साधारण खर्च उच्चतम बिन्दुमा र पुँजीगत खर्च कमजोर अवस्था : अर्थमन्त्री

आइतबार, ८ माघ, २०७९
डिजिटल संस्करण

देशको साधारण खर्च उच्चतम बिन्दुमा र पुँजीगत खर्च कमजोर अवस्था रहेको उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बताएका छन् । कृषि विकास बैंकको ५६औँ वार्षिकोत्सवमा बोल्दै उनले आर्थिक सामथ्र्य बढाउन सबैले सहयोग गर्नुपर्ने बताएका छन् । उनले भने, ‘आर्थिक सामथ्र्य निकै कमजोर छ ।

साधारण खर्च उच्चतम बिन्दुमा छ भने पुँजीगत खर्च कमजोर छ । यो चुनौतीको सामना गर्ने अभियानमा सबैको साथ चाहिएको छ ।’ मन्त्री पौडेलले कृषि विकास बैंकको रिक्त प्रमुख कार्यकारी अधिकारी (सिइओ) पदमा योग्य व्यवस्थापक नियुक्ति गर्न सरकार बाधक नरहेको बताएका छन् । बैंकको प्रमुख कार्यकारी अधिकृतबाट अनिलकुमार उपाध्यायले अवकाशप्राप्त गरेसँगै यो पद रिक्त छ । हाल निमित्तका रूपमा प्रताप सुवेदीले नेतृत्व गरिरहेका छन् ।  

बैंकर संघका अध्यक्ष भन्छन्– ऋण नतिर्ने दबाब आउन थाल्यो
नेपाल बैंकर संघका अध्यक्ष तथा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनील केसीले कर्जाको ब्याजदर नतिर्ने भन्दै केही व्यक्तिहरू समूह नै बनाएर लागेको बताए । त्यस्ता व्यक्तिले समूह बनाएर बैंकहरूलाई दबाब दिन थालेको उनको भनाइ छ ।

उनले नेपालको अर्थतन्त्रमा ठूलो योगदान पुर्याइरहेको बैंकिङ क्षेत्रमा दबाब आउँदा भोलिका दिनमा बैंकिङ क्षेत्र अप्ठ्यारोमा पर्ने बताए । उनले भने, ‘पछिल्लो समययता बैंकहरूलाई दबाब दिने समूह बनाएर कर्जाको ब्याजदर तिर्नुपर्दैन भन्ने प्रवृत्ति बढेको छ । यो निकै अप्ठ्यारो हो । नेपालको अर्थतन्त्रमा ठूलो योगदान गरिरहेको बैंकिङ क्षेत्रले गत वर्ष मात्रै ३१ अर्ब रुपैयाँ कर तिरेका छौँ । यसको बैंकर्स संघले घोर विरोध गर्दछौँ । नेपाल सरकारप्रति ध्यानाकर्षण गराउन चाहन्छु ।’ 

सुझावित समाचार