अमेरिकाको मिसिगन स्टेट युनिभर्सिटीमा गोली चल्दा तीनजनाको मृत्यु भएको छ भने अन्य पाँचजना घाइते भएका छन्।
विश्वविद्यालय प्रहरीका अनुसार सोमबार राति विश्वविद्यालयका दुई स्थानमा गोली हानाहान भएको हो।
मास्क लगाएका ‘होचो कद’का व्यक्तिले गोली चलाएका अनुमान गरिएको छ। उनीहरूको खाेजी भइरहेको छ। विश्वविद्यालय प्रशासनले विद्यार्थीलाई तत्काल सुरक्षित रहन सन्देश प्रवाह गरेको थियो।
गोलीकाण्डबारे जानकारी प्राप्त हुनेबित्तिकै करिब ३० वटा दमकल, एम्बुलेन्स र अन्य आपतकालीन सवारीसाधन विश्वविद्यालय पुगेका थिए।
चार घन्टासम्म विश्वविद्यालयको वातावरण तनावग्रस्त भएको थियो। एसोसिएट प्रेसका अनुसार आक्रमणकारीसमेत मारिएका छन्। आक्रमणकारी मारिएको खबर प्रहरीले आज सार्वजनिक गरे पनि आक्रमणकारीको नाम सार्वजनिक गरिएको छैन।