ऋण खोजेर राष्ट्रपति रनिङ सिल्ड आयोजना

राष्ट्रिय खेलकुद परिषद्ले पर्याप्त बजेट नपठाउँदा जिल्ला खेलकुद विकास समिति गुल्मीले ऋण खोजेर राष्ट्रपति रनिङ सिल्ड आयोजना गर्‍यो

सोमबार, १५ फागुन, २०७९
डिजिटल संस्करण

तम्घासमा जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता आयोजना भयो । जिल्ला खेलकुद विकास समिति गुल्मीले आयोजना गरेको प्रतियोगितामा दुई नगर र १० गाउँपालिकाका एक हजार तीन सय ९२ जना खेलाडीले प्रतिस्पर्धा गरे । जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता आयोजना गर्न जिल्ला खेलकुद विकास समितिलाई ऋण खोज्नुपर्ने अवस्था आएको सम्बन्धित निकायका पदाधिकारीले बताए । पुरस्कार, रेफ्री भत्ता र व्यावस्थापनसँगै प्रदेशको प्रतियोगितामा सहभागी खेलाडी र प्रशिक्षक गरेर ९० जनाको यातायात खर्च र पोसाकका लागि खेलकुद विकास समितिले आठ लाख खर्च हुने अनुमान गरेको थियो । 

जिल्लामा प्रतियोगिता सञ्चालन गर्न संघीय अन्तर्गत साढे चार लाख बजेट छ । कार्यालयमा कहिले आउँछ भन्ने केही टुंगो छैन । निकै छोटो समय र कम बजेटमा प्रतियोगिता गर्नुपर्ने भएकाले समस्या भएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गिरिप्रसाद महाकिमले बताएका छन् । सरकारले दिने साढे चार लाख बजेटले पुरस्कार, भत्ता र पोसाकबाहेक केही गर्न नसकिने जनाउँदै महाकिमले कार्यालयको आन्तरिक स्रोत र स्थानीय तहसँग गुहार माग्नुपर्ने अवस्था सिर्जना भएको बताए । 

‘छोटो समय र कम बजेटमा हामीलाई प्रतियोगिता सञ्चालन गर्न निकै मुस्किल छ । तोकिएको बजेट पनि समयमै नआएर ऋण खोज्नुपर्ने विडम्बना देखियो,’ उनले भने, ‘अहिलेको अवस्थाले खेल क्षेत्रको विकास कसरी हुन्छ ?’ 

जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा विशेष गरेर ६ विधाका खेल भए । प्रतियोगिता छात्र–छात्रा भलिबल, छात्र–छात्रा कबड्डी, छात्र–छात्रा एथलेटिक्ससँगै कराँते, तेक्वान्दो र उसु खेल भएको जिल्ला खेलकुद विकास समिति गुल्मीका उपाध्यक्ष नारायण जिसीले जानकारी दिए । प्रतियोगितामा प्रत्येक पालिकाबाट एक सय १६ जना सहभागी भएको उनले बताए । राष्ट्रपति रनिङ सिल्डमा सहभागी खेलाडीको व्यावस्थापन पालिका आफैँ गरेका छन् । 

 एक्लो कार्यालय  प्रमुखको भरमा समिति
जिल्ला खेलकुद विकास समिति गुल्मीमा ०५३ सालदेखि कार्यालय प्रमुखहरू आएका देखिन्छन्् । पछिल्लो समय ३ असार ०७५ सालबाट कार्यालय प्रमुख डिल्ली विक र विकास समितिले राखेका एक कार्यालय सहयोगी छन् । अहिलेसम्म लेखा अधिकृत, कम्प्युटर अपरेटर र प्रशिक्षकहरू एकजना पनि कार्यालयमा छैनन् । समग्र जिल्लाको खेलकुद विकासको क्षेत्रमा काम गर्ने विकास समिति एक्लो कार्यालय प्रमुखको भरमा छ ।

कार्यालय प्रमुख भए पनि लेखाको कामसँगै पत्र लेख्ने, दर्ता चलानी गर्ने र पत्र पुर्याउनेसमेत काम गर्नुपर्ने बाध्यता रहेको गुल्मी कार्यालय प्रमुख डिल्ली विकले बताए । विकले खेलकुदमा अझै संघीयता नआएको गुनासो गरेका छन् । उनले अझै पनि संघीय बजेट प्राप्त गर्न लुम्बिनी खेलकुद परिषद्मार्फत सामाजिक विकास डिभिजन कार्यालय पाल्पा पुग्नुपर्ने अवस्था 
रहेको बताए । 

