अझ धेरै गर्नु छ पत्रकारलाई जोगाउन

आइतबार, २४ बैशाख, २०८०
डिजिटल संस्करण

आइसिएफजे र युनेस्कोको सर्वेक्षण प्रतिवेदनले महिलाविरुद्ध हुने अनलाइन हिंसालाई प्रेस स्वतन्त्रताका लागि एक गम्भीर समकालीन खतरा बताएको छ

विश्वका हरेक कुनामा पत्रकारलाई सताउने र थुन्ने दर निराशाजनक ढंगले बढिरहेको छ । त्यसैगरी कैयौँ पत्रकार आफ्नो पेसागत कर्तव्य निभाएकै कारण मारिँदै छन् । यो वर्षको विश्व प्रेस स्वतन्त्रता दिवस मनाउँदै गर्दा पत्रकारलाई दैनन्दिन आउने धम्की हाम्रा लागि सबैभन्दा ठूलो चिन्ताको विषय बनेको छ । त्यसैगरी, हामीले सारा विश्वभर प्रेस स्वतन्त्रताको पूर्ण प्रत्याभूति गराउन पनि निकै काम गर्नुपर्ने देखिन्छ ।

कमिटी टु प्रोटेक्ट जर्नलिस्ट (सिपिजे) अनुसार सन् २०२२ मा पत्रकार मारिएका घटनामा बढोत्तरी भएको छ । सन् २०२२ मा कार्यस्थलमा ६७ जना पत्रकार मारिएका छन् र यो संख्या सन् २०२१ को तुलनामा ५० प्रतिशतले बढी हो । युक्रेनमा भइरहेको विनाशकारी युद्धले पत्रकारको ज्यान लिने क्रमलाई बढाएको छ । यति मात्रै नभई विशेषतः मेक्सिको र हैटीजस्ता मुलुकमा अग्रपंक्तिमा गएर रिपोर्टिङ गर्ने वा पुलिस, राज्य र आतंककारीको सामना गर्ने पत्रकार पनि मारिँदै छन् । 

इजरायल र अतिक्रमित प्यालेस्टिनी भूमिमा पनि पत्रकार मारिँदै छन् । मे २०२२ मा इजरायली सेनाले अतिक्रमित वेस्ट बेंकको जेनिन क्षेत्रको प्यालेस्टिनी शरणार्थी शिविरमा छापा मार्दा रिपोर्टिङ गरिरहेकी प्यालेस्टिनी मूलकी वरिष्ठ अमेरिकी पत्रकार सिरिन अबु अक्लेहको इजरायली सेनाले हत्या गरेको थियो ।

सिपिजेले सन् २०२२ मा कीर्तिमानी स्तरमा पत्रकारलाई थुनेको घटनालाई बाहिर ल्याइदिएको छ । यसले पनि विश्वस्तरमा प्रेस स्वतन्त्रता खस्किँदै गरेको यथार्थ देखाउँछ । सन् २०२२ मा विश्वका ३० भन्दा बढी मुलुकमा तीन सय ६३ जना पत्रकार थुनिएका छन् र इरान, चीन तथा म्यानमार सबैभन्दा बढी पत्रकार थुनिने मुलुक हुन् । यो सन् २०१५ को आँकडाको तुलनामा दुई गुणाले बढी हो र पत्रकारलाई जेलमा थुन्ने विषयको अभिलेख राख्न सुरु गरेयता अर्थात् तीन दशकदेखिकै सबैभन्दा ठूलो संख्या हो ।

हालै वाल स्ट्रिट जर्नलका पत्रकार इभान गेस्र्कोभिचलाई मस्कोमा ‘जासुसी’को आरोपमा गिरफ्तार गरिएको छ भने चीनका अग्रणी पत्रकार दोङ युयुले अतिरञ्जित जासुसीको मुद्दा खेपिरहेका छन् । यी दुवै गिरफ्तारीले दुई अधिनायकवादी मुलुकमा प्रेस स्वतन्त्रताको हरण गर्ने उद्देश्यले पत्रकारमाथि आक्रमण गरिएको प्रमाण दिएका छन् । चिनियाँ पत्रकार युयु राज्यको एक ठुलो मिडिया गवाँङमाङ दैनिकमा सम्पादक एवं टिप्पणीकारका रूपमा काम गर्छन् । उनी सन् २००७ मा हार्वर्ड विश्विद्यालयका निइमेन फेलो थिए र जहाँ उनलाई मैले भेट्ने मौका पाएको थिएँ । उनमा तुरुन्तै विश्लेषण गर्ने क्षमता भएको र चीनका चुनौतीको स्पष्ट व्याख्या गर्ने खुबी भएको पाएको थिए । उनलाई गत वर्ष गिरफ्तार गरियो र जब १० वर्षको सजायको माग गर्दै सुनुवाइ सुरु भयो, तब परिवारका सदस्य आमजनतामाझ पुगेका थिए ।

