घरका भित्तामा राखिने ऐनाको गज्जबको चरित्र हुन्छ । यसले जे हो, त्यही देखाइदिन्छ । नृत्य सिकाउने ठाउँको भित्तामा ऐना राखिएको हुन्छ । ऐना हेरेर मानिसले आफूलाई मूल्यांकन गर्न सकून् र आफूलाई सुधार गर्न सकून् भनेर यसो गरिन्छ । हामी भोजमा जाँदा किन राम्रो लुगा लगाउँछौँ ? यसो सोच्नुभएको छ ? किनकि, त्यहाँ कसैले हाम्रो फोटो खिच्छ वा हामीलाई कसैले हेर्छ । त्यही सोचेर हामी राम्रो लुगा लगाएर, मेकअप गरेर हिँड्छौँ । एकजना साथीले भन्दै थिए, केटीहरू राम्रा हुन्छन्, किनकि उनीहरू नियमित ऐना हेर्छन् ।
मैले यहाँ ऐना भनेर काँच भन्न खोजिरहेको छैन । ऐना अर्थात् ‘म के गरिरहेको छु ?’ भनेर आफैँलाई प्रश्न गर्नु हो । ऐना अर्थात् आत्म–मूल्यांकन । सबैभन्दा बढी अपग्रेड र अपडेट हुनुपर्ने क्षेत्र भनेको राजनीति र शिक्षा हो, त्यसैले नेता र शिक्षकले नियमित ‘ऐना’ हेरिरहनुपर्छ । यो लेखमा हामी शिक्षकले हेर्नुपर्ने ऐनाबारेमा छलफल गर्छौँ ।
शिक्षक मूल्यांकन किन महत्वपूर्ण ? : केही दिनअघि काठमाडौंको एक प्रतिष्ठित कलेजका प्रधानाध्यापकसँग कुरा हुँदै थियो । मैले उहाँलाई नियमित रूपमा शिक्षकको मूल्यांकन गर्न सुझाब दिएँ । मैले शिक्षकको मूल्यांकन अझ विद्यार्थीले नै गर्नुपर्छ भनेँ । उहाँले पूरा नसुन्दै भन्नुभयो, ‘आम्मै त्यत्रा ठूला प्रोफेसरको कसरी मूल्यांकन गर्नु ? हुँदैन, मिल्दैन । अझ विद्यार्थीले त्यत्रो शिक्षकको मूल्यांकन गर्ने हैसियत राख्दैनन् ।’
मलाई हाम्रो शिक्षामा रहेको सबैभन्दा ठूलो समस्या यही बुझाइ हो भन्ने लाग्छ । विद्यार्थीलाई हेर्ने दृष्टिकोणमा हाम्रो निकै ठूलो समस्या छ । शिक्षकले पढाएको बुझ्यो कि बुझेन भनेर विद्यार्थीलाई सोध्ने आँट गर्न नसक्ने शिक्षामै समस्या छ । अधिकांश शिक्षाविद्ले मानेको एउटा तथ्य के हो भने विद्यार्थीको सिकाइका निम्ति धेरै कुरा महŒवपूर्ण हुन्छ तर ती धेरैमध्ये विद्यार्थीको सिकाइलाई सबैभन्दा बढी प्रभाव पार्ने भनेको शिक्षकको क्षमताले नै हो । त्यसैले पनि विद्यालयले शिक्षकको क्षमता सुधारमा सबैभन्दा ध्यान दिन जरुरी छ । क्षमता सुधारका निम्ति पहिला क्षमता थाहा पाउनुप¥यो र त्यसका लागि शिक्षकको नियमति मूल्यांकन गरिनुपर्छ ।
शिक्षक मूल्यांकनले सबैभन्दा बढी फाइदा शिक्षकलाई नै हुन्छ । मूल्यांकनबाट शिक्षकले आफ्नो राम्रो गुण र क्षमतालाई थप निखार्न र तिखार्न सक्छन् भने आफ्ना कमजोरी पहिचान गरी सुधार गर्न सक्छन् । शिक्षकको मूल्यांकन गर्दा शिक्षकमा जवाफदेहिता बढ्छ । शिक्षण क्षेत्रमा अर्को महत्वपूर्ण आयाम भनेको शिक्षक–विद्यार्थीको सम्बन्ध हो । शिक्षकको मूल्यांकन गर्दा विद्यार्थीको सहभागिताले शिक्षक–विद्यार्थीको सम्बन्ध पनि थप सुदृढ हुन्छ । निरन्तर र प्रभावकारी मूल्यांकनले शिक्षकको क्षमता र कलामा निरन्तर सुधार हुन्छ । निरन्तर मूल्यांकन गर्दा विद्यालयलाई पनि आफ्ना अब्बल शिक्षकलाई पुरस्कृत गर्न र कमजोरलाई सुधार्न सजिलो हुन्छ ।
