वर्षाका कारण सबै खेल प्रभावित

आइतबार, १७ बैशाख, २०८०
डिजिटल संस्करण

शनिबार स्थगित भएका तीनै खेल आइतबार हुने एन्फाले जनाएको छ 

सहिद स्मारक ‘ए’ डिभिजन लिग ०७९–८० अन्तर्गत शनिबारका तीनै खेल वर्षाका कारण प्रभावित भएका छन् । वर्षाका कारण च्यासल मैदानमा संकटा र जावलाखेल युथ क्लबबीचको खेल रोकियो । यसैगरी, दशरथ रंगशालामा त्रिभुवन आर्मी र हिमालयन शेर्पा क्लबबीचको खेल दोस्रो मध्यान्तरपछि स्थगित भयो । शनिबार साँझ ६ बजेको चर्च ब्वाइज युनाइटेड र मनाङ मस्र्याङ्दी क्लबबीचको खेल सुरु हुनै सकेन ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले वर्षाले प्रभावित भएर शनिबार रोकिएकोसँगै अन्य खेल आइतबार हुने बताएको छ । यस खेलसँगै डबल लिगको पहिलो चरण समाप्त हुनेछ । हिमालयन र आर्मीबीचको दोस्रो हाफको २७औँ मिनेट खेल चलिरहँदा वर्षाका कारण रेफ्रीले खेल रोकेका थिए । आइतबार १–१ गोलको स्थितिमै आर्मी र हिमालयनबीचको खेल दशरथ रंगशालामा साढे ४ बजे हुनेछ । खेलको ३३औँ सेकेन्डमै आर्मीका नवयुग श्रेष्ठले अग्रता बनाएका थिए । नवयुगले जिलेस्पीजंग कार्कीको पास सदुपयोग गरेका थिए ।

खेलको ५५औँ मिनेटमा कप्तान विश्वास श्रेष्ठले फ्रिकिकमार्फत हिमालयनलाई १–१ को बराबरीमा ल्याएका हुन् । च्यासल मैदानमा दोस्रो हाफको पाँच मिनेट चलिरहँदा संकटा र जावलाखेलबीचको खेल रोकिन पुगेको थियो । ३४औँ मिनेटमा चाडका फोडे फोफनाले भारतीय खेलाडी राहुल राहुलको पासमा जावलाखेललाई अग्रता दिलाएका थिए । 

यो खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा १ बजे हुनेछ । १३औँ चरणको अन्तिम खेलमा चर्च ब्वाइज र मनाङबीच सातदोबाटोस्थित एन्फा कम्प्लेक्समै हुनेछ । यसैगरी, मच्छिन्द्र फुटबल क्लब र सातदोबाटो युथबीचको खेल दशरथ रंगशालामा ६ बजे सुरु हुनेछ ।

सुझावित समाचार