रुस आधारित वाल स्ट्रिट जर्नलका रिपोर्टर गेस्र्कोभिच मार्चमा रिपोर्टिङका क्रममा पक्राउ परेका थिए । उनी रुसी सुरक्षा संयन्त्रबाट पक्राउ पर्ने शीतयुद्धयताकै पहिलो अमेरिकी पत्रकार हुन् । वाल स्ट्रिट, ह्वाइट हाउस र विश्वभरका प्रेस पैरवी समूहले रुसले गेस्र्कोभिचमाथि लगाइएको जासुसको आरोपलाई खण्डन गर्दै शीघ्र रिहाईको माग गरेका छन् ।

अवैधानिक पक्राउ, गिरफ्तारी र हत्याबाहेक पनि पत्रकारलाई सताउने लहर विश्वभर फैलिँदो क्रममा छ । दैनिकजसो हुने यस्ता घटनामा प्रायः महिला पत्रकार तारो बन्ने गरेका छन् । पाकिस्तानकी घरिदा फारुकीजस्ता पत्रकारविरुद्ध एक विषाक्त अभियान नै चलाएर तुच्छ दुर्व्यवहार भइरहेको छ । फारुकीको संघर्षले वैश्विक अनलाइन दुर्व्यवहारको महामारीलाई दर्साउँछ । यस महामारीमा फिल्डमा रिपोर्टिङ गर्दा होस् वा अन्तर्वार्ता लिँदा होस् वा कुनै सार्वजनिक कार्यक्रममा उपस्थित हुँदा होस्, हजारौँ महिला पत्रकारको आवाज दबाउने, अपमान र आक्रमण गर्ने प्रयत्न हुन्छ ।

वासिंटन आधारित गैरनाफामूलक संस्था इन्टरनेसनल सेन्टर फर जर्नलिस्ट (आइसिएफजे) र युनेस्कोले करिब सात सय महिला पत्रकारमाझ एक सर्वेक्षण गरेको छ । सर्वेक्षणले चारमध्ये तीन महिला पत्रकारले पेसा अपनाएका कारण अनलाइन दुर्व्यवहार खेपेको बताएका छन् । करिब ३० प्रतिशत उत्तरदाताले आफूले सेल्फ–सेन्सरसिप (कसैको प्रत्यक्ष दबाबविनै समाचार सम्प्रेषणमा रोक लगाउने काम) गरिरहेका छन् भने करिब ३९ प्रतिशत उत्तरदाता इन्टरनेटमा आफूलाई सकेसम्म प्रस्तुत गराउँदैनन् । सर्वेक्षण प्रतिवेदनले ‘महिलाविरुद्ध हुने अनलाइन हिंसा प्रेस स्वतन्त्रताका लागि अन्तर्राष्ट्रियस्तरमै एक गम्भीर समकालीन खतरा हो’ भन्ने जनाएको छ ।

यी दुर्व्यवहारमा परेका पत्रकारका पक्षमा ऐक्यबद्धता जनाउँदै ‘ग्राउन्ड ट्रुथ’ प्रोजेक्ट सिपिजे, नेमन फाउन्डेसन र अन्य पैरवी संस्थासँग जोडिएर पत्रकारको हत्या, अवैधानिक गिरफ्तारी र दुर्व्यवहारका मामिलामा न्यायको माग गर्छ । ग्राउन्ड ट्रुथ प्रोजेक्टले गेस्र्कोभिच र युयुको रिहाईको मागसँगै म्यानमार, इरान, इजिप्ट, निकारागुवालगायत मुलुकमा अवैधानिक रूपमा गिरफ्तार गरिएका पत्रकारको रिहाईको माग गरेको छ । संस्थाले रिपोर्ट फर द वर्ल्ड कार्यक्रमलाई विस्तार गर्दै छ, जसले विश्वभरका ती मुलुकमा स्वतन्त्र मिडियालाई समर्थन गर्ने प्रयास गर्छ, जहाँ हामीले स्थानीय पत्रकारिताको क्षय लोकतन्त्रको क्षयसँग समानान्तर चलिरहेको देखिरहेका हुन्छौँ ।

यस वर्षको विश्व प्रेस स्वतन्त्रता दिवस मनाउँदै गर्दा हामी सबैलाई आवश्यक पर्ने समाचार घरघरमा पुर्याउन र निडर भई विश्वका सबैभन्दा चुनौतीपूर्ण ठाउँमा काम गर्ने पत्रकारलाई स्वतन्त्र हुनुको प्रत्याभूति गर्न आफूले गर्न सक्ने सबै सहयोग गर्न आग्रह गर्छौं ।

(सेनोट ‘ग्राउन्ड ट्रुथ’ प्रोजेक्टका संस्थापक एवं प्रधानसम्पादक हुन्) 
अल जजिराबाट

 

See More On

सुझावित समाचार