गृहले तयार गरेको कार्यविधिको मस्यौदा मन्त्रिपरिषद्ले पारित गरेपछि लागू हुने
विशिष्ट पदाधिकारीहरूको सवारीले सडकमा सर्वसाधारणले सास्ती खेप्नुपरेको गुनासो बढेपछि सरकारले सुरक्षा व्यवस्थापन कार्यविधि परिमार्जन गर्दै छ । गृह मन्त्रालयले ‘विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७’ को परिमार्जन मस्यौदा तयार गरिसकेको छ । मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेपछि कार्यविधि कार्यान्वयनमा आउनेछ ।
कार्यविधि परिमार्जनका लागि गृहले सहसचिव जितेन्द्र बस्नेतको संयोजकत्वमा समिति गठन गरेको थियो । समितिले आइतबार राष्ट्रपति रामचन्द्र पौडेलसँग परामर्श गरेको थियो । छलफलका क्रममा राष्ट्रपति पौडेलले बदलिँदो शासकीय शैलीअनुसार कार्यविधि परिमार्जन गर्न सुझाव दिएका थिए ।
गृह मन्त्रालयका प्रवक्तासमेत रहेका समितिका संयोजक बस्नेतले कार्यविधि परिमार्जनले अन्तिम रूप लिएको बताए । ‘कार्यविधि परिमार्जन अन्तिम चरणमा पुगेको छ । यस विषयमा हामीले हिजो (आइतबार) राष्ट्रपतिसँग पनि परामर्श लिएका थियौँ । उहाँ कार्यविधि परिमार्जनमा सकारात्मक हुनुहुन्छ । उहाँकै सुझावअनुसार कार्यविधि परिमार्जन भएको छ । मन्त्रिपरिषद् बैठकले पास गरेलगत्तै यो कार्यान्वयनमा आउनेछ,’ उनले भने ।
दिलकुमार तामाङ, सूचना अधिकृत, गृह मन्त्रालय
विशिष्ट व्यक्तिको सवारी विगतमाझैँ तामझामपूर्ण हुनेछैनन् । सर्वसाधारणले दुःख पाउने गरी सडक खाली पनि गरिनेछैन । सवारीसाधनको आवागमन भइरहेकै वेला विशिष्ट व्यक्तिको सवारी चलाइनेछ । सडकमा कसैलाई अवरोध गरिनेछैन । यसले नागरिकमा फरक सन्देश प्रवाह गर्नेछ ।
परिमार्जित कार्यविधि गृहसचिवले नेतृत्व गर्ने अति विशिष्ट व्यक्ति सुरक्षा केन्द्रीय निर्देशन समितिमा पेस हुनेछ । समितिमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका आइजिपी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख र नेपाली सेनाको युद्धकार्य महानिर्देशनालयका प्रमुख रहने कानुनी व्यवस्था छ । आवश्यक सुझावपछि कार्यविधि मन्त्रिपरिषद् बैठकमा पेस हुनेछ ।
कार्यविधि अति गोप्य राखिनुपर्ने भएकाले राजपत्रमा प्रकाशित नहुने गृहप्रवक्ता बस्नेतले बताए । ‘सामान्यतया मन्त्रिपरिषद्बाट पास भएको कार्यविधि कार्यान्वयनका लागि राजपत्रमा प्रकाशित गर्ने चलन हुन्छ । तर, सुरक्षा कार्यविधि राजपत्रमा प्रकाशित हुँदैन । यो गोप्य राखिनुपर्ने डकुमेन्ट हो । मन्त्रिपरिषद्बाट पास भएलगत्तै यो कार्यान्वयनमा आउनेछ,’ उनले भने ।

