बेलौरीमा पर्यटन महोत्सव सुरु

बेलौरी भन्सार नाका विस्तार गर्न पहल गर्छु : उद्योगमन्त्री भण्डारी

बिहिबार, २६ माघ, २०७९
डिजिटल संस्करण

कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरीमा पर्यटन महोत्सव तथा कृषि औद्योगिक व्यापार मेला सुरु भएको छ। 

‘कृषि पर्यटन, उद्योग र व्यापार समृद्धिको बेलौरी आधार’ भन्ने मूल नाराका साथ बिहीबारदेखि बेलौरी खुलामञ्चमा पर्यटन महोत्सव तथा कृषि औद्योगिक व्यापार मेला सुरु भएको हो। 

बेलौरी उद्योग वाणिज्य संघको आयोजना एवं बेलौरी नगरपालिकाको सहआयोजनामा दोस्रो बेलौरी पर्यटन महोत्सव तथा कृषि औद्योगिक व्यापार मेला सञ्चालन भएको छ। पञ्चायतकालीन जिल्ला सदरमुकामसमेत रहेको बेलौरी बजारको ५०औँ वर्षकाे अवसरमा महोत्सव आयोजना गरिएको हो। 

महोत्सवको एक कार्यक्रमबीच उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्घाटन गरेका छन्। महोत्सव उद्घाटन गर्दै उद्योगमन्त्री भण्डारी बेलौरी भन्सार नाका विस्तारका लागि पहल गर्ने बताए। 

‘मैले बेलौरी भन्सार नाका स्थापना गर्नका लागि आफ्नो मन्त्रालयका तर्फबाट पहल गर्छु,’ मन्त्री भण्डारीले भने, ‘यस क्षेत्रका संसद्सँग समन्वय गरेर अघि बढ्छु। यस विषयमा अर्थमन्त्रीलाई समेत अवगत गराउँछु।’

सान्दर्भिकता र महत्वलाई अघि सार्दै अघि बढ्ने मन्त्री भण्डारीले बताए। मन्त्री भण्डारीले नेपाल–भारत पारवहनको विषयमा समेत पहल गर्ने बताए ।दोधाराचाँदनीमा बन्ने सुक्खा बन्दरगाह निर्माणसमेत गरिने बताए। सुक्खा बन्दरगाह निर्माण भए नेपालमा उत्पादित वस्तु तथा सेवा निर्यात र बाह्य मुलुकबाट आयातका लागि सहज हुने उनकाे भनाइ छ। 

बेलौरी उद्योग वाणिज्य संघका अध्यक्ष टेकबहादुर साउदले दक्षिणी क्षेत्रको आर्थिक, कृषि, औद्योगिक विकासका लागि महोत्सव आयोजना गर्न लागेको बताए। अध्यक्ष साउदले उद्योगमन्त्री भण्डारीको बेलौरी नाका विस्तारमा ध्यानाकर्षणसमेत गराएका छन्। 

यसअघि बेलौरी उद्योग वाणिज्य संघले ०७५ सालमा पहिलोपटक प्रथम बेलौरी महोत्सव आयोजना गरेको थियो। कोरोना महामारीदेखि अन्य विविध कारणले मेला महोत्सव सञ्चालन हुन सकेको थिएन। 

यसपटक दोस्रो बेलौरी महोत्सव सञ्चालन गर्ने लागेको अध्यक्ष साउदले बताए। ‘बेलौरी बजार स्थापना भएको ५०औँ वर्षकाे अवसरमा समेत हामीले मेला सञ्चालन गर्न खोजेका छौँ,’ उनले भने, ‘एकातिर बजारको स्वर्ण अवसर, अर्कातिर क्षेत्रकै विकासका लागि मेला महोत्सव गर्न लागेका छौँ।’ 

स्थानीय कलाकारलाई विशेष प्राथमिकता सहित दर्शकको चाहनाअनुरूप राष्ट्रिय कलाकारसमेत आमन्त्रण गरिएको छ। महोत्सवमा झन्डै एक सय स्टलमा विभिन्न व्यावसायिक तथा कृषि उपज राखिएका छन्। 

७ फागुनसम्म सञ्चालन हुने मेलामा लाखौँ दर्शनार्थीले अवलोकन गर्ने अपेक्षा गरिएको छ। महोत्सवमा करोडौँको कारोबार हुने दाबी गरिएको छ। 

तीन वर्षपछि बेलौरीमा बृहत् महोत्सव हुन थालेपछि स्थानीय सर्वसाधारणलाई समेतलाई मेला अवलोकन एवं किनमेल तथा मनोरञ्जन र व्यवसायीलाई आफ्नो उत्पादित वस्तु तथा सेवा प्रवर्द्धनमा टेवा पुग्ने दाबी गरिएको छ। 

सुझावित समाचार