नेपालबाट विद्युत् आयातका लागि सहयोग गर्न भारतलाई बंगलादेशको आग्रह

शनिबार, २३ पुष, २०७९
डिजिटल संस्करण
नेपालबाट विद्युत् आयातका लागि सहयोग गर्न भारतलाई बंगलादेशको आग्रह

गत बुधबार नयाँदिल्लीमा सम्पन्न बंगलादेश–भारत ऊर्जामन्त्रीस्तरीय बैठक । तस्बिर : बंगलादेशका मन्त्री नसरुल हमिदको फेसबुकबाट

बंगलादेशले नेपालबाट विद्युत् आयात गर्ने मामलामा देखिने गरी नै सहयोग (भिजिबल को–अपरेसन) गर्न भारतलाई आग्रह गरेको छ । बंगलादेशले नेपालको विद्युत् आयात गर्न भारतको सहयोग अनिवार्य हुने हुनाले बंगलादेशले नेपाल र भुटानबाट समेत विद्युत् आयात गर्ने मामलामा भिजिबल सहयोग गर्न भारतलाई आग्रह गरेको हो । 

गत बुधबार नयाँदिल्लीमा भएको बंगलादेश–भारत ऊर्जा सहकार्यसम्बन्धी मन्त्रीस्तरीय बैठकमा बंगलादेशका ऊर्जा, खनिज तथा सम्पदामन्त्री नसरुल हमिदले यस्तो आग्रह गरेको बंगलादेशको ढाका ट्रिब्युन डटकमले लेखेको छ । यस्तै, भारतीय ऊर्जामन्त्री राजकुमार सिहंले पनि नेपालबाट विद्युत् आयात गर्न बंगलादेशलाई सहयोग गर्ने बताएको ढाका ट्रिब्युनमा उल्लेख छ । 

कोइला तथा डिजेलबाट उत्पादित विद्युत् प्रयोग गरिरहेको बंगलादेश नेपालको स्वच्छ बिजुली आयात गर्न चाहन्छ । बंगलादेशले नौ सय मेगावाटको माथिल्लो कर्णाली जलविद्युत् आयोजनाबाट पाँच सय मेगावाट विद्युत् किन्ने गरी प्रवद्र्धक कम्पनी जिएमआरलाई आशयपत्र पठाइसकेको छ । 

साथै, नेपाल–बंगलादेशबीच विद्युत् व्यापार गर्ने उद्देश्यसहित मन्त्री तथा सचिवस्तरमै पटक–पटक छलफल तथा विभिन्न सहमतिसमेत भएका छन् । गत भदौमा काठमाडौंमा सम्पन्न नेपाल–बंगलादेशको ऊर्जासचिव तथा सहसचिवस्तरीय बैठकमा बंगलादेशले कात्तिकभित्रै नेपालको ५० मेगावाट विद्युत् किन्ने सहमति गरेको थियो ।तर, त्यसका लागि भारतको सहयोग अपरिहार्य छ । किनकि, यसका लागि आवश्यक प्रसारण लाइनलगायतका पूर्वाधार भारतीय जमिनमा बनाउनुपर्ने बाध्यता छ । 

छलफल भइरहेको छ
कुलमान घिसिङ कार्यकारी निर्देशक, नेपाल विद्युत् प्राधिकरण

बंगलादेशमा विद्युत् बिक्री गर्ने मामलामा आवश्यक सहयोग गर्न भारतलाई प्रस्ताव गरिसकेका छौँ । हाल त्यो छलफलकै क्रममा छ, निर्णय चरणमा पुगिसकेका छैनौँ । यसमा भारत सकारात्मक भने छ । सम्भवतः आगामी वर्षदेखि बंगलादेशमा विद्युत् निर्यात गर्ने गरी निर्णय हुन सक्छ ।

अहिले नेपाल–बंगलादेशको छुट्टै डेडिकेटेड अन्तरदेशीय प्रसारण लाइन नभएकाले भारतकै प्रसारण लाइन प्रयोग गर्नुपर्ने बाध्यता छ । त्यो अवस्थामा नेपाल–बंगालदेशबीच विद्युत् व्यापार गर्न भारतको सहयोग अपरिहार्य रहेको छ । तर, यसमा भारतले खुलेर सहयोग नगरेको नेपाली सरोकारवालाहरू बताउँछन् । सोही अवस्थालाई लक्षित गर्दै बंगालादेशले भारतसँग सहयोगको आग्रह गरेको बताइएको छ ।   

 बंगलादेशले किन किन्छ नेपालको विद्युत् ? 
बंगलादेशले हाल कोइला तथा डिजेलबाट विद्युत् उत्पादन गरिरहेको छ । तर, डिजेल तथा कोइला पावर प्लान्टका कारण बंगालदेशको मात्रै नभएर छिमेकी मुलुकहरूको समेत वातावरण प्रभावित भएको छ । त्यो अवस्थामा बंगलादेशलाई वातावरणीय प्रदूषण कम गर्न विश्वव्यापी दबाब छ । तर, बंगलादेशसँग डिजेल तथा कोइला पावर प्लान्ट बन्द गर्न अन्य विकल्प छैन । त्यसकारण बंगलादेश अन्य मुलुकबाट स्वच्छ ऊर्जा आयात गर्ने योजनामा छ । सोहीअनुसार बंगलादेशले सन्् २०४० सम्म १० हजार मेगावाट विद्युत् अन्य मुलुकबाट किन्ने योजना ल्याएको छ । त्यसमा अधिकांश विद्युत् नेपालबाट किन्ने हो । किनकि, बंगलादेशले खोजेको स्वच्छ ऊर्जा नेपालमा पर्याप्त हुनेछ ।

 सफल भएन ५० मेगावाट विद्युत् निर्यात गर्ने सहमति 
यसैबीच बंगलादेशले गत कात्तिकभित्र नेपालबाट ४० देखि ५० मेगावाट विद्युत् किन्ने गरी दुई देशबीच भएको सहमति असफल भएको देखिएको छ । गत भदौमा काठमाडौंमा भएको नेपाल–बंगलादेश चौथो ऊर्जासचिव तथा सहसचिवस्तरीय बैठकमा कात्तिकभित्र नै नेपालको ५० मेगावाटसम्म विद्युत् भारतीय पूर्वाधारमार्फत बंगलादेशमा निर्यात गर्ने सहमति भएको थियो ।

यसका लागि नेपाल विद्युत् प्राधिकरण, बंगलादेश पावर डेभलपमेन्ट बोर्ड र भारतको एनटिपिसी विद्युत् व्यापार निगम लिमिटेडसँग त्रिपक्षीय सम्झौता गर्न पहल गरिने सहमति पनि भएको थियो । तर, साढे चार महिना बित्दासमेत त्रिपक्षीय सम्झौता नभएको देखिएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यस सम्बन्धमा ठोस प्रगति नभएको बताए । 

सुझावित समाचार