जावलाखेल शीर्ष स्थानमा उक्लिँदा चर्च ब्वाइज बराबरीमा रोकियो

मंगलबार, २१ चैत, २०७९
डिजिटल संस्करण

सातदोबाटो युथ क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै ललितपुरे टोली जावलाखेल युथ क्लब राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ।

ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न खेलमा सातदोबाटोलाई सुरुवातबाटै दबाब दिएर खेल्दा सुखद् नतिजा निकाल्न सफल भएको हो। 

निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको खेलमा जावलाखेलका दुवै टोली विदेशी खेलाडीले गर्दा सातदोबाटोका लागि दीपकराजसिंह ठकुरीले सान्त्वना गोल फर्काएका थिए। जावलाखेलका लागि फोडे फोफना र एनकोटो मोसाबीले गोल गरेका थिए।

सिजनको अप्रत्यसासित नतिजासहित जारी लिगमा राम्रो खेलिरहेको जावलाखेलविरुद्ध सातदोबाटोले सुरुवात भने आक्रामक खेलेको थियो। तर, बलियो जावलाखेलको रक्षापंक्तिले विफल बनाउन सफल भएको थियो। तर, पहिलो हाफको अन्त्यतिर काउन्टरको प्रयास गरेको जावलाखेलले ४३औँ मिनेटमा अग्रता निकाल्न सफल भएको थियो। खराब फाउलका कारण पेनाल्टी पाएको जावलाखेलका लागि फोफानाले पेनाल्टीमार्फत गोल अग्रता दिलाएका थिए। 

पहिलो हाफमा एक गोलको अग्रता बनाएको जावलाखेलले दोस्रो हाफको सुरुवाती पाँच मिनेटपछि नै अग्रता दोब्बर बनायो। ५०औँ मिनेटमा सिनोस मासोबीले गोल गर्दै अग्रता दोब्बर बनाएका थिए। 

दुई गोलले पछि रहेको सातदोबाटोका लागि दीपकसिंह ठकुरीले गोल गर्दै खेलमा फर्काउने प्रयास गरे पनि बाँकी समयमा थप गोल हुन सकेन र जावलाखेलले रोमाञ्चक जित निकाल्यो। यस जितेसँगै जावलाखेलको ६ खेलबाट १३ अंक छ भने सातदोबाटोको १२ अंक छ।

लिगअन्तर्गत मंगलबार नै च्यासल मैदानमा भएको खेलमा न्युरोड टिम एनआरटी र चर्च ब्वाइज युनाइटेडले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन्। प्रतिस्पर्धात्मक बनेको खेलमा चर्च ब्वाइजले सुरुवाती अग्रता लिए पनि जोगाउन असफल रहेको थियो। खेलको २०औँ मिनेटमा आशिष चौधरीले गोल गर्दै चर्च ब्वाइजलाई सुरुवाती अग्रता दिलाएका थिए। 

६२औँ मिनेटमा कप्तान अनन्त तामाङले गोल गर्दै चर्च ब्वाइजको अग्रता २–० पुर्‍याएको खेलमा ७१औँ मिनेटमा रोशन खड्कीले गोल गर्दै एनआरटीलाई २–१ को स्थितिमा ल्याएका थिए। 

त्यसपछि खेलको इन्जुरी समयमा सरोज तामाङले गोल गर्दै एनआरटीलाई २–२ गोलको बराबरीमा ल्याउँदै एनआरटी हारबाट जोगिएको हो। यस बराबरीसँगै एनआरटीले ६ खेलमा ३ अंक जोडेको छ। एनआरटी १३ औँ स्थानमा रहेको छ। यस्तै, स्टार खेलाडीले भरिएको चर्च ब्वाइजले ६ खेलमा १२ अंक जोडेको छ। चर्च ब्वाइज तेस्रो स्थानमा रहेकोछ।

सुझावित समाचार