अमेरिकी राष्ट्रपति जो बाइडेन र उनको टोलीले अर्को साता पुनः चुनावी अभियान घोषणा गर्ने तयारी गरिरहेकाे छ।
राष्ट्रपतिका सहयोगीहरूले राष्ट्रपतिलाई आधिकारिक रूपमा आफ्नो अभियान सुरु गर्न एउटा भिडियो जारी गर्ने योजनालाई अन्तिम रूप दिइरहेको वासिङटन पोस्टले उल्लेख गरेको छ।
द वासिङटन पोस्टका अनुसार राष्ट्रपति बाइडेन र उहाँका सहयोगीले मंगलबार बाइडेनको सन् २०२० अभियान सुरुवातको चारवर्षे वार्षिकोत्सवको अवसरमा भिडियो जारी गर्ने निर्णय गरेका छन्।
राष्ट्रपति बाइडेनले महिनौँदेखि आफू दोस्रो कार्यकालका लागि उम्मेदवार हुने योजनाको संकेत गरे पनि आधिकारिक घोषणा भने गरेका छैनन्।
राष्ट्रपतिका शीर्ष सहयोगीहरूले चुपचाप चुनावी दौडका लागि व्यापक तयारी गरेका छन्। त्यसका निम्ति उनीहरूले राष्ट्रपति र प्रथम महिलासँग गत वर्षदेखि ह्वाइटहाउस निवासमा नियमित भेटघाट गर्दै छन्।
बाइडेनका दुई शीर्ष सल्लाहकार अनिता डन र जेन ओमाली डिलनले पुनः निर्वाचन प्रयासको निरीक्षण गर्दै आएका छन्।
शीर्ष भूमिकाका लागि कर्मचारीको अन्तर्वार्तासहित उनीहरू आन्तरिक तयारीमा होमिएका छन्। उता डेमोक्रेटिक राष्ट्रिय समितिले चुनावी परिदृश्य अध्ययन गर्न अनुसन्धान परियोजनाहरूलाई आर्थिक सहयोग गरिरहेको छ।