लगातार तेस्रो हारपछि रेलिगेसन क्षेत्रमा रहेको नेपाल पुलिस क्लबले सहिद स्मारक ए डिभिजन लिग ०७९/८० मा पुनरागमन गर्ने विश्वास लिएको छ । शनिबार संकटा क्लबलाई ३–० को नतिजा सुम्पिँदा विभागीय टोली पुलिसले लगातार तेस्रो हार व्यहोरेको छ । लगातारको हारपछि पुलिस विनाअंक पुछारमा रह्यो । तीन खेल खेल्दा सबै पक्षमा कमजोर देखिएको पुलिसले जम्मा एक गोल गर्दा ६ गोल व्यहोरेको छ ।
पहिलोपटक क्लबको प्रशिक्षण सम्हालेका चेतकुमार घिमिरेले अझै जितको स्वाद चाख्न पाएका छैनन् । एएफसी ए लाइसेन्स उत्तीर्ण गरेका घिमिरे अझै खेलमा फर्कने विश्वास गर्छन् । ‘हामीले बल्ल तीन खेल खेलेका छौँ, युवा टोली छ । हामी फर्कनेमा विश्वास गर्छाैं,’ घिमिरेको विश्वास छ । उनले राम्रो खेल्दाखेल्दै फिनिसिङमा चुक्दा तेस्रो हार व्यहोर्न पुगेको बताए । ‘खेल त्यस्तो नराम्रो हैन । लगातारको हारले समस्या छ । दिनप्रतिदिन राम्रो हुँदै गइरहेको छ । तर, फिनिसिङमा चुकिरहेका छौँ,’ उनले थपे ।
सहिद स्मारक लिगमा ह्याट्रिक उपाधि हात पारेको पुलिसले आफ्नो हैसियत बिर्संदै गएको छ । पछिल्लो दशक पुलिसको प्रदर्शन खस्कँदो छ । युवा खेलाडीको रोजाइमा पुलिस क्लब छैन । उमेरसमूहमा खेल्ने खेलाडीले पुलिस क्लबमा पाउने सेवा सुविधाको विश्वास गर्न छाडेका छन् । त्यसैले पुलिसको प्रदर्शनसमेत खस्कँदै गएको छ । यसपटक पुलिसले विदेशी खेलाडी अनुबन्ध गर्ने प्रक्रिया थाले पनि पूर्ण हुन सकेको छैन । ‘हामीले विदेशी खेलाडी अनुबन्ध गर्ने प्रक्रिया सुरु गरेका छौँ । कानुनी प्रक्रियामै भएकाले कहिले मैदान उतार्ने, पक्का छैन,’ घिमिरे भन्छन् ।
पुलिसले ०६३, ०६६/६७ र ०६८ मा लिगको उपाधि जित्दै ह्याट्रिक गरेको थियो । त्यसअघि शाही शासनमा दुईपटक उपाधि उचालेको छ । यसपछि लिगमा पुलिसको प्रदर्शन खस्कँदो छ । अन्य क्लब व्यावसायिक बन्दै निस्कँदा पुलिसमा यसैको कमी देखिन्छ । पछिल्लो समय विदेशी खेलाडीको प्रभाव बढ्दै जाँदा विभागीय टोली झनै दबाबमा आएका छन् ।
यसअघि पुलिस पहिलो खेलमा नवप्रवेशी क्लब चर्च ब्वाइज युनाइटेडसँग २–१ तथा हिमालयन शेर्पा क्लबसँग १–० ले पराजित भएको थियो । च्यासल मैदानमा संकटाविरुद्ध केही अवसर बनाए पनि पुलिस ‘फाइनल थर्ड’मा चुकेको थियो । भरत शाह, रविशंकर पासवान चुक्दा पुनः पुलिस गोलविहीन भयो ।
यता, संकटा लिगमा पहिलो जित निकाल्न सफल भयो । संकटाले १२औँ मिनेटमा गणेश हमालको गोलमा अग्रता बनायो । सुनील श्रेष्ठले मिलाएको पासमा बक्सभित्र रहेका गणेशले ‘चिप गोल’ गर्दै पहिलो प्रयासमै गोल गरे । पहिलो हाफ १–० ले टुंगिदा दोस्रो हाफमा थप दुई गोल भयो । रोशन पहारीले ८०औँ मिनेटमा बक्सबाहिरबाट ‘हाफ भली’ गोल गरे । पुलिसका अञ्जन राईबाट रिबाउन्डमा आएको बललाई रोशनले २५ यार्डबाट ‘वान टच’मै गोल गरेका थिए । संकटाका प्रशिक्षक सल्यान खड्गीले यस गोललाई ‘लिगकै एक मात्र उत्कृष्ट गोल’ भएको प्रतिक्रिया दिए ।
तेस्रो गोलसमेत उस्तै रह्यो । ८६औँ मिनेटमा सुरजजिउ ठकुरीले मनीष डाँगीको पास सदुपयोग गर्दै बक्सबाहिरबाट उत्कृष्ट गोल गरेका थिए । संकटाका प्रशिक्षक खड्गीले दुई स्तब्धपूर्ण नतिजापछि घाउमा मलम लगाएको प्रतिक्रिया दिए । ‘लगातारको दुई स्तब्धपूर्ण खेलपछि घाउमा मलम लगाउन सफल भएका छौँ । जितको जरुरी थियो । उपाधि जित्ने दबाब हुँदा यो जितले ठूलो अर्थ राख्छ,’ ०७५ सालको विनारेलिगेसन लिगमा संकटालाई दोस्रो स्थान दिलाएका खड्गीले भने । संकटासँग चार अंक रह्यो । यसअघि संकटा विभागीय टोली त्रिभुवन आर्मीसँग गोलरहित बराबरीमा रोकिँदा कीर्तिमानी आठौँपटकको च्याम्पियन मनाङ मस्र्याङ्दीसँग १–० ले पराजित भएको थियो ।
सातदोबाटोको लगातार तेस्रो जित
दीपकराज ठकुरीले निर्णायक गोल गरेपछि सातदोबाटो युथ क्लबले सहिद स्मारक लिगमा लगातार तेस्रो जित निकालेको छ । दशरथ रंगशालामा साँझ भएको खेलमा दीपकले इन्जुरी समयको तेस्रो मिनेटमा विजयी गोल गर्दा फ्रेन्ड्सले दोस्रो हार व्यहो¥यो । जितपछि सातदोबाटोले तीन खेलबाट ९ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ । फ्रेन्ड्सको तीन खेलबाट एक अंक छ । दीपकले नीरज चौधरीको पास सदुपयोग गरेका थिए । जारी लिगमा दीपकको तेस्रो गोल हो । यसअघि दीपकले न्युरोड टिम (एनआरटी)विरुद्ध दुई गोल गरेका थिए ।
जावलाखेल र एपिएफले अंक बाँडे
विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ फुटबल क्लब र जावलाखेल युथ क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । दशरथ रंगशालामा एपिएफ १० खेलाडीमा सीमित रह्यो । खेलको ६९औँ मिनेटमा एपिएफका विदेशी खेलाडी एडामा डोम्बियाले रातो कार्डको सामना गरेका थिए । जावलाखेलका स्ट्राइकर हिसुब थपलियालाई लडाएपछि रेफ्री प्रज्वल क्षेत्रीले रक्षक एडामालाई पहेँलो कार्ड देखाएका थिए । तर, आक्रामक भएका एडामाले अपशब्द बोलेपछि रेफ्री क्षेत्रीले रातो कार्ड देखाए । खेलपछि जावलाखेलको तीन खेलबाट सात तथा एपिएफको समान खेलबाट चार अंक छ ।