गृहका अनुसार कार्यविधिमा विशेषगरी विशिष्ट व्यक्तिको राजकीय, औपचारिक र कार्यालयीय सवारीलाई परिमार्जन गरिएको छ । परिमार्जित कार्यविधिअनुसार अब राजकीय, औपचारिक र कार्यलयीय सवारीमा सडक खाली गरिनेछैन । आवागमन अवरुद्ध गरिनेछैैन । कारगेडमा मोटरसाइकल र गाडीका लावालस्कर पनि हुनेछैनन् । तर, सवारी हुने रुटमा सुरक्षा व्यवस्था भने कडा बनाइनेछ । सवारी हुने रुटमा देखिनेभन्दा पनि नदेखिने सुरक्षाकर्मी ज्यादा परिचालन हुनेछन् । गृह मन्त्रालयका सूचना अधिकृत दिलकुमार तामाङले विगतकोझैँ तामझामपूर्ण सवारी अब नहुने बताए । परिमार्जित कार्यविधिको पहिलो अभ्यासस्वरूप शनिबार राष्ट्रपति पौडेलको सवारी चलाइएको थियो । राष्ट्रपति पौडेल कुमारी घर दर्शनका लागि वसन्तपुर पुगेका थिए । सवारीमा मोटरसाइकलको कारगेड हटाइएको थियो ।
विद्यमान कार्यविधिमा विशिष्ट व्यक्तिका परिभाषित पाँच सवारी
विद्यमान कार्यविधिले भिभिआइपी सवारीलाई पाँच ढंगले व्याख्या गरेको छ । पहिलो राजकीय सवारी हो । विशेषगरी विदेशी राष्ट्राध्यक्ष भ्रमणमा आउँदा र राष्ट्रपति राजकीय भ्रमणमा विदेश जाँदा पनि यस्तो सवारी चलाइन्छ । यस्तो सवारी चलाउँदा सडक पूर्ण रूपमा खाली गरिन्छ । सडकका दुवै किनारमा सुरक्षाकर्मी तैनाथ गरिन्छ । कारकेडमा पनि गाडी र मोटरसाइकलको लावालस्कर नै लाग्ने हुन्छ ।
अर्को हो, औपचारिक सवारी । यस्तो सवारीमा पनि भिभिआइपी सवार सवारीसाधनको अघिपछि गाडी र मोटरसाइकलको बाक्लो कारकेड हुन्छ । रुटमा पर्ने सडकको लेन खाली गरिन्छ । सडकमा सुरक्षाकर्मी खटाइन्छ । सर्वसाधारणलाई सडकमा आउजाउ गर्न रोक लगाइन्छ । भिभिआइपीको अनौपचारिक र निजी सवारी पनि हुन्छन् । यस्तो सवारीमा भने अत्यावश्यकबाहेक कारकेड सुरक्षाकर्मी परिचालन गरिँदैन ।
त्यसबाहेक कार्यालयीय सवारी भिभिआइपीको अर्को महत्वपूर्ण सवारी हो । यस्तो सवारीमा भिभिआइपी सवार सवारीसाधनको अघि र पछि कारकेडमा गाडी हुन्छ । तर, मोटरसाइकल हुँदैन । सडक पनि खाली गरिँदैन । सर्वसाधारणको आउजाउमा पनि रोक लगाइँदैन । विशेषगरी प्रधानमन्त्रीको कार्यालयीय भ्रमणमा यस्तो सवारी चलाइन्छ । शनिबार राष्ट्रपति पौडेलको सवारीमा यही सवारी सञ्चालन गरिएको हो ।
गृहप्रवक्ता बस्नेतले भने, ‘विशिष्ट व्यक्तिको सवारीका लागि पाँच किसिमको सवारी सञ्चालनको परिकल्पना कार्यविधिले गरेको छ । सोहीमध्येको एउटा हो कार्यालयीय सवारी । शनिबार राष्ट्रपति पौडेलका लागि सोही सवारी सञ्चालन गरिएको हो । यस्तो सवारी विशेष गरी प्रधानमन्त्रीका लागि प्रयोग हुने गर्छ । अब राष्ट्रपतिका लागि पनि यस्तै सवारीको व्यवस्था कार्यविधिमा गरिएको छ ।’