ्न खोजिएको भन्दै बाघले घाँस नखाने बताएका थिए। त्यसको प्रत्युत्तरमा माओवादी सांसदले यस्तो जवाफ दिएका हुन्।
‘उहाँले बाघ बुढो भए पनि घाँस खाँदैन भन्नुभयो। मेरा हजुरबाले भन्नुहुन्थ्यो मेरो कानमा, उहाँ (ओली)ले त्यो भन्दै गर्दा गुन्जियो– तन्नेरी छँदा बाघले घाँस खाँदैन। तर, बाघ बुढो भएपछि फट्यांग्रा टिप्न थाल्छ। त्यसैले फट्यांग्रा टिप्न पो लागेको हो कि हाम्रो प्रतिपक्ष,’ सांसद सापकोटाले भने।
सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा ओली नेतृत्वको सरकारका नीति तथा कार्यक्रमका विषयहरूसमेत रहेको उल्लेख गर्दै उनले एमालेले विरोधकै लागि मात्र विरोध गरिरहेको दाबीसमेत गरे।