प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले दिएका निर्देशन लागू गर्ने सम्बन्धमा सचिवहरूसँग कार्यान्वयनको खाका मागेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बुधबार पनि सचिवहरूसँग बैठक राखेर प्रधानमन्त्रीले निर्देशनको कार्यान्वयनको खाका मागेका हुन्।
मंगलबार प्रधानमन्त्री प्रचण्डले सचिवहरूलाई सेवा प्रवाहमा केन्द्रित रहेर सचिवहरूलाई सुधारको ३०बुँदे निर्देशन दिएका थिए। नागरिकका दैनिक आवश्यकताका सार्वजनिक सेवा प्रवाह तथा विकास निर्माण र आयोजना व्यवस्थापनका विषयमा केन्द्रित भएर प्रधानमन्त्रीले निर्देशन दिएका थिए।
‘एक महिनाभित्रै नागरिकले महसुस गर्ने गरी सुधार गर्न प्रधानमन्त्रीज्यूले निर्देशन दिनुभएको छ,’ एक सचिवले भने।
प्रधानमन्त्रीको निर्देशनबमोजिम मन्त्रालय तथा कार्यालयहरूले कार्यान्वयन खाकाको तयारीमा जुटेका छन्। प्रधानमन्त्रीको निर्देशन कार्यान्वयनको समन्वय भने प्रधानमन्त्री कार्यालयले गर्नेछ।