शिक्षकको मूल्यांकन कसरी गर्ने ? : हाम्रा विद्यालयमा पनि शिक्षक सेवा आयोग नियमावलीको नियम ३२ अनुसार ‘शिक्षकको कार्य सम्पादन मूल्यांकन फाराम’ भर्नुपर्ने नियम छ । तर, देशका विभिन्न भागमा गएर शिक्षक र प्रधानाध्यापकसँग संवाद गर्दा यो विधिले शिक्षकमा सुधार नआएको र यो कर्मकाण्डी मात्र सावित भएको देखिन्छ । ‘शिक्षकहरूको मूल्यांकन सतही भइरहेको छ । नियममा गोप्य रूपमा मूल्यांकन गर्नुपर्ने भनिए पनि यहाँ गोप्य हुँदैन । शिक्षकले मलाई कम नम्बर किन दिएको भनेर हैरान गर्छन् । त्यसैले, एक–दुई नम्बर तलमाथि गरेर सबैलाई फुल नम्बर दिएर पठाउने गरेको छु । हामी यही समाजमा बस्नुपर्छ, हाम्रो सामाजिक सम्बन्ध पनि त छ नि ।’ सार्वजनिक विद्यालयका एकजना प्रधानाध्यापकले भन्नुभएको हो यो ।
अहिले कर्मकाण्डी रूपमा हुँदै आएको मूल्यांकन विधिमा विद्यार्थीले परीक्षामा पाएको अंक र सुपरिवेक्षकको मूल्यांकनलाई आधार बनाइएको छ । यसमा सबैभन्दा ठूलो समस्या हामीले जसका लागि पढाइरहेका छौँ, उनीहरूले कति बुझिरहेका छन्, कस्तो महसुस गरिरहेका छन् भन्ने नै समेट्न सकिएको छैन । त्यसैले पनि यो विधि निकै अपूरो देखिएको छ ।
कक्षाकोठामा सकारात्मक वातावरण बनाउन सक्नु, विद्यार्थीसँग सकारात्मक सम्बन्ध बनाउन सक्नु, विद्यालयमा सकारात्मक वातावरण बनाउन सक्नु, विद्यार्थीलाई रमाएर गर्न सक्ने गृहकार्य दिन सक्नु, सहकर्मी शिक्षक र अभिभावकसँग प्रभावकारी संवाद गर्न सक्नु, नयाँ–नयाँ विधिमार्फत पढाउन सक्नु, सबैलाई समान व्यवहार गर्दै विद्यार्थीमा रहेको विविधतालाई सम्मान गर्न सक्नु सफल र प्रभावकारी शिक्षकमा हुनुपर्ने गुण हुन् । अहिलेको मूल्यांकन विधिले त्यो नाप्न सम्भव छैन ।
ऐना अर्थात् ‘म के गरिरहेको छु’ भनेर आफैँलाई प्रश्न गर्नु हो । सबैभन्दा बढी अपग्रेड र अपडेट हुनुपर्ने क्षेत्र भनेको राजनीति र शिक्षा हो, त्यसैले नेता र शिक्षकले नियमित ‘ऐना’ हेरिरहनुपर्छ ।
शिक्षकको मूल्यांकन गर्न विभिन्न विधि अपनाइन्छन् । विद्यार्थीले नियमित परीक्षामा ल्याएको नम्बर, विद्यार्थीको विशेष परीक्षा लिएर आएको नम्बर, प्रधानाध्यापकले कक्षाकोठामा गएर गरेको मूल्यांकन, शिक्षकले थाहा नपाउने गरी पढाएको भिडियो खिचेर शिक्षकलाई हेर्न लगाएर गरिने स्वमूल्यांकन, विद्यार्थीले शिक्षकबारे भर्ने फारममार्फत गरिने मूल्यांकन अहिले चलिरहेका विभिन्न मूल्यांकन विधि हुन् । यस्ता मूल्यांकन कतिपय विद्यालय आफैँले गर्छन् भने कतिपय वेलामा यस्तो मूल्यांकन कुनै संस्थामार्फत पनि गराइन्छ ।
यी तरिकामध्ये सबैभन्दा प्रभावकारी तरिका भनेको शिक्षकको मूल्यांकन विद्यार्थीलाई गराउने र शिक्षकले विद्यार्थीको प्रतिक्रिया हेरेर आफूलाई सुधार गर्ने नै हो । यसमा सहजीकरण प्रधानाध्यापकले गर्नुपर्छ ।हामीले एउटा फारम बनाएर विद्यार्थीमार्फत शिक्षकको मूल्यांकन गर्न सक्छौँ । शिक्षकले पढाउने विषयवस्तुमा शिक्षकको ज्ञान, कक्षाअघि शिक्षकको पूर्वतयारी, शिक्षकको पढाउने तरिका, शिक्षक विद्यार्थीको सम्बन्ध र शिक्षकको समयनिष्ठतासहित यी पाँच विधामा एकदेखि पाँच नम्बरसम्म दिने गरी एउटा फारम बनाएर विद्यार्थीलाई भराउन सक्छौँ । अनि, त्यही फारममा शिक्षकको सबल पक्ष र शिक्षकको कमजोरी भनेर विद्यार्थीलाई टिप्पणी लेख्न दिने ठाउँसमेत राख्न सक्छौँ । विद्यार्थीबाट मूल्यांकन गराउँदा विद्यार्थीले विनाकुनै दबाब मूल्यांकन गरून् भनेर फारममा विद्यार्थीको नाम लेख्नु नपर्ने बनाउन जरुरी छ ।
यसरी विद्यार्थीको टिप्पणीबाट शिक्षकलाई स्वमूल्यांकन गर्न सहयोग पुग्छ । विद्यार्थीले गरेको एउटा शिक्षकको मूल्यांकन अर्को शिक्षकले हेर्न जरुरी छैन । यो विषय शिक्षक र प्रधानाध्यापकबीच राख्दा हुन्छ । अझ सकिन्छ भने शिक्षकले पढाएको कक्षाको भिडियो रेकर्ड गरेर शिक्षकलाई नै दिएर स्व–मूल्यांकन गराउन पनि सकिन्छ । सहकर्मी साथीहरूबाट पनि एक–अर्काको मूल्यांकन गराएर त्यसबाट आफूलाई सुधार गर्नु राम्रो संस्कार हो ।
यसरी विद्यार्थीले गरेको मूल्यांकनको ७० प्रतिशत, प्रधानाध्यापकले गरेको मूल्यांकनको १० प्रतिशत, सहकर्मीले गरेको मूल्यांकनको १० प्रतिशत र शिक्षक आफूले आफैँलाई स्व–मूल्यांकन गरेर दिने नम्बरलाई १० प्रतिशत मानेर शिक्षकको मूल्यांकन गर्नु सबैभन्दा प्रभावकारी ठहरिनेछ । यस्तो मूल्यांकन वर्षमा दुईचोटि लिनु राम्रो हुन्छ ।
मूल्यांकनबाट आएका प्रतिक्रियालाई शिक्षकले सकारात्मक रूपमा लिएर सुधार गर्नु, आफ्नो वृत्ति विकासमा मिहिनेत गर्नु, विद्यालयले आफ्ना शिक्षकलाई वेला–वेलामा आएका प्रतिक्रियाअनुसार सुधार गर्न तालिम दिनु, बालमनोविज्ञानबारे विद्यालयमा छलफल गरिनु निकै जरुरी छ । यी सबै प्रक्रियामा पारदर्शिता अर्थात् प्रक्रियाको पारदर्शिता भने कायम राखिनुपर्छ । साथै, यसबाट शिक्षकको कमजोरी पत्ता लगाउने मात्र होइन, शिक्षकको सबल पक्षलाई उजागर गर्ने, पुरस्कृत गर्ने, एकआर्काबाट सिक्ने–सिकाउने प्रक्रियाका रूपमा पनि बुझ्न जरुरी छ ।
शिक्षक मूल्यांकनको चुनौती : केही वर्षअघि म एउटा विद्यालयमा निर्देशकका रूपमा काम गर्थेँ । एकचोटी एकजना शिक्षकले विद्यार्थीले मूल्यांकन गरेर दिएको प्रतिक्रियालाई फाल्दै ‘म इभ्यालुएसन दिने होइन, लिने मानिस हुँ’ भनेर हिँड्नुभयो । वर्षौंदेखि पढाउने शिक्षकलाई विद्यार्थीले तपाईंको मूल्यांकन गर्दै छन् है भन्दा उहाँहरूको ‘इगो’मै प्रहार हुने गर्छ । हामीले सबैभन्दा पहिले शिक्षकलाई यो उहाँहरूकै वृत्ति विकासका लागि हो भन्ने बुझाउन सक्नुपर्छ । अर्को कुरा, यसका महŒवपूर्ण हिस्सेदार विद्यार्थीलाई शिक्षकको मूल्यांकनमा सहभागी गराउनु र आएका प्रतिक्रियालाई कार्यान्वयन गराउनु अर्को चुनौती हो । शिक्षकको मूल्यांकन नियमित गराउनु पनि चुनौती हो ।
केही वर्षअघि ब्रिटिस काउन्सिलले दिल्ली, पश्चिम बंगाल, तमिलनाडु र महाराष्ट्रका विद्यालयको अध्ययन गरेर निकालेको एक रिपोर्टअनुसार भारतमा विभिन्न शिक्षक मूल्यांकन विधि लागू भए पनि तिनमा निरन्तरता र त्यसलाई लागू गर्न समस्या देखिएको थियो । सो प्रकाशनमा शिक्षक मूल्यांकनको स्पष्ट विधि नहुनु, सफल शिक्षक कसलाई भन्ने भन्नेबारे स्पष्टता नहुनु, मूल्यांकन प्रक्रिया र विधिलाई शिक्षकले अपनत्व नलिनु, मूल्यांकन गर्दा निष्पक्षता कायम नहुनु, आएका प्रतिक्रियालाई शिक्षकसम्म पुर्याउन नसक्नु र कमजोरीलाई सुधार्न संस्थाले नेतृत्व नलिनुलाई शिक्षक मूल्यांकनको चुनौतीका रूपमा व्याख्या गरिएको थियो ।
अन्त्यमा, चर्चित भौतिकशास्त्री रिचार्ड फेनम्यानलाई एक दिन एकजना विद्यार्थीले भौतिक शास्त्रकै एउटा प्रश्न सोधेछन्, उनले उत्तर दिँदा पनि विद्यार्थीले नबुझेपछि उनले यसलाई साधारण बनाउन मलाई २–३ दिन दिनुहोस् भन्छन् । उनले २–३ पछि फर्केर आएर विद्यार्थीलाई भनेछन्, मलाई लाग्छ, मैले यसको ‘कन्सेप्ट’ राम्ररी बुझेको रहेनछु किनकि मैले यसलाई सजिलो भाषामा बुझाउन सकिनँ । रिचार्डले भौतिकशास्त्रबारे बुझेको छैन भनेर स्वीकारेका थिए । हामी यो के गर्दै छौँ ?
हामी हामीमा कमजोरी छ भनेर स्विकार्न किन तयार छैनौँ ? यो नै हाम्रो शिक्षा क्षेत्रको सबैभन्दा ठूलो समस्या हो । यदि कुनै पनि शिक्षकले कुनै पनि विषय पाँच कक्षाको विद्यार्थीलाई बुझाउन नसक्नुको कारण हो, शिक्षक आफैँले नबुझ्नु ।यहाँ म दुईवटा विषय जोडदार रूपमा उठाउन चाहन्छु, पहिलो– कक्षाकोठामा शिक्षकले जानेर या नजानेर विद्यार्थीमा धेरै विभेद गर्दै छौँ । सिकाइमा कक्षाकोठाको विभेद ठूलो बाधक बन्दै छ । पढ्ने–नपढ्ने, गरिब–धनी या जात, धर्म, लिंग, भूगोल आदिका नाउँमा विभेद हुँदै छ । शिक्षकको मूल्यांकन गर्दा योसमेत विद्यार्थीले अभिव्यक्त गर्ने वातावरण बन्नेछ ।
विद्यार्थीले त्यो महसुस गर्दै छन् भन्ने शिक्षकले बुझ्न यस्तो मूल्यांकन महत्वपूर्ण हुन्छ । दोस्रो– यदि मूल्यांकन गरेर कमजोरी देखिँदादेखिँदै, सुधार गर्ने प्रयत्न गर्दागर्दै र तालिम दिँदादिँदै पनि शिक्षकमा सुधार आउँदै भने त्यस्तो शिक्षकलाई शिक्षण पेसाबाट हटाउनुपर्छ । पढाउन नसक्ने शिक्षकलाई बरु शिक्षण पेसा छोड्न लगाएर सरकारले नै अन्य वैकल्पिक जागिर दिन सक्छ । तर, विद्यार्थीको जीवनसँग खेलबाड गर्न दिनु हुँदैन ।
यदि मलाई कसैले शिक्षा सुधार्न एउटा मात्र काम के गर्नुहुन्छ भनेर सोध्यो भने म शिक्षकलाई सबल बनाउने नीति ल्याउँछु भन्नेछु । त्यो नीतिको मेरुदण्ड भने शिक्षक मूल्यांकन नै हुनेछ । जसरी राम्रो देखिन नियमित ऐना हेर्नुपर्छ, त्यसरी अब्बल शिक्षक बन्न नियमित मूल्यांकन गर्दै अपडेट र अपग्रेड हुन जरुरी छ ।