\'कोसी प्रदेश\' नामाकरण गर्ने सांसदलाई जिल्ला प्रवेशमा रोक !

बिहिबार, १८ फागुन, २०७९
डिजिटल संस्करण

कोसी प्रदेश नामकरणविरुद्ध आन्दोलनमा उत्रिएका खोटाङका पहिचान पक्षधरहरूले जिल्लाबाट निर्वाचित प्रदेश सांसदहरूलाई जिल्ला प्रवेशमा रोक लगाउने तथा जिल्लामा हुने कार्यक्रममा निषेध गर्ने भएका छन्। 

प्रदेश सभाबाट १ नं. प्रदेशको नाम कोसी प्रदेश नामाकरण गरेको विरोधमा उत्रिएका उनीहरूले खोटाङ प्रदेश सभा–१ (क)का प्रदेश सभा सदस्य पाँचकर्ण राई ‘पिके’ र खोटाङ प्रदेश सभा–२ (ख)का प्रदेश सभा सदस्य भुपेन्द्रकुमार राईलाई जिल्ला प्रवेशमा रोक लगाउनुका साथै जिल्लामा हुने कार्यक्रमहरूमा निषेध गर्ने चेतावनी दिएका हुन्।

नेपाल आदिवासी जनजाति महासंघ खोटाङ, किराँत राई यायोक्खा खोटाङ, नेपाल मगर संघ खोटाङलगायतका पहिचान पक्षधरहरूको संयुक्त भेलाले कोसी प्रदेशको पक्षमा उभिएका जिल्लास्थित कांग्रेस, नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)का पार्टी कार्यालयहरूमा कालो झन्डा राख्नेलगायत संघर्षका कार्यक्रमहरूसमेत सार्वजनिक गरेका छन्। उनीहरूले संयुक्त विज्ञप्ति जारी गर्दै एक नम्बर प्रदेशलाई किराँत प्रदेश नामाकरणका लागि चरणबद्ध आन्दोलन गर्ने चेतावनीसमेत दिएको छ। 

दिक्तेलस्थित भवनगैरामा भएको पहिचान पक्षधरहरूको भेलाले रविन खम्बुको नेतृत्वमा संयुक्त संघर्ष समन्वय समितिसमेत गठन गरेको छ। नेकपा (माओवादी केन्द्र) खोटाङका सदस्य खम्बुको नेतृत्वमा गठन गरिएको १०१ सदस्यीय संयुक्त संघर्ष समन्वय समितिको सहसंयोजकमा एलबी मगर र सचिवमा युगसन किराँत छन्। 
  
संयुक्त संघर्ष समितिले पहिचान विरोधी हर्कतमा उत्रेर आमसमुदायमाथि निरंकुशता लाद्ने काम गरेको भन्दै प्रदेशका मुख्यमन्त्री, सरकारमा आबद्ध राजनीतिक दलका संसदीय दलका नेता तथा प्रतिपक्षमा रहेर पनि षड्यन्त्रमा सामेल हुने संसदीय दलका नेताहरूको राजीनामा मागेको छ। 

‘नेपालको संविधान २०७२ को मूल मर्म र भावनामा रहेर मुलुक संघीयता र लोकतान्त्रिक गणतन्त्रको जगमा उभिरहेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘नेपाली जनताले लडेका शान्तिपूर्ण तथा सशस्त्र ऐतिहासिक आन्दोलनको जगमा उठेको वर्तमान राजनीतिक उपलब्धिका रूपमा उठेको पहिचानसहितको संघीयताको उपभोग गर्ने अधिकार सम्पूर्ण नेपाली जनतासँग छ। यसलाई कुण्ठित पार्ने हर्कत कुनै पनि हालतमा स्विकार्न सकिन्न। चरणबद्ध आन्दोलनमार्फत निस्तेज पारिन्छ।’

कोसी प्रदेश नामांकनको विरोधमा किराँत राई यायोक्खा खोटाङले दिक्तेलमा आज (बिहीबार) दुई घण्टा चक्का जामसमेत गरेको थियो। यायोख्खाको नेतृत्वमा दिक्तेलस्थित किराँत चोकमा भेला भएका पहिचान पक्षधर आन्दोलनकारीहरूले बिहान ११ बजेदेखि एक बजेसम्म चक्का जाम गरेको हो। 

पहिचान पक्षधरहरूको मागलाई बेवास्ता गर्दै कोसी प्रदेश नामांकन गरिएकाले आन्दोलन गरिएको यायोक्खाका अध्यक्ष युगसन किराँतले बताए। यायोख्खाले चक्का जामपछि खोटाङका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाईमार्फत मुख्यमन्त्री हिक्मत कार्कीलाई ज्ञापनपत्रसमेत बुझाएका छन्। 

कोसी प्रदेशलाई खारेज गरी पहिचानको आधारमा किराँत प्रदेश नाम राख्न माग गर्दै ज्ञापनपत्र बुझाइएको अध्यक्ष किराँतले बताए। अधिकारलाई कुण्ठित गर्ने दुरासयका साथ मिति २०७९ फागुन–१७ गते प्रदेश सरकारले छापामार शैलीमा प्रदेशको नामाकरण गरेकोप्रति हाम्रो घोर आपति भएकाले सच्याउन माग गर्दै ज्ञापनपत्र बुझाइएको यायोख्खाले जनाएको छ। 

सुझावित समाचार