‘हामी अझै पनि कार्यक्रम सम्झौता गर्न पाल्पा पुग्नुपर्छ, राष्ट्रिय खेलकुद परिषद्को कर्मचारी प्रदेशमातहतको विकास समितिमा काम गर्नुपर्छ,’ विकले भने, ‘राजनीतिक फेरबदलका कारण समिति अस्थिर तथा जिल्लाको खेलकुद विकास समितिलाई जनशक्तिविहीन बनाउनु निकै विडम्बनाको विषय हो ।’ 

 खेलकुद पूर्वाधार अलपत्र 
इस्मा गाउँपालिका–६ को अमरपुरमा निर्माणाधीन सहिद लखन थापा अन्तर्राष्ट्रिय रंगशाला अलपत्र अवस्थामा छ । सोही पालिकाको पालिकास्तरीय खेलमैदान वडा २ को छल्दीटारमा निर्माण भए पनि सबै खेलका लागि उपयोगी छैन । केही दिनअघि मालिका गाउँपालिकाका चारवटा मैदान राष्ट्रपति रनिङ सिल्डमा सञ्चालन आएको थियो ।

‘एक पालिका एक खेलमैदान’ अन्तर्गत निर्माणाधीन खेलमैदान पूरा भएको छैन, जिल्लास्तरीय खेलकुद हुने सदरमुकाम तम्घासस्थित चिदिचौरको विकल्प देखिएको छैन,’ विकास समितिका एक पदाधिकारीले भने, ‘चिदिचौर महेन्द्र नमुना माविको खेलमैदानमा विद्यालय सञ्चालन भइरहेका वेला राजनीतिक, सांस्कृतिक तथा खेलकुदका कार्यक्रमले विद्यार्थीको अध्ययन प्रभावित हुने गरेको छ ।’

रेसुंगा नगरपालिकाले वडा ७ को उनायचौरमा निर्माण गरेको खेलमैदान निकै कम उपयोग भइरहेको छ । पालिकास्तरमा करोडौँ खर्च गरेर निर्माण गरिएका खेलमैदान उपयोग नहुँदा खेलाडीहरूले खोला, खोल्सा, बारी र खुला चौरमा खेल सिक्नुपर्ने अवस्था आएको तेक्वान्दो प्रशिक्षक दीपक जिसीले बताए । आवश्यकता र भूगोलअनुसार खेल संरचना नहुँदा लामो समय खुला धुले चौर र बगरमा खेलाडी प्रशिक्षण लिन बाध्य भएको उनले बताए । 

 एकै वर्ष दुई प्रतियोगिताले समस्या थपिँदै
विकास समितिले यस वर्ष दुईवटा राष्ट्रियस्तरको प्रतियोगिता आयोजना गर्यो । राष्ट्रपति रनिङ सिल्ड र नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता विकास समितिले गरेको हो । यसले खेलकुद विकास समितिलाई व्ययभार बढी थपिएको हो ।

लुम्बिनी प्रदेशमा २८ असोजदेखि ३ कात्तिकसम्म भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा ६ सयबाट छनोट गरेर दुई सय खेलाडी प्रदेशमा सहभागी भए । खेलाडीले १० स्वर्ण, पाँच रजत र १४ कांस्य हात पारे । राष्ट्रिय खेलकुद परिषद्ले नवौँ राष्ट्रिय खेलकुदको तयारीका लागि तीन लाख बजेट पठाएको थियो । राखेपले पठाएको बजेटभन्दा बढी खर्च भयो ।

 ‘नौ लाख खर्च हुँदा खर्च व्यावस्थापनमा निकै समस्या आएको छ,’ समितिका अध्यक्ष महाकिमले भने । व्ययभार कम गर्न खेलकुद विकास समितिको आफ्नै कार्यालय भवनबाट मासिक एक लाख सटर भाडा उठाउँदै आएको छ । ‘हाम्रो आर्थिक स्रोत भनेको सटर भाडा हो, यद्यपि केही व्यवसायीले समयमै भाडा तिर्दैनन्,’ उनले भने, ‘भाडाबापतको रकमबाटै कार्यालय सहयोगीदेखिका थुप्रै खर्च व्यावस्थापन समितिले गरिरहेको छ ।’

सुझावित समाचार