प्रमुख प्रतिपक्षी एमालेले संसदीय समितिमा रहने सदस्यको नाम संसद् सचिवालयलाई बुझाएको छ ।
एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले बिहीबार प्रतिनिधिसभाका दशवटा विषयगत समितिमा दलबाट प्रतिनिधित्व गर्ने सदस्यको नाम सचिवालयलाई बुझाएका हुन् ।
संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले प्रमुख प्रतिपक्षी एमालेबाट संसदीय समितिमा सदस्य रहने सांसदहरूको नाम प्राप्त भएको बताए । उनका अनुसार सत्तारुढ कांग्रेस र माओवादीले शुक्रबार बिहान नाम बुझाउने प्रतिबद्धता जनाएका छन् । अन्य दलले यसअघि नै समितिमा नाम उपलब्ध गराइसकेका छन् ।
एमालेबाट नाम प्राप्त भएको र सत्तारुढ दलले बिहान नाम उपलब्ध गराउने भएपछि संसद् सचिवालयले शुक्रबारको प्रतिनिधिसभाको सम्भावित कार्यसूचीमा समिति गठनको विषय राखेको छ ।
उक्त कार्यसूचीमा ‘सभामुखले प्रतिनिधिसभा नियमावली २०७९ को नियम १७३ बमोजिम १० वटा विषयगत समितिमा रहनुहुने माननीय सदस्यहरूको नाम मनोनयनका लागि प्रस्ताव गर्नुहुने,’ उल्लेख छ।
एमाले संसदीय दलले संसद् सचिवालयले बुझाएको नामावलीअनुसार अर्थ समितिमा विष्णु पौडेल, पदम गिरी, जुली महतो, सूर्य थापा, भगवती चौधरी, अमर रायमाझी, नारायणप्रसाद आचार्य र रणकुमारी बलम्पाकी मगरको नाम मनोनयनका लागि पठाएको छ ।
अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा केपी शर्मा ओली, भीम आचार्य, हरि उप्रेती, सुनीता बराल, देवीप्रकाश भट्टचन, एकनाथ ढकाल, सम्झना थपलिया र दामोदर बैरागीलाई सिफारिस गरेको छ ।
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा रघुवीर महासेठ, शान्ति चौधरी, अमृतादेवी अग्रहरी, हेमराज राई, लालप्रसाद साँवा, रामशंकर यादव, मंगलप्रसाद गुप्ता र लक्ष्मी महतो कोइरीको नाम पठाएको छ । कर्तव्य ज्यान मुद्दामा कोइरी फरार छन् ।
कानुन, न्याय तथा मानवअधिकार समितिमा सुवास नेम्वाङ, महेश बर्ताैला, मनबहादुर गुरुङ, किरणकुमार साह, नैनकला थापा, प्रतीक्षा तिवारी र चन्द्रबहादुर विश्वकर्माको नाम पठाएको छ ।
कृषि, सहकारी तथा प्राकृतिक स्राेत समितिमा ज्वालाकुमारी शाह, सूर्यप्रकाश ढकाल, बिजुला रायमाझी, सरस्वती सुब्बा, अमृतलाल राजवंशी, गंगाप्रसाद यादव, मानवीर राई र सूर्यकुमारी श्रेष्ठको नाम सिफारिस गरिएको छ ।
महिला तथा सामाजिक मामिला समितिमा टोपबहादुर रायमाझी, ईश्वरीबहादुर रिजाल, शान्ति श्रेष्ठ, शोभा ज्ञवाली, हर्कमाया विश्वकर्मा, आश्मा चौधरी र विना देवीलाई पठाएको छ ।
राज्यव्यवस्था तथा सुशासन समितिमा पृथ्वीसुब्बा गुरुङ, कृष्णगोपाल श्रेष्ठ, रघुजी पन्त, लीलानाथ श्रेष्ठ, राजेन्द्रकुमार राई, बलराम अधिकारी, वासुदेव घिमिरे र मेनकाकुमारी पोखरेलको नाम सिफारिस गरिएको छ ।
पूर्वाधार विकास समितिमा गोकर्ण विष्ट, ठाकुर गैरे, वसन्त नेम्वाङ, महेश बस्नेत, निर्मला कोइराला (देवकोटा), दयालबहादुर शाही, प्रेमबहादुर महर्जन र राजकुमार गुप्तालाई पठाइएको छ ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छविलाल विश्वकर्मा, विद्या भट्टराई, प्रभु हजारा दुसाध, ईश्वरी घर्ती, सरिता भुसाल, दीपा शर्मा, उर्मिला थेबे र कालुराम राईको नाम सिफारिस गरिएको छ ।
सार्वजनिक लेखा समितिमा योगेश भट्टराई, गोकुल बाँस्कोटा, अच्युतप्रसाद मैनाली, दामोदर भण्डारी, ऋषिकेश पोखरेल, सराज अहमद फारुकी, तारा लामा तामाङ र रुक्मणि राना बराइलीको नाम सिफारिस गरिएको एमाले संसदीय दलले जनाएको छ । प्रमुख सचेतक गिरीले संयुक्त समितिको नाम पछि उपलब्ध गराउने बताए ।
११ वैशाखमा तीन दलका शीर्ष नेताबीच भएको सहमतिअनुसार एमालेले प्रतिनिधिसभातर्फ लेखा र एउटा अन्य (अर्थ) समितिको सभापति पाउने तय भएको छ । संयुक्ततर्फ राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समिति एमालेले पाउनेछ ।
कांग्रेस सांसद रामहरि खतिवडाले पार्टीले नाम छनोट गरिसकेको र शुक्रबार सभामुखलाई बुझाउने बताए । ‘हाम्रोतर्फबाट करिब नाम छनोट भइसकेको छ । संवैधानिक परिषदमा एमालेले बखेडा झिक्दा समिति गठनमा विलम्ब भयो । शुक्रबार नाम बुझाउँछौँ,’ उनले भने ।