काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर (केएफटिसी) धरानमा जारी बुढासुब्बा टुबोर्ग गोल्डकप प्रतियोगिताको फाइनलमा पुगेको छ।
२३औंँ संस्करणअन्तर्गत आज सम्पन्न सेमिफाइनल खेलमा भारतको युनाइटेड कर्साङ फुटबल क्लब (युकेएफसी)लाई पराजित गर्दै केएफटिसीले उपाधि भिडन्त पक्का गरेको हो।
धरान–१६ स्थित रंगशालामा भएको खेलमा केएफटिसीले युकेएफसीलाई ३–१ गोलअन्तरले हरायो। केएफटिसीका लागि विदेशी खेलाडी यमी, सुशील राई र निशान लिम्बूले गोल गरे।
२२औँ मिनेटमा केएफटिसीले खेलमा अग्रता लिएको थियो। यमीले विपक्षी दुई डिफेन्डर र गोलकिपरलाई बिट गर्दै उत्कृष्ट गोल गरे। लगत्तै युकेएफसीका हेमराज भुजेलले गोल गर्दै खेल बराबरीमा ल्याए। भुजेलले प्रतीक लामाको पासमा सानदार हेडर गोल गरेका थिए।
दोस्रो हाफमा केएफटिसीले थप दुई गोल गर्यो। ४७औँ मिनेटमा यमीको क्रसमा गिल्सन लिम्बूले मिलाइदिएको पास सदुपयोग गर्दै सुशील राईले जाली चुमाए। यस्तै, इन्जुरी समयमा निशान लिम्बूले पेनाल्टीमार्फत गोल गरे। सुशील राईलाई विपक्षी डिफेन्डरले फाउल गरेपछि केएफटिसीले पेनाल्टी पाएको थियो।
खेलको म्यान अफ द म्याच भने केएफटिसीका यमि घोषित भए। उनले नगद १० हजार रुपैयाँ पुरस्कार पाए। भोलि विदेशी टिम एभिनियर क्यामरुन र एन्फा मोरङबीच दोस्रो सेमिफाइनल खेल हुनेछ।