हरेक अभिभावकले आफ्ना छोराछोरीको सुन्दर भविष्यको कल्पना गरेका हुन्छन् । समयअनुसार उनीहरूको इच्छा, आकांक्षा र सबै खालका सुविधा पूर्ति गर्न चाहन्छन् । बाल्यकालमा आफूले चाहेर पनि पाउन नसकेका कुराहरू प्रदान गर्न चाहन्छन् । तर, कतिपय अवस्थामा मानिसले चाहँदाचाहँदै पनि थोरै गैरजिम्मेवारीपनका कारणले छोराछोरीको भविष्य सुरक्षित गर्न असमर्थ हुन्छन् ।
अधिकांश अभिभावक बालबालिकाको आर्थिक सुरक्षणतर्फ ध्यान दिँदैनन् । आफूले आर्जन गरेको सम्पत्ति नै छोराछोरीका लागि हो भन्दै बसिरहँदा कहिलेकाहीँ अपत्यारिलो घटना पनि घट्न सक्छ । आर्थिक अवस्था राम्रा भएका अभिभावकका छोराछोरीले समेत आर्थिक संकट भोग्नुुपर्ने हुन्छ । तसर्थ, भविष्यमा घट्न सक्ने कुनै पनि घटनाका कारण सन्ततिले आर्थिक, शैक्षिक र मानसिक यातना भोग्न नपरोस् भन्नका लागि बिमा अपरिहार्य छ । बालबालिकाका लागि उनका अभिभावक नै सर्वस्व हुन् । त्यसैले अभिभावकले समयमा सचेत भएर आफ्ना सन्ततिको सुरक्षित भविष्यका लागि बिमा गरिदिनु बुद्धिमानी हो ।
बिमाविज्ञहरूका अनुसार अधिकांश अभिभावकले यस विषयलाई गम्भीर रूपमा नलिँदा चाहेर पनि छोराछोरीलाई राम्रो शिक्षा दिन सक्दैनन् । जस्तै, बालबालिकाका लागि गरिने निर्णय अभिभावकले भोलि गरौँला, समय छ वा सानै छ भनेर सोच्दासोच्दै समय जान्छ । यसरी समयमा नै सही निर्णय लिन नसक्दा छोराछोरी आधारभूत सुविधाबाट पनि वञ्चित हुन्छन् । समयमा नै गरेको थोरैथोरै बचतले पनि बालबालिको भविष्य सुरक्षित गर्न सकिन्छ । तर, यसका लागि समयमा नै निर्णय गर्नुपर्छ ।
अभिभावकले आफ्ना सन्तानका बारेमा सोच्नुपर्ने अर्को पक्ष भनेको विवाह हो । दिनप्रतिदिन मूल्य बढ्दै गएको छ । भोलिका दिनमा छोराछोरीको विवाह गर्ने समयसम्ममा धेरै कुराको मूल्य बढिसकेको हुन्छ । त्यतिवेला चाहेर पनि आफूले चाहेको जसरी विवाह गर्न सकिँदैन । तसर्थ, यसका लागि आजै सोच्ने हो भने उक्त समयमा आवश्यक पर्ने रकमको जोहो गर्न सकिन्छ । अहिले कम्पनीहरूले यस्तो खालका अवस्थालाई मध्यनजर गरी थुप्रै योजनाहरू सञ्चालनमा ल्याएका छन् । त्यसैले छोराछोरीको भविष्यका लागि अभिभावकले आजै सोच्नुपर्छ । यदि तपाईंले सोचिसक्नुभएको छ र तपार्इं आप्mनो सन्तानका लागि बिमा योजना खरिद गर्दै हुनुहुन्छ भने निम्न कुरामा ध्यान दिनुहोस् :
१. उद्देश्यको पहिचान गर्नुहोस् : अभिभावकको नाताले आफ्ना छोराछोरीका लागि बिमा योजना खरिद गर्नुपूर्व आफनो उद्देश्यको पहिचान गर्नुहोस् । तपाईं आफ्ना छोराछोरीको शिक्षाका लागि वा विवाहका लागि, व्रतबन्ध, व्यवसाय वा अन्य कुन उद्देश्यका लागि बिमा गर्न खोज्दै हुनुहुन्छ ? उक्त उद्देश्यको पहिचान गर्नुहोस् । अनि आफूले भुक्तान गर्न सक्ने बिमाशुल्कको हिसाब गर्नुुहोस् । सोहीबमोजिमको योजना खरिद गर्नुहोस् ।
अधिकांश अभिभावक बालबालिकाको आर्थिक सुरक्षणतर्फ ध्यान दिँदैनन् । आफूले आर्जन गरेको सम्पत्ति नै छोराछोरीका लागि हो भन्दै बसिरहँदा कहिलेकाहीँ अपत्यारिलो घटना पनि घट्न सक्छ । आर्थिक अवस्था राम्रा भएका अभिभावकका छोराछोरीले समेत आर्थिक संकट भोग्नुुपर्ने हुन्छ ।
२. बिमाशुल्क र योजनाको तुलना गर्नुहोस् : कुनै पनि योजना खरिद गर्ने निर्णय गर्नुपूर्व विभिन्न कम्पनीको योजना अध्ययन गरी बिमाशुल्क तुलना गर्नुहोस् । बजारमा कम्पनीहरूले थुप्रै खालका योजना सञ्चालनमा ल्याएका छन् । तसर्थ, सबै योजनाको तुलना गर्नुहोस् । तर, थोरै बिमाशुल्क भएकै योजना सधैँ उत्कृष्ट हुँदैनन् । यस्ता खालको योजनामा कतिपय महत्वपूर्ण सुविधाहरू हुँदैनन् । जस्तै, दुर्घटना सुविधा, बिमाशुल्क छुट लाभ आदि । त्यस्तै, संरक्षकको मृत्युपछाडि योजना निरन्तर हुन्छ वा हुँदैन भन्ने खालका सुविधा पनि हेर्नुपर्छ । तसर्थ, योजनाको तुलना गर्नुहोस् ।
३. आफ्नो जोखिमअनुसारको योजना छनोट गर्नुहोस् : योजना खरिद गर्दा तपाईंको जोखिमको पहिचान गर्नुहोस् र सोहीअनुसारको योजना छनोट गर्नुहोस् । मानिसहरूको जीवनशैली फरक–फरक खालको हुन्छ । भौगोलिक अवस्था, सामाजिक र सांस्कृतिक अवस्था, काम गर्ने प्रकृतिअनुसार जोखिम फरक–फरक खालको हुन्छ । यदि तपाईं उच्च जोखिममा हुनुहुन्छ भने सावधिक बिमा योजना खरिद गर्न सक्नुहुन्छ । अथवा, कम्पनीहरूले सञ्चालन गरेका अग्रिम भुक्तानी खालका योजना पनि छनोट गर्न सक्नुहुन्छ ।
४. छिटै सुरुवात गर्नुहोस् : अन्य लगानीको योजनाजस्तै बालबालिका बिमा योजना छिटै गर्नु उचित हुन्छ । अर्थात्, बालबालिका सानै हुँदा बिमा गर्नु राम्रो हुन्छ । बिमाविज्ञहरू बच्चा ९० दिन हुनुपूर्व नै बिमा गर्नु राम्रो हुने सुझाव दिन्छन् । किनभने, चाँडै बिमा गर्दा लगानीको योजना बनाउन पर्याप्त समय हुनेछ ।
५. सबै शुल्कको बारेमा बुझ्नुहोस् : यदि तपाईंले बाल बिमा योजना खरिद गर्ने निर्णय गर्नुभएको छ भने योजनामा लेखिएका सबै बुँदा अध्ययन गर्नुहोस् । योजनामा विभिन्न सर्त हुन्छन् । जस्तै, कतिपय योजनामा समर्पण गर्दा वा कर्जा लिँदा विभिन्न शुल्क भुक्तानी गर्नुपर्छ । यस्ता खालका अतिरिक्त शुल्क र सुविधाका बारेमा जानकारी लिनुहोस् ।
६. बालबालिकालाई बचत गर्न सिकाउनुहोस् : बालबालिका पोलिसी खरिद गरेपछि तपाईंले आफ्ना सन्ततिलाई बचत गर्न सिकाउनुहोस् । सुरुको प्रिमियम तपाईंले भुक्तानी गरे पनि पछिका वर्षहरूको प्रिमियमका लागि बालबालिकालाई नै योगदान गर्न सिकाउनुहोस् । दसैँ, तिहार तथा अन्य चाडपर्वमा संकलन भएका पैसा जम्मा गर्न सिकाउनुहोस् । त्यो रकमलाई बिमाशुल्कको रूपमा भुक्तानी गर्नुहोस् । यसले तपाईंको सन्ततिलाई बचत गर्न पनि प्रेरित गर्छ ।
नेपालमा सञ्चालित जीवन बिमा कम्पनीहरूले धेरै खालका बाल बिमा योजना सञ्चालनमा ल्याएका छन् । त्यसैले बिमा पोलिसी खरिद गर्नुअघि सबै कम्पनीको पोलिसीको बारेमा बुझ्नु आवश्यक छ । कतिपय बिमा पोलिसी बालबालिकाको साथमा अभिभावकको पनि सुरक्षा वहन गरेका हुन्छन् । जीवन बिमा अभिकर्ताबाट नै खरिद गर्नुपर्ने हुन्छ । तसर्थ, तपाईंले पोलिसीको बारेमा अभिकर्तासँग राम्ररी बुझ्न सक्नुहुन्छ । तर, सबै अवस्थामा अभिकर्ताको सूचनामा मात्रै भर नपर्नुहोस् ।
आजकल सबै बिमा कम्पनीले अनलाइनमा नै बिमा पोलिसीका विषयमा जानकारी राखिदिएका हुन्छन् । त्यसैले अनलाइनबाट नै पोलिसीको बारेमा जानकारी लिन सक्नुहुनेछ । अथवा, बिमा कम्पनीको शाखा कार्यालयमा नै पुगेर पनि यसका विषयमा थप भरपर्दो जानकारी लिन सकिन्छ ।