निर्यात किन घटिरहेको छ ?

एकातर्फ हाम्रो उत्पादनकै लागत बढेको छ, वस्तु महँगिएका छन्, अर्कातर्फ खरिदकर्ताको क्रयशक्ति घटेको छ

मंगलबार, ३ माघ, २०७९
डिजिटल संस्करण

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांकले नेपालको निर्यात व्यापार घटेको देखाएको छ । तथ्यांकले पछिल्लो पाँच महिनामा नेपालले ६७ अर्ब ३० करोड रुपैयाँबराबरको निर्यात भएको देखाएको छ । जुन गएको आर्थिक वर्षको सोही अवधिको तुलनामा ३४.६ प्रतिशतले कमी हो । नेपालका दुई ठूला व्यापार साझेदार भारत र चीनतर्फ भएको निर्यात नै क्रमशः ४३.७ प्रतिशत र ३५.९ प्रतिशतले कमी आएको सरकारी तथ्यांक छ ।

अर्थतन्त्रको बाह्य क्षेत्र दबाबमै रहेका वेला निर्यात झन् खस्कनु चिन्ताको विषय हो । व्यापार घाटा न्यूनीकरण गर्दै शोधनान्तरलाई सन्तुलनमा राख्नसमेत निर्यात बढाउनैपर्छ । तर, निर्यात झन् घटेको छ । निर्यात किन घट्यो ? अनि कसरी बढाउने ? यस विषयमा सरकार र निजी क्षेत्रले गम्भीर भएर चिन्तनमनन गर्नुपर्छ । यहाँ म निर्यात किन घट्यो र बढाउन के गर्ने भन्ने विषयमा संक्षेपमा चर्चा गर्दै छु । 

 यसकारण घट्यो निर्यात :  कोभिड तथा रसिया–युक्रेन युद्धका कारण विश्वकै अर्थतन्त्र प्रभावित भएको छ । आर्थिक–व्यापारिक चक्रहरू भत्किएका छन् । विश्व बैंकलगायत संस्थाहरूले विश्वव्यापी आर्थिक मन्दीको चुनौती रहेका प्रतिवेदनहरू सार्वजनिक गरिहेका छन् । यसको प्रभाव हाम्रो अर्थतन्त्रमा पनि पर्ने नै भयो, परेको पनि छ । मुख्यतः अहिले विश्वव्यापी रूपमा सिपिङलगायत लजिस्टिक लागत बढेको छ । प्रतिफ्रेट तीन हजारबाट बढेर सात हजार डलरसम्म पुगेको छ । यसले हाम्रा उत्पादनको लागत बढाएको छ, हाम्रा वस्तुलाई महँगो बनाएको छ । लागत बढी भएपछि आयातकर्ता (खरिदकर्ता)ले हाम्रा वस्तु कम मगाइरहेका छन् । यसले गर्दा निर्यात घटेको हो । 

अर्को कुरा, युरोपलगायत देशमा जहाँ हाम्रो राम्रै निर्यात हुन्छ, त्यहाँको क्रयशक्ति घटेको छ । उनीहरूले खपत घटाएका छन् । माग नै कम भएको छ । अर्थात, हिजोसम्म दुई कप नेपाली चिया खानेले आज एक कप मात्रै खान थालेका छन् । हिजोसम्म दुईओटा पस्मिना सल लिनेले आज एउटा मात्रै लिएका छन् । यसर्थ, विश्वव्यापी आर्थिक संकुचन या भनौँ मन्दीको प्रभाव हाम्रो निर्यात पनि देखिएको हो । एकातर्फ हाम्रो उत्पादनकै लागत बढेको छ, वस्तु महँगिएका छन् भने अर्कातर्फ खरिदकर्ता (आयातकर्ता)को क्रयशक्ति घटेको छ । हाम्रा उत्पादनको प्रतिस्पर्धी क्षमता अझै खस्किएको छ । यसले गर्दा हाम्रा उत्पादनको माग नै कम भई निर्यात खस्किएको हो ।

अहिले बाह्य क्षेत्रलाई सन्तुलित बनाउन रेमिट्यान्सले बढी योगदान गरिरहेको छ । तर, अर्थतन्त्रको आधारस्तम्भ रेमिट्यान्सलाई होइन, निर्यातलाई बनाइनुपर्छ, जुन दिगो पनि हुन्छ । निर्यात बढाउन सके बाह्य क्षेत्रलाई दिगो रूपमा सन्तुलनमा राख्न सहज हुन्छ ।
 

पछिल्ला वर्षहरूमा नेपालबाट पाल्म, सोयाबिन, सनफ्लावरलगायत आयलको निर्यात ठूलो परिमाणमा भइरहेको छ । ठूलो मूल्यका यी वस्तुको निर्यातमा हुने घटबढले निर्यातको आकारलाई नै तलमाथि पारिदिन्छ । कतिपयले पाल्म आयलको निर्यातमा प्रश्न गर्ने गरेका छन् । तर, त्यो गलत हो । मूल्य अभिवृद्धि भएर निर्यात हुने भएकाले यस्ता वस्तुको निर्यात प्रवद्र्धन हुनुपर्छ ।

सिंगापुरसँग केही छैन, उसले एउटा देशबाट ल्याएर अर्को देशमा पठाउने हो । त्यसबाटै उसले लाभ लिइरहेको छ । थुप्रै मुलुकले कच्चा पदार्थ ल्याएर त्यसलाई मूल्य अभिवृद्धि गरेर निर्यात गर्ने हुन् । यसर्थ, पाल्मजस्ता वस्तुको निर्यातमा प्रश्न गर्नुभन्दा त्यस्ता वस्तुमा अझ बढी मूल्य अभिवृद्धि गरेर निर्यात वृद्धिमा जोड दिनुपर्छ । पक्कै पनि स्वदेशकै कच्चा पदार्थमा आधारित वस्तुको निर्यात गर्न सके लाभ धेरै हुन्छ । त्यस्ता वस्तुको निर्यातमा हाम्रो जोड छँदैछ । तर, हामीसँग नभएका कच्चा पदार्थसमेत ल्याएर त्यसमा श्रमलगायत मूल्य अभिवृद्धि गरेर लाभ लिनु पनि सकारात्मक विषय हो । त्यसले अर्थतन्त्रमा राम्रो योगदान गर्न सक्छ ।

निर्यात किन महत्वपूर्ण छ ? :  अहिले मुलुकको अर्थतन्त्रको बाह्य क्षेत्र दबाबमा छ । आर्थिक वर्ष ०७९/८० को पाँच महिनामा कुल वस्तु व्यापार घाटा ५ खर्ब ९७ अर्ब ४४ करोडबराबर पुगेको छ । कमजोर निर्यात र उच्च आयातका कारण नेपालले यति ठूलो परिमाणमा व्यापार घाटा व्यहोरिरहेको छ । यो पाँच महिनाको अवधिमा चालू खाता ३७ अर्ब ९१ करोडले घाटामा रहेको राष्ट्र बैंकको तथ्यांक छ ।

अझ अघिल्लो वर्षको सोही अवधिमा चालू खाता दुई खर्ब ९८ अर्ब ५१ करोडले घाटामा रहेको थियो । समीक्षा अवधिमा शोधनान्तर स्थिति ४५ अर्ब ८७ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति एक खर्ब ९५ अर्ब एक करोडले घाटामा रहेको थियो । यसर्थ, नेपालको अर्थतन्त्रको बाह्य क्षेत्र दबाबमै रहेको छ ।

अहिले बाह्य क्षेत्रलाई सन्तुलन बनाउन रेमिट्यान्सले बढी योगदान गरिरहेको छ । तर, अर्थतन्त्रको आधारस्तम्भ रेमिट्यान्सलाई होइन, निर्यातलाई बनाइनुपर्छ, जुन दिगो पनि हुन्छ । निर्यात बढाउन सके बाह्य क्षेत्रलाई दिगो रूपमा सन्तुलनमा राख्न सहज हुन्छ । आज हामीले ६ खर्ब ६४ अर्बको आयात गर्दा जम्मा ६७ अर्बको मात्रै निर्यात गर्न सकेका छौँ । आयात र निर्यातबीच यति ठूलो खाडल छ । यो पूर्ति गर्न आयात घटाउने होइन, निर्यात बढाउनुपर्छ । उत्पादन बढाउनुपर्छ । उत्पादन बढाउन सके आयात स्वतः विस्थापन हुँदै जान्छ । निर्यात बढाउन सके व्यापार घाटा न्यूनीकरण हुँदै जान्छ ।

हाम्रो सम्भावनाका क्षेत्रहरू जलविद्युत् र पर्यटनमा पनि उत्तिकै जोड दिनुपर्छ । विद्युत् निर्यात सुरु भइसकेको छ । पर्यटनले पनि डलर भित्र्याउँछ, यो निर्यातजस्तै हो । यस्ता सम्भावनाका क्षेत्रलाई समेत उच्च प्राथमिकतामा राखेर काम गर्नुपर्छ ।

निर्यात प्रवर्द्धन : नीति छ, व्यवहार छैन :  निर्यात प्रवर्द्धन गर्नुपर्छ भन्ने विषयमा निजी क्षेत्र, सरकार, राजनीतिक दललगायत सबै पक्षको एकमत छ । निर्यात वृद्धि गर्नैपर्छ भन्ने विषयमा कहीँ कतै दुईमत देखिँदैन । सरकारी नीति पनि निर्यात प्रवद्र्धन गर्ने नै छ । सरकारले ल्याउने हरेक बजेटमा पनि निर्यात प्रवद्र्धन गर्ने घोषणा हुन्छ, कार्यक्रम घोषणा हुन्छ । तर, निर्यातले अपेक्षित वृद्धि हासिल गर्न सकेको छैन । किनकि, हाम्रो निर्यात प्रवद्र्धनको नीति छ, व्यवहार छैन । हामी जे भन्छौँ, त्यो गर्दैनौँ । एउटा उखान छ, ‘चल्तीको नाम गाडी’ अर्थात् चार पांग्रा भए गाडी भइगयो । तर, त्यसको गति कति, त्यसभित्रको सुविधा के, त्यो कति आकर्षक छ, कति बलियो छ भन्ने कुराको मतलब छैन । 

अहिले नेपालमा भइरहेको त्यही हो । निर्यात बढाउने भन्ने हो, धेरथोर निर्यात पनि भइरहेकै छ, अनि हामी त्यसैमा रमाइरहेकै छौँं । सुन्दा अलि तितो लाग्ला, तर सत्य के हो भने अहिले भइरहेको निर्यात सरकारको जोडबलमा भएको होइन, निजी क्षेत्रले स्वस्फूर्त निर्यात गरेका हुन् । निर्यातमा भएको बढोत्तरी सरकारले बुस्ट गरेर भएको होइन, प्राकृतिक रूपमा बढेको हो । 

यहाँ नजानेको, नबुझेको कोही छैन, कर्मचारी संयन्त्रले सबै कुरा बुझेकै छ । तर, त्यो व्यवहारमा लागू हुँदैन । नेताहरू भाषण गर्छन्, तर व्यवहारमा गर्दैनन् । निर्यातलाई जति प्राथमिकता दिनुपर्ने हो, जसरी सहजीकरण गर्नुपर्ने हो, त्यति हुन सकेको छैन । यसर्थ, हामीले जे जति नीति नियम बनाउँछौँ, त्यो कार्यान्वयन गरौँ, व्यवहारमा लागू गरौँ, अनि निर्यात बढ्न सक्छ । 

के गरेर बढाउने निर्यात ? :  निर्यात वृद्धिका लागि राज्यले उत्पादनदेखि बजारीकरणसम्म सघाउनुपर्छ, सहजीकरण गरिदिनुपर्छ । सरकार आफैँले घोषणा गरेका सुविधा तथा प्रोत्साहन सहज रूपमा दिनुपर्छ । उदाहरणका लागि ज्वेलरीको निर्यातमा ‘डयुटी ड्र ब्याक’ (भन्सार महसुल फिर्ता) पाएका छैनौँ । स्वदेशकै कच्चा पदार्थ रत्न पत्थरसमेत प्रयोग गरेर ६०–७० प्रतिशत मूल्य अभिवृद्धि गरेर निर्यात भएको ज्वेलरीमा भन्सार महसुल फिर्ता किन नदिने ? ज्वेलरी निर्यातमा सरकारले सहजीकरण गरे ठूलो सम्भावना छ । 

सरकारले निर्यातमा नगद प्रोत्साहनको नीति लिएको छ । हाम्रो ठूलो प्रयासपछि यसको दर र दायरा बढेको छ । तर, अझै पनि साना र मझौला उद्यमीले यो सुविधा लिन सकेका छैनन् । हामीले यसको कार्यविधिलाई सहज बनाउन आग्रह गरेको धेरै भयो, झन्झट हटाउन सुझाव दिएको धेरै भयो । तर, अवस्था उस्तै छ । थुप्रै झन्झट भएकै कारण साना तथा मझौला उद्यमीले निर्यातमा नगद अनुदान लिन सकेका छैनन् । अर्को कुरा, नगद प्रोत्साहनको बजेट पनि न्यून छ, हरेक वर्ष न्यून बजेट आउने गरेको छ । सरकारले यसलाई सहजीकरण गरे पनि निर्यात बढाउन सकिन्छ ।

सरकारले सामूहिक ट्रेडमार्क कलेक्टिभ रूपमा ब्रान्डिङ गर्ने नीति लिएको छ । केही वस्तुको सामूहिक ट्रेडमार्क पनि बनेका छन् । तर, ब्रान्डिङ खै ? बजेटले घोषणा गरेको छ कि कलेक्टिभ ट्रेडमार्क बनाउने र ब्रान्डिङ गर्नेे भनेर, तर त्यो कार्यान्वयन हुन सकेको छैन । सरकारले बजारीकरणमा सघाउने हो भने निर्यात वृद्धिमा ठूलो योगदान मिल्छ । 

सरकारले अन्तर्राष्ट्रियस्तरको ल्याब बनाउने घोषणा गरेको धेरै भइसक्यो । तर, एउटा ल्याबसमेत बनाउन सकिएको छैन । यसले गर्दा हाम्रा वस्तुको गुणस्तर परीक्षणमा समस्या आउने गरेको छ । वेलाबखत गुणस्तरमा प्रश्न उठ्ने गरेको छ । राज्यका लागि एउटा ल्याब स्थापना गर्नु ठूलो कुरा होइन, तर त्यसलाई प्राथमिकतामै राखेको पाइँदैन । निर्यात वृद्धिका लागि सहुलियतपूर्ण कर्जाको आवश्यकता छ । तर, पछिल्लो समय सहुलियत कर्जा तथा पुनर्कर्जासमेत पाइएको छैन । हामीले निर्यात विभाग गठन गनुपर्छ भनेका छौँ । निर्यातका लागि पूर्वाधारको जस्तै छुट्टै बैंक नै चाहिन्छ भनेका छौँ । तर, त्यसलाई सरकारले सुनेको छैन । 

देश अब विकासशील मुलुकमा स्तरोन्नति भएको छ । अब बिस्तारै हामीले अतिकम विकसित मुलुकको हैसियतमा पाएका सुविधाहरू गुम्दै जानेछन् । यसर्थ, हाम्रो प्रतिस्पर्धी क्षमता बढाउनुपर्नेछ । त्यसैले उत्पादनदेखि निर्यात वृद्धिसम्मका लागि गम्भीर भएर गृहकार्य गर्नुपर्नेछ । निजी क्षेत्र र सरकारले मिलेर उत्पादन र निर्यात वृद्धिको सार्थक पहल गर्नुपर्नेछ । 

See More On

सुझावित समाचार