पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा पाकिस्तान तेहरिक–ए–इन्साफ (पिटिआई) पार्टीका प्रमुख इमरान खान पक्राउ परेका छन् । एक मुद्दामा मंगलबार अदालतमा उपस्थित हुने क्रममा पूर्वप्रधानमन्त्री खान पक्राउ परेका हुन् । महिनौँ लामो राजनीतिक संकटपछि उनलाई इस्लामावाद उच्च अदालतबाहिर पक्राउ गरिएको हो ।
पक्राउलगत्तै खानलाई अदालत परिसरमा पहिलेदेखि तैनाथ सुरक्षाकर्मीको बख्तरबन्द गाडीमा राखेर लगिएको थियो । भ्रष्टाचारसम्बन्धी एक मुद्दाको सुनुवाइका लागि उनी अदालत पुगेका थिए । आफूमाथि लगाइएका सबै आरोप राजनीतिक रूपले अभिप्रेरित भएको भन्दै पूर्वप्रधानमन्त्री खानले तिनलाई अस्वीकार गर्दै आएका छन् ।
‘कादिर ट्रस्ट प्रकरण’मा परेको मुद्दाको सुनुवाइका लागि खान अदालत पुगेका थिए । सोही मुद्दाको विस्तृत अध्ययनका लागि पूर्वप्रधानमन्त्रीलाई पक्राउ गरिएको इस्लामावाद प्रहरीको आधिकारिक ट्विटमार्फत जानकारी दिइएको छ । स्थानीय टिभी च्यानलमा प्रसारित भिडियोमा देशका प्रधानमन्त्री भइसकेका खानलाई इस्लामावाद उच्च अदालत परिसरभित्र अर्धसैनिक रेन्जरले घेरेर बख्तर बन्द गाडीमा राख्दै गरेको देखिएको छ ।
‘हामी अदालतको बायोमेट्रिक कक्षमा पुग्दा दर्जनौँ रेन्जर फौजले हामीमाथि आक्रमण गरे,’ पिटिआईका अधिवक्ता अली बुखारीले भने, ‘उनीहरूले खानलाई कुटपिट गरे र घिसार्दै बाहिर निकाले ।’ पिटिआईका अर्का सदस्य अजहर मसवानीले इमरान खानलाई अदालतभित्रबाट ‘अपहरण’ गरिएको आरोप लगाएका छन् ।
पक्राउपछि अदालतबाहिर प्रहरी परिचालन गरिएको थियो । पक्राउपछि आदलत परिसरमा ठूलो संख्यामा इमरान खान समर्थक भेला भएका थिए । खानलाई कहाँ लगिएको हो भन्नेबारे केही खुलाइएको छैन । सन् २०१८ मा सत्तामा उनको उदयलाई समर्थन गरेको सेनासँग खानको सम्बन्ध पछिल्लो समय बिग्रिएको घटनालाई उनको पछिल्लो पक्राउसँग जोडेर हेरिएको छ । गतवर्ष उनी सत्ताच्युत भएका थिए । त्यसपछि उनले समयअगावै निर्वाचन गरिनुपर्ने भन्दै सरकारलाई दबाब दिँदै आएका छन् । गत नोभेम्बर महिनामा एउटा र्यालीमा खानमाथि गोली प्रहार गरिएको थियो । तर, सो हत्या प्रयासबाट उनी बच्न सफल भएका थिए ।
अदालतले जनायो पक्राउप्रति असन्तुष्टि
अदालतमा सुनुवाइका लागि आएका खानको पक्राउप्रति इस्लामावाद उच्च अदालतका मुख्य न्यायाधीशले असन्तुष्टि व्यक्त गरेका छन् । पूर्वप्रधानमन्त्रीलाई अदालत परिसरबाट पक्राउ गर्नु अदालतमाथिकै आक्रमण भएको आरोप न्यायाधीशले लगाएको अलजजिराले लेखेको छ । मंगलबार नै इस्लामावाद उच्च अदालतले उच्च राजनीतिक तथा प्रहरी अधिकारीलाई पूर्वप्रधानमन्त्री खानलाई अदालत परिसरबाट पक्राउ गर्नुको कारण दिन माग गरेको छ ।
इस्लावमाद उच्च अदालतका मुख्य न्यायाधीश अमेर फारुकले खान उनीविरुद्ध लागेको भ्रष्टाचार मुद्दाको सुनुवाइका लागि भौतिक उपस्थिति माग गरिएपछि अदालत गएको जानकारी दिएका छन् । त्यसका लागि खान लाहोरस्थित उनको आवासबाट संघीय राजधानी इस्लामावाद गएका थिए । तर, खान अदालतभित्र रहँदा रेन्जर फौजले अदालतको झ्यालको सिसा फोडेर भित्र पस्दै उनलाई पक्राउ गरेको थियो ।
पक्राउबारे जवाफ दिन उच्च अदालतका मुख्य न्यायाधीश फारुकले गृहसचिव, इस्लामावादका आइजिपी र अन्य अधिकारीलाई बोलाएका थिए । मुख्य न्यायाधीश फारुकले इस्लामावाद प्रहरी प्रमुखले जवाफ नदिए प्रधानमन्त्रीलाई बोलाउने चेतावनी दिएपछि आइजी अकबर नासिर खान अदालत उपस्थित भए । अदालतमा आइजी नासिर खानले पूर्वप्रधानमन्त्री खानलाई नेसनल एकान्टिबिलिट ब्युरोले भ्रष्टाचारको मुद्दा सम्बन्धमा पक्राउ गरेको जानकारी दिए ।
पक्राउको विरोधमा देशभर प्रदर्शन
खानको पक्राउपछि उनका समर्थक विरोधमा उत्रिएका छन् । हजारौँको संख्यामा समर्थक राजधानी इस्लामावाद, कराची, लाहोर, पेसावर र अन्य सहरमा देखिएको अलजजिराले लेखेको छ । राजधानीमा सयौँको संख्यामा रहेका खानका समर्थकले मुख्य कास्मिर राजमार्ग अवरुद्ध गरेका थिए । त्यस्तै लाहोरमा प्रदर्शनकारी इमरान खानको जमन पार्कस्थित आवासबाहिर विरोध गर्न भेला भएका थिए । लाहोरका कैयौँ स्थानमा टायर बालेर सडक अवरुद्ध पारिएको छ ।

पाकिस्तानको आर्थिक केन्द्र मानिने कराचीमा पनि खानको दल पिटिआईका कार्यकर्ता सडकमा निस्किएका छन् ।
इमरान खानको पक्राउपछि पाकिस्तानमा कैयौँले ट्विटर नखुलेको गुनासो गरेका छन् । विभिन्न वेबसाइटमा आउने अवरोधको अनुगमन गर्ने अनलाइन सेवा डाउनडिटेक्टरले पनि पाकिस्तानमा ट्विटर पहुँच रोकिएको उच्च रिपोर्ट आएको जानकारी दिएको छ ।