तुलसीपुर उपमहानगरमा एक महिनामा ३२ लाखको इन्धन खर्च

मंगलबार, २३ फागुन, २०७९
डिजिटल संस्करण

चालू वर्षको माघसम्म एक करोड ५६ लाख २९ हजारको इन्धन खपत

तुलसीपुर उपमहानगरपालिकाले एक महिनामा इन्धनमै ३२ लाख खर्चेको छ । उपमहानगरले संसदीय चुनावको अघिल्लो महिना अर्थात् कात्तिकमा ३१ लाख ९७ हजार तीन सय ३२ रुपैयाँ इन्धनमा खर्चेको हो । इन्धनमा अस्वाभाविक खर्च देखिएपछि उपमहानगरको लेखा समितिले प्रश्न उठाएको छ ।

उपमहानगर स्रोतका अनुसार लेखा समितिका संयोजक घनश्याम ढकालले मेयर टीकाराम खड्कालाई बुझाएको प्रतिवेदनमा सो कुरा उल्लेख छ । कात्तिकमा चाडपर्व पर्ने भएकाले बिदा पनि धेरै थियो । शनिबार र तिहार, छठ पर्व गरी नौ दिन बिदा परेको थियो । सोही महिना नै बढी इन्धन खर्च भएको पाइएपछि छानबिन हुनुपर्ने लेखा समितिको ठहर छ । ‘योजना किताबभन्दा बाहिरको काममा हेभी गाडी प्रयोग नहुने गरी र अन्य हलुका सवारीसाधनसमेत मितव्ययी रूपले प्रयोग हुने गरी इन्धन खर्च गर्न कार्यालयलाई सुझाब दिने निर्णय गरियो,’ प्रतिवेदनमा भनिएको छ । 

उपमहानगरपालिकाले चालू वर्षको माघसम्म एक करोड ५६ लाख २९ हजारको इनधन खपत गरेको छ । सोही मूल्यबराबरको इन्धनको बिल पनि भुक्तानी भइसकेको छ । त्यस्तै, थप ४० लाखबराबरको इन्धनको बिल पेस भए पनि भुक्तानी भएको छैन । 

कात्तिकमा चाडपर्व पर्ने भएकाले बिदा पनि धेरै थियो । शनिबार र तिहार, छठ पर्व गरी नौ दिन बिदा परेको थियो । सोही महिना नै बढी इन्धन खर्च भएको पाइएपछि छानबिन हुनुपर्ने महानगरको लेखा समितिको ठहर छ । 

खरिदको नियमविपरीत सवारी भाडामा 
उपमहानगरपालिकाले खरिदको नियमविपरीत हुने गरी विनाप्रतिस्पर्धा गाडी भाडामा लिएको भन्दै त्यसमा पनि लेखा समितिले प्रश्नचिह्न उठाएको छ । ६ वटा टिपर, एउटा जेसिबी, दुईवटा ट्र्याक्टर भाडामा लिएको छ भने कार्यालयका सबै गाडी पनि विकास निर्माणमा परिचालन गरेको छ । प्रतिस्पर्धाविना गाडी भाडामा लिँदा ठूलो रकम खर्च हुने गर्छ ।

इन्धन उपमहानगरपालिकाले हाल्ने गरी भाडामा लिएकाले पनि ठूलो रकम खर्च हुने देखिएकाले प्रतिस्पर्धाबाटै गाडी भाडामा लिन लेखा समितिले सुझाब दिएको छ । अन्यथा खरिदको नियमविपरीत हुने भएकाले लेखा स्वीकृत योजना किताबमा समावेश भएका योजनामा मात्रै काम हुने गरी गाडी भाडामा लिनुपर्ने लेखा समितिको ठहर छ । 

कार्यालयका हेभी सवारीसाधन आपत्कालीन अवस्थामा बाहेक योजना किताबका काममा मात्र परिचालन गर्न पनि लेखा समितिले सुझाब दिएको छ । यदि भाडामा जाँदा कार्यपालिकाले तोकेको भाडादरको रसिद काटेमा मात्र गेटपास लगबुक खातामा इन्ट्री गराई प्रयोगमा ल्याउनुपर्ने लेखा समितिको सुझाब छ । 

सरकारी मोटरसाइकल पनि चढ्ने, मासिक सवारी भत्ता पनि लिने
जनप्रतिनिधिले सरकारी सवारीसाधन चढेर फेरि सुविधा लिन मिल्दैन । तर, तुलसीपुरका केही वडाध्यक्षले सरकारी मोटरसाइकल पनि चढ्ने र मासिक सवारीसाधन भत्ता पनि लिएको पाइएको छ । यसरी दोहोरो सुविधा फिर्ता गराउन लेखा समितिले मेयरलाई सुझाब दिएको छ । सरकारी सवारीसाधन घरायसी काममा समेत प्रयोग हुने गरेको पाइएको छ । सरकारी काममा मात्रै प्रयोग गर्नुपर्नेमा घरायसी कामका लागि प्रयोग गर्नुका साथै अनधिकृत व्यक्तिले घरमा चलाएको अवस्थामा देखिएकाले गाडी प्रयोगमा मितव्ययिता कायम गर्न सुझाब दिएको स्रोतले बताएको छ । अनधिकृत व्यक्तिले चलाएको गाडी फिर्ता गर्न पनि कार्यालयलाई सुझाव दिने लेखा समितिको निर्णय छ ।

सुझावित समाचार