कोभिड–१९ महामारी उच्च बिन्दुमा पुगेको समयमा अमेरिकीहरूको हिँडाइमा कमी आयो, जुन प्रवृत्ति अझै विद्यमान रहेको एक नयाँ अध्ययनले देखाएको छ । ‘औसतमा अहिले मानिसहरूले महामारीपूर्वको भन्दा प्रतिदिन लगभग ६०० कदम कम चालिरहेका छन्,’ अमेरिकाको नासभिले स्थित भान्डेरबिल्ट युनिभर्सिटी मेडिकल सेन्टरको कार्डियोभास्कुलर मेडिसिनका सह–प्राध्यापक एवं अध्ययनका लेखक डा. इभान ब्रिटान भन्छन्, ‘यसको मूल सन्देश जनस्वास्थ्यको हो । गतिविधिको सन्दर्भमा कोभिड–१९ ले मानिसको व्यवहारमा स्थायी प्रभाव पारेको देखिन्छ । यसबारे सचेतना जगाउनु जरुरी छ ।’
अध्ययनमा नेसनल इन्स्टिच्युट अफ हेल्थको ‘अल अफ अस रिसर्च प्रोग्राम’अन्तर्गत लिइएको तथ्यांकलाई प्रयोग गरिएको थियो, जुन तथ्यांक व्यक्तीकृत स्वास्थ्य हेरचाह विकास गर्ने तौरतरिका पहिचानमा केन्द्रित थियो । यो कार्यक्रममा सहभागी ६ हजार सहभागीमध्ये धेरैले केही वर्षसम्म दिनको कम्तीमा १० घन्टा हिडाइलाई ट्र्याक गर्ने डिभाइस पहिरिएका थिए । अनुसन्धानकर्ताले उनीहरूबाट डिभाइसले लिएको स्वास्थ्यसम्बन्धी जानकारीहरूको रेकर्डलाई अध्ययनमा प्रयोग गरेका हुन् ।
ब्रिटान र उनका सहकर्मीले यो डाटाको अध्ययनबाट अधिक वजन भएका व्यक्तिले प्रतिदिन लगभग ६ हजारदेखि ११ हजार पाइला हिँडे भने मोटोपनसँग सम्बन्धित जोखिम ६४ प्रतिशतले कम गर्न सक्ने पनि पत्ता लगाए । सोमबार जामा नेटवर्क ओपनमा प्रकाशित यो नयाँ अध्ययनमा अनुसन्धाताले ५५ सय पाइलाभन्दा कम हिँडेका सहभागीको संकलित स्वास्थ्यसम्बन्धी जानकारीको तुलनात्मक अध्ययन गरेका थिए । उनीहरूमध्ये अधिकांश औसतमा ५३ वर्ष उमेरका श्वेत महिला थिए । सहभागीहरूबाट १ जनवरी २०१८ देखि सन् २०२० को ३१ जनवरीबीचको ‘स्टेप काउन्ट’ (पाइलाको गणना) गरिएको थियो, जसलाई कोभिडपूर्वको भनिएको छ भने २०२० को फेब्रुअरीदेखि सन् २०२१ को अन्तिमसम्म लिइएको तथ्यांकलाई कोभिडपछिको प्रवृत्तिका रूपमा लिइएको छ ।
नतिजामा लिंग, मोटोपन, मधुमेहका साथै कोरोनरी धमनीसम्बन्धी रोग, उच्च रक्तचाप तथा क्यान्सरजस्ता अन्य रोग वा अवस्थाका मानिसमा समानता थियो । सबैभन्दा धेरै हिँडाइ सामाजिक तथा आर्थिक रूपमा विपन्न, मनोवैज्ञानिक तनावमा रहेका र खोप नलगाएकाहरूको घटेको पनि अध्ययनले देखाएको छ ।
सहभागीहरूको १ जनवरी २०१८ देखि सन् २०२० को ३१ जनवरीबीचको ‘स्टेप काउन्ट’ (पाइलाको गणना) गरिएको थियो, जसलाई कोभिडपूर्वको भनिएको छ भने २०२० को फेब्रुअरीदेखि सन् २०२१ को अन्तिमसम्म लिइएको तथ्यांकलाई कोभिडपछिको प्रवृत्तिका रूपमा लिइएको छ ।
उमेरअनुसार पनि अनपेक्षित तरिकाले हिँडाइमा फरक परेको पाइयो । ६० वर्षभन्दा माथिका व्यक्तिहरूको हिँडाइ दरमा महामारीको प्रभाव देखिएन । उनीहरू पहिलेजति नै हिँडिरहेको पाइए । यसविपरीत १८ देखि ३० वर्षबीचका युवाहरूको हिँडाइ भने सबैभन्दा प्रभावित पाइएको ब्रिटान बताउँछन् । ‘उमेरमा हरेक १० वर्षको अन्तरालमा प्रतिदिनको हिँडाइ औसतमा २४३ पाइला घटेको देखियो,’ उनले भने । ‘यदि यो प्रवृत्ति लामो समय रह्यो भने यसले निश्चय नै मुटुरोग, मोटोपन, उच्च रक्तचाप, मधुमेह र शारीरिक गतिविधिसँग सम्बन्धित अन्य रोग तथा समस्याहरूको जोखिम बढाउनेछ,’ ब्रिटान भन्छन्, ‘यद्यपि, यो प्रवृत्ति स्थायी रूपमा रहन्छ कि रहँदैन, अहिल्यै भनिहाल्न धेरै हतार हुन्छ ।’
युवापुस्ता बढी जोखिममा हो ?
युवापुस्ताको हिँड्ने बानी कम हुँदा वृद्धहरूको भने किन घटेको छैन ? ‘मलाई लाग्छ, यसबारे व्याख्या गर्न कठिन छ । किनभने कम भएको ६ सय कदम मात्रै हो । यो कमी सजिलै पूरा भइहाल्छ भनेर तर्क गर्न सकिन्छ,’ अध्ययनमा सहभागी नरहेका डेनभेरस्थित अस्पताल ‘नेसनल जेविस हेल्थ’का कार्डियोभास्कुलर प्रिभेन्सन एन्ड वेलनेस निर्देशक डा. एन्ड्रिय फ्रिम्यान भन्छन्, ‘मलाई लाग्छ, मूल प्रश्न घरबाट काम गर्ने सम्भावना कसको छ भन्ने हो ।’
टेक्नोलोजी र सफ्टवेयरजस्ता जहाँसुकै बसेर गर्न सकिने पेसामा युवा कामदारको बाहुल्य छ । यी पेसामा बढी उमेरका मानिसको सहभागिता कम छ । ‘कारण जेसुकै होस्, अध्ययनको निष्कर्षले महामारीको समयमा मानिसहरू पहिलेजस्तो हिँडडुल गर्न नसकेको देखाउँछ । यो चिन्ताजनक छ,’ फ्रिम्यानले थपे ।
‘यो प्रवृत्ति जारी रहे हामी वास्तवमै सचेत हुनुपर्छ । तपाईं घरबाटै काम गर्दै हुनुहुन्छ भने या त उठेर गर्नुहोस् वा ट्रेडमिल वा बाइक डेस्क प्रयोग गर्नुहोस्,’ उनले भने, ‘घरबाटै काम गर्ने कामदारको व्यवस्थापन हेर्ने आफ्ना कर्मचारीलाई व्यायाम गर्न समय–समयमा ब्रेक लिन आग्रह गर्नुपर्छ । यो उनीहरूको मानसिक स्पष्टता र तीक्ष्णता सुधार गर्ने प्रमाणिक विधि पनि हो ।’
‘स्वास्थ्यकर्मीहरूले पनि आफ्ना बिरामीसँग तिनका शारीरिक गतिविधिको स्तरका बारेमा सधैँ चासो राख्नुपर्छ । कोभिड–१९ को प्रभावले त यसबारे बिरामीहरूसँगको छलफललाई अझ महŒवपूर्ण बनाएको छ,’ ब्रिटानले